प्रकृति संरक्षणसम्बन्धी सचेतना जगाउँदै सेना
काठमाडौँ । नेपाली सेनाले प्रकृति संरक्षण, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरुलाई संरक्षण शिक्षालगायत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ स्थित श्री शङ्कर पार्वती माविका शिक्षक तथा शिक्षार्थीलाई ‘मानव वन्यजन्तु द्वन्द्वको कारण र न्यूनीकरणको उपाय’ सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणले चितवनको माडी नगरपालिका-९ स्थित श्रीकृष्ण नगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संरक्षणको महत्व, निकुञ्ज सुरक्षामा नेपाली सेनाको भूमिका, जङ्गली जनावरको आनीबानी तथा सेनामा भर्ना छनोट प्रक्रियालगायत विविध विषयमा जानकारी गराएको सेनाले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजङ्ग गणले निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सहकार्यमा मधुवन नगरपालिका-१ स्थिति त्रिभुवन माध्यमिक विद्यालयमा स्थानीयलाई सहभागी गराई प्रकृति संरक्षण तथा सामाजिक सुरक्षा कार्यमा समुदायको भूमिकाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
हाल सेनाका आठ गण, सात वटा अनाश्रित गुल्म र एक शिक्षालय गरी करिब नौ हजार फौज १४ संरक्षित क्षेत्रमा परिचालित रहँदै आएको छ । संरक्षणमा खटिने क्रममा हालसम्म सेनाका १ सय १६ जना सकलदर्जाले वीरगति प्राप्त गरेका निर्देशनालयले जनाएको छ । रासस