विद्युतीय शवदाह गृहको मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

२०८२ कार्तिक २६ बुधबार १३:१८:०० मा प्रकाशित

काठमाडौँ । पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही वर्षअघि दायर गरेको उक्त मुद्दामा आजदेखि औपचारिक सुनुवाइ प्रक्रिया आरम्भ गरिएको हो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा.मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

पशुपति परिसरमा विद्युतीय शव दाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना गरेको, हानि-नोक्सानी पुर्‍याएको र भ्रष्टाचारमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार मुद्दा खेप्नेहरूमा तत्कालीन सदस्य-सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, अन्य कर्मचारीहरू तथा दुई कम्पनीहरू रहेका छन् ।


अख्तियारको दाबीअनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा शव दाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफू अनुकूल कम्पनीलाई ठेक्का दिने योजना बनाएका थिए । सोही क्रममा उनीहरूले विभिन्न चरणमा बदनियतपूर्वक कार्य गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।


आयोगका अनुसार अनुभवविहीन परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइएको थियो । 

 

सोही कम्पनीमार्फत भारतीय रुपैयाँमा ३२ लाख ५० हजार पर्ने मेसिनलाई नेपाली रुपैयाँमा १ करोड ५२ लाख पर्ने देखाई अस्वाभाविक रूपमा लागत अनुमान तयार गरिएको दाबी अख्तियारले गरेको छ।