मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका-२ स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
प्रतिकूल मौसम र हिमपातका कारण मकालु-२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो ।
उद्धार गरिएका नोभासलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ दिङ्बोचेतर्फ लगिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो । मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिब ६० जना नेपाली पर्यटक फसेका थिए । रासस