गैँडाकोटमा हरिनाम संकीर्तन यात्रा 

२०८२ श्रावण ३ शनिबार १८:५२:०० मा प्रकाशित

हिन्दू जागरण महाअभियानको सन्देशसहित गैँडाकोटमा सनातन बाल भजन समूहको आयोजना र आचार्य पण्डित रविन्द्र चापागाईको संकल्पमा आज हरिनाम संकीर्तन यात्रा भएको छ । “हिन्दू राष्ट्र कायम होस्, हामी सनातनी हाम्रो सनातन” भन्ने मूल नारालाई आधार बनाई गरिएको सो यात्रा विभिन्न मठमन्दिर, धार्मिक संघसंस्था र स्थानीय श्रद्धालुहरूको विशेष सहभागितामा सम्पन्न भएको हो ।

 

गैँडाकोट–८ स्थित कालिका मन्दिरबाट सुरु भएको संकीर्तन यात्रा विजय चोक, कांग्रेस चोक, गणेश मन्दिर, राधाकृष्ण मन्दिर हुँदै पुनः कालिका मन्दिरमै समापन गरिएको थियो। यात्राका क्रममा “हरे राम, हरे राम, हरे कृष्ण” जस्ता भजन–कीर्तन गुञ्जिरहेको थियो ।

 

सयौं धर्मप्रेमीहरूको सहभागिता रहेको यस यात्रामा बालबालिकादेखि वृद्धसम्मको उपस्थिति उल्लेखनीय देखिएको थियो । धार्मिक चेतना अभिवृद्धि गर्दै हिन्दू राष्ट्र स्थापनाको पक्षमा जनचेतना फैलाउने उद्देश्यले गरिएको कार्यक्रमलाई निरन्तरता दिइने आचार्य पण्डित रविन्द्र चापागाईले जानकारी दिनुभयो।