क्षति कम हुने उपाय अवलम्बन

0


अन्ततः गैँडाकोटका विभिन्न ८ स्थानबाट ढुंगा, गिट्टी र बालुवा निकालिने भएको छ । सो कार्यका लागि गैँडाकोट नगरपालिका क्षेत्रभित्र पर्ने नदी तथा खोलाको बगरक्षेत्रबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी उत्खनन, संकलन तथा बिक्रि कार्यका लागि तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) नगर कार्यपालिका बैठकले स्वीकृत गरेसँगै मार्ग खुलेको छ । नेपाल सरकारबाट जारी गरिएको ढुंगा, गिट्टी, बालुवा बिक्रि तथा व्यवस्थापनसम्बन्धि मापदण्ड २०७७ तथा गैँडाकोट नगरपालिकाको संक्षिप्त वातावरणीय अधययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ अनुसार नगरपालिकाको विभिन्न ८ स्थानबाट ढुंगा, गिट्टी निकाल्न सकिने गरी स्वीकृत प्रदान गरिएको छ । यसअघि कार्यविधि निर्माण, सरोकारवालाहरुसँग छलफल तथा सार्वजनिक सुनुवाइजस्ता कार्य सकिएका छन् ।
गैँडाकोट ७ नारायणी नदी मुरलीटार क्षेत्रको खण्ड क–१, नारायणी नदी मुरलीटार क्षेत्रको खण्ड क–२, गैँडाकोट ९ नारायणी नदी मुरलीटार क्षेत्रको खण्ड क–३, गैँडाकोट ३ महेश्वर खोला (भोक्रेफाँट बगर) गैँडाकोट १८ को महेश्वर र मगर खोला दोभानबाट उत्तरतर्फको महिसोब खोला बगर, गैँडाकोट ९ को नारायणी नदी बगर जैनटार क्षेत्र खण्ड ख–१, नारायणी नदी बगर जैनटार क्षेत्र खण्ड ख–२ र नारायणी नदी बगर जैनटार क्षेत्र खण्ड ख–३ बाट ढुंगा, गिट्टी उत्खनन गर्न सकिने गरी स्वीकृत प्रदान गरिएको छ । महिसोब खोला बगरबाट ३ मिटरको गहिराइ र अन्य क्षेत्रबाट २ मिटरको गहिराइमा ढुंगा, गिट्टी उत्खनन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उत्खनन गर्न मिल्ने आयतन र क्षेत्रफलसमेत उल्लेख गरिएको छ ।
यसले नगरपालिकाको राजस्व वृद्धि हुने छ । साथै स्थानीय निकायबाट भएको आम्दानीले यहाँको विकासका लागि मार्ग प्रशस्त गर्नेछ । पालिका आफैमा आत्मनिर्भर बन्नमा सहयोग पुग्ने छ तर यसले दीर्घकालीन रुपमा गर्न सक्ने असरप्रति भने सचेत हुन जरुरी छ । जथाभावि ढुंगा, बालुवा र गिट्टी निकाल्नदा भूक्षय, पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपको खतरा रहन्छ । तत्काल कुनै असर नदेखिए पनि वर्षातको समयमा आएको बाढीले आसपासको क्षेत्र कटान गर्ने र बाढी पसी सार्वजनिक तथा निजी सम्पत्तिहरुको नोक्सान हुन सक्छ । खोला तथा नदीको ढुंगा गिट्टी निकाल्नाले बहावमा आउन सक्ने परिवर्तन र हुन सक्ने क्षतिलाई कम आँकलन गर्नुहुँदैन यसले पार्न सक्ने प्रभावतर्फ सचेत बन्नुपर्छ । उपयुक्त तरिकाले निकालेका खण्डमा खोला तथा नदीको प्राकृतिक वहावमा नियमितता हुने र खोला सतह बढेर आसपासको क्षेत्रमा कटान र क्षति कम हुन सक्छ । प्रतिवेदनअनुसार काम भए÷नभएको निगरानी गर्दै खोला तथा नदीजन्य पदार्थमा हुन सक्ने रजाइँप्रति चनाखो बनौँ ।

Share.

Leave A Reply