नवलपुरमा कोरोना देखिएको ९ महिनामा खोप आइपुग्यो, भोलि देखि लगाइने

0

डोलराज रानाभाट,गैँडाकोट, माघ १३ । देशभित्र कोरोना भाइरस भित्रिएको केहि महिनापछि मात्रै देशकै कान्छो जिल्ला नवलपुरमा कोभिड १९ का संक्रमित भेटिएका थिए ।

बागमती र लुम्बिनी प्रदेशको मुख्य नाकामा अवस्थित नवलपुर जिल्ला कोभिड १९ को उच्च जोखिममानै थियो । तर पनि अन्य जिल्लाहरुमा कोरोना संक्रमित फेला पर्दा नवलपुर भने ग्रिन क्षेत्रमा परिरहेको थियो । तर वैशाख ३१ गते भारतबाट आएर भरतपुरमा भर्खरै स्थापना भएको अस्थायी कोरोना अस्पतालमा गई नमुना परीक्षण गर्दा देवचुली नगरपालिका वडानम्वर १२ का ४९ वर्षीय पुरुषमा जेठ १ गते पहिलो पटक कोभिड १९ को संक्रमण पुष्टि भयो । नेपालमा भने चिनको वुहान युनिभर्सिटीबाट नेपाल आइपुग्नुभएका ३२ वर्षीय पुरुषमा माघ १०, २०७६ मा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।

उहाँ आफ्नो घर आउनु भएको कि भएन भन्नेमा ठूलो त्रासका वीच उहाँ नवलपुर प्रवेश नै नगर्नुभएको पाइएपछि केही शान्त बनेका त्यतिवेला पछि विस्तारै संक्रमितहरु थपिनेक्रम रोखिएन । अन्ततः पछिल्लो तथ्याङ्क अनुसार नवलपुर जिल्लामा संक्रमितको कुल संख्या २ हजार ५०२ पुगेको छ । २ हजार ४ सय ५८ जनाले कोरोनालाई खोप नआउँदै जित्न सफल भए भने ३२ जनाले ज्यान गुमाए । ११ हजार ५७६ वटा नमुना परीक्षण गर्दा अहिले जिल्लामा जम्मा १२ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले दिएको तथ्याङ्कमा छ ।

लकडाउन हटाएपछि विस्तारै सामान्य वन्दै गएको समय तिव्र आलोचना र आरोप खेपेपनि सरकारले कोरोना भाइरस विरुद्धको खोप भित्राउन सफल भएको छ । देशमा कोरोना भाइरस भित्रिएको एक वर्ष पुरा र नवलपुरमा भने ९ महिना पुरा हुँदैमा खोप भित्राइएको हो ।
नमुना परीक्षणका लागि कहिले भरतपुर त कहिले पोखरा दौडन पर्ने समस्यालाई हटाउन जिल्लामै कोभिड १९ को परीक्षण गर्ने मेशिन ल्याएपनि संचालन हुन सकेको छैन तर खोप भने आइपुगेको छ । जुन धेरै सकारात्मक कदम हो ।

नवलपुर जिल्लामा भोलि देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य कार्यालय नवलपुुरका प्रमुख केशव चापागाईका अनुसार विहान १० बजे मध्यविन्दु अस्पतालमा खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । पहिलो चरणमा १ हजार २३ जनालाई खोप लगाउने गरी अन्तिम तथ्याङ्क आएको उहाँको भनाई छ ।

आठ स्थानीय तह रहेको जिल्लामा भोलि बुधवार पहिलो दिन कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाका सरकारी सेवाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप लगाइदै छ ।

माघ १५ गते गैँडाकोट नगरपालिका, मध्यविन्दु र विनयी त्रिवेणी गाउँपालिकाका सोही क्षेत्रका व्यक्तिहरुलाई खोप लगाइने र माघ १६ गते वौदिकाली र बुलिङगटार गाउँपालिकाका स्वाथ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप लगाइने चापागाईले जानकारी दिनुभयो ।

सोही दिननै अर्थात् माघ १६ गतेनै जिल्लाभरका एम्वलुेन्स चालक जसलाई स्थानीय तहले सिफारिस गरेर पठाएका छन् र स्थानीय तहकै सरसफाइकर्मीलाई खोप लगाइने भएको छ । उहाँका अनुसार माघ १७ गते नाम सिफारिस गरेर स्थानीय तहले पठाएका निजी क्षेत्रका स्वास्थकर्मीहरुलाई खोप लगाउने तालिका रहेको छ ।

यसरी पहिलो चरणको खोप लगाउनेमा ३० जना एम्वुलेन्स चालक, एक सय जना सरसफाइकर्मी , १३७ निजी क्षेत्रका स्वास्थ्यकर्मी, ३५९ स्वास्थ्य स्वयमसेविका र वाँकी ३९७ जना सरकारी सेवाका स्वास्थ्यकर्मीहरु रहेका छन् । खोप जिल्लामा हिजो नै आइसकेको छ । १ हजार १७० डोज खोप आइपुगेको हो । खोप लगाउने क्रममा १० प्रतिशत जति खेर जाने अनुमानमा सो सख्याका डोजको खोप जिल्लामा आइपुगेको चापगाईले जानकारी दिनुभयो ।

अन्य देशका नागरिकले कोरोना विरुद्धको खोप लगाएका समाचार आइरहदा नेपालमा राजनीतिक खिचातानीमा सरकार र नेताहरु रमाएको भन्दै तिव्र आलोचना भएको थियो । तर परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारत भ्रमणबाट फर्किएको केही दिनमा १० लाख डोज खोप अनुदानमा भारतले नेपाल पठायो ।  माघ ८ गते त्रिभुवन विमानस्थल आइपुगेको खोप प्रदेश प्रदेश पठाइएको थियो । खोप लगाउनेहरुको नामावली स्थानीय तहबाट अनलाईन सफ्टवेयर मार्फत माग गरिएको थियो । सोही अनुसारको तथ्याङ्कका आधारमा खोप दिन लागिएको हो ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया आएआइआइले अक्सफोर्ड विद्यालय र वेलायती औषधि निर्माता कम्पनी एष्ट्राजेनेकासँग मिलेर निर्माण गरेको कोभिसिल्ड नामको खोप नेपालाई अनुदानमा उपलब्ध भएको हो । अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेकाले संयूक्तरुपमा विकास गरेको एजेडडी १२२२ नामक खोपलाई भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नामाकरण गरेर खोप बनाएको हो । नेपालभर भोलि एकै साथ खोप लगाउन सुरु गरिने र देशभर ४ लाख ३० हजार जनाले नाम लेखाएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply