राष्ट्रिय परिचय पत्र बनाऔँ

0


प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको गैँडाकोट नगरपालिकमा राष्ट्रिय परिचयपत्र कार्यक्रम सुरु भएको छ । व्यक्तिका वैयक्तिक र जैविक विवरण तथा राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमअन्तर्गत नगरपालिकाका १८ वटै वडाबाट राष्ट्रिय परिचयपत्र बनाउने क्रम जारी छ । टोलीले वडाका टोल विकास संस्थामा वडा तथा नगरपालिकाको सहयोगमा राष्ट्रिय परिचयपत्र बनाउने कामलाई तीव्रता दिएका छन् । नेपाल सरकारको कार्यक्रमअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन बनाएर यस कार्यलाई देशका विभिन्न ठाउँबाट अभियानका रुपमा नै चलिरहेको छ । यस कार्यक्रमलाई क्रमशः जिल्लाका अन्य पालिकाहरुमा पनि सञ्चालन गरिने जनाइएको छ ।
एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको विकास गरी सो प्रणालीलाई राज्यबाट उपलब्ध सेवा सुविधा र राष्ट्रिय विकास योजना एवं सुरक्षा व्यवस्थासँग आबद्ध गर्ने तथा व्यक्तिगत घटना दर्ता गर्नका लागि यो कार्यक्रम ल्याएको छ । राज्यबाट प्रदान गरिने विविध सेवा सुविधा लिन पनि यो कार्ड अनिवार्य रहेको र नागरिकतालाई विस्थापित गरी यो कार्ड लागू गर्ने सरकारी नीति रहेको छ ।
वर्षौदेखि सरकारले यो नीति अघि सारे पनि सबै जिल्लामा भने यो कार्यक्रम लागू भइसकेको छैन । विभिन्न चरणमा जिल्ला छुट्याई कार्यक्रम निरन्तर जारी रहेको छ । अभियानका रुपमा यो कार्यक्रम सञ्चालन गरिएको भए पनि परिचय पत्र वितरणका लागि आवश्यक विवरण सङ्कलन तथा कार्य सुस्त देखिन्छ । वर्षौदेखिको योजनाले गति लिन सकेको छैन । स्थानीय सरकार वा जिल्लामा नागरिकताको वितरण तथा पञ्जीकरणका काम गर्दै आएका निकायहरुको सक्रिय सहभागिता गराई तदारुकताका साथ गर्न सकिन्छ । यस्ता कार्यक्रम समयमा नै गर्न सके प्रभावकारी हुने थियो । सरकारको दीर्घकालीन र व्यवस्थित कार्यका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रममा सहभागी भई परिचयपत्र बनाउनु हरेक नागरिकको दायित्व पनि हो । यस कार्यमा सहभागी बनौँ ।

Share.

Leave A Reply