विजय एफएम समाचार प्रभाव : लत्रिएको तार मर्मत हुने 

0

माया कंडेल
मंसिर ९, गैंडाकोट । गैंडाकोट ९ मा खेतीयोग्य जमिन र घरमाथी नै लत्रिएको नाङ्गो बिजुलीको तार नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ठाडो निर्देशनमा मर्मत सम्भार हुने भएको छ ।
११ केभिए भोल्टेजको लाइन त्यो पनि खेतीपाती गर्न नमिल्ने र घरमा नै छुने गरी बस्तीको बीचबाट लगिएपछि स्थानीय आक्रोशित बनेको खबर विजय एफएम र विजय खबर पत्रिकामा प्रकाशन एवम् प्रशारण भएको थियो । “नाङ्गो तारले हैरानी”, “तार खेतमा नै लत्रिएपछि खेती गर्न धौ” शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सो सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवम् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले नेपाल विद्युत प्राधिकरण जिल्ला कार्यालय कावासोती वितरण केन्द्रलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।
सो सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख मधुसूदन यादवले समस्या समाधानको प्रक्रियामा रहेको र फाईल अड्किएको बताउनुभएको थियो । उहाँले उपकार्यकारी निर्देशकले फोनमार्फत जानकारी गराउनुभएको र निर्देशनात्मक कागजपत्र आईसकेपछि काम शुरु हुने बताउनुभयो । कस्तो काम हुने भन्ने विषयमा भने कागजपत्र आएपछि मात्र टुंगो लाग्ने उहाँको भनाई छ । यदि तार लैजाने स्थान परिवर्तन हुने भए स्टिमेट अनुसारको लागत उठाउने लगायतका प्रक्रिया अघि वढ्ने बताउनुभयो ।

मुकुन्दपुर सबस्टेसनको विद्युत् यही तार हँुदै गैँडाकोटका विभिन्न क्षेत्रमा वितरण हुने गरेको छ । बस्ती र खेती योग्य जमिनका बीचबाट नै तार टाँगिएको र यसले स्थानीयलाई पारेको समस्याबारे सरोकारवालालाई पटक पटक भन्दा पनि सुनुवाइ नभएको भन्दै स्थानीयले मिडिया गुहारेका थिए । सामान्य समस्या भन्दै विद्युत् प्राधिका्रण पन्छिन खोजेपछि बिजुलीका कारण नै सेवाप्रदायक र सेवाग्राहीबीच द्वन्द्व बढेको देखिन्छ । स्थानीय तहको निर्वाचन हुनु अघिदेखि नै स्थानीयले आवाज उठाउँदै आएका थिए । सो विषयमा केन्द्रीय कार्यालयमा जानकारी समेत गराएको थियो ।
दुई पोलबीचको दूरी टाढा हुनु, पोलको उचाइ कम हुनु जस्ता कारणले नाङगो तार भुइँसम्म लत्रिएका छन् । जसका कारण स्थानीय जोखिममा छन् । स्थानीय जनप्रतिनिधि, विद्युत् प्राधिकरण र स्थानीयबीचको त्रिपक्षीय छलफलपछि समाधानको प्रयास गर्ने बताए पनि वर्षौंदेखि समस्या समाधान हुन सकेको छैन । ३०–३५ वर्ष अगाडी एक उद्योग सञ्चालनका लागि भरतपुरदेखि करिव १५ किलोमिटर लाईन विस्तार गरिएको थियो ।

Share.

Leave A Reply