विद्यालय सञ्चालनको वातावरण

0


कोरोना कहरकै बीचमा अधिकांश विद्यालयमा भौतिक उपस्थितिमा नै कक्षा सञ्चालनको तयारी चलिरहेको छ । त्यसको पूर्व सन्ध्यामा मंगलबारदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । परीक्षा मंसिर १६ मा सकिनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । परीक्षामा सामेल हुँदै र गराउँदै गर्दा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना गर्न गराउन परिपत्र गरिएका छन् । परीक्षाको सिलसिलामा विद्यार्थीलाई कोभिड सङ्क्रमण पुष्टि भएर परीक्षामा सहभागी हुन नसक्ने अवस्था आएमा फेरि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ तापनि यसबाट सुरक्षित रहन परीक्षा केन्द्रमा आउँदा, जाँदा र घरमै रहँदा पनि आवश्यक सचेतना अपनाउन आवश्यक छ ।
यो भन्दा महत्त्वपूर्ण कुरा सरकारले जारी गरेको निर्देशिका मापदण्ड पालनाबाहेक अर्को विकल्प हुन सक्दैन । सरकारले जसरी सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । हेल्थ डेस्कमा हात धुने र ज्वरो नाप्ने व्यवस्था हुनेछ । यो राख्ने मात्र नभई यसको प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिन जरुरी छ । विद्यार्थी, निरीक्षक र परीक्षा केन्द्रमा रहने कर्मचारीले अनिवार्य मास्क लगाउनुपर्ने, एउटा कोठामा बढीमा २० जना परीक्षार्थीभन्दा बढी राख्न नपाइने, विद्यार्थीलाई दुई, दुई मिटरको दूरीमा मात्रै राख्नुपर्नेछ । यदि कुनै परीक्षार्थीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा छुट्टै कोठाको व्यवस्था गर्नुपर्नेछ । यसबारेको निरीक्षण, तोकिएको मापदण्ड र निर्देशिका कार्यान्वयनले भोलिका दिनमा भौतिक रुपमा नै उपस्थिति गराई विद्यालय सञ्चालन गर्ने वातावरण बन्न सक्छ ।
सरकारले विद्यालय सञ्चालनको जिम्मेवारी पालिकाहरुलाई प्रदान गरेको छ । कक्षा १२ को परीक्षा र यसको सिकाइ महत्त्वपूर्ण छ । यसबाट कोरोना सङ्क्रमण न्यून रहे वा सङ्क्रमणमुक्त गराउन सके भोलिका दिनमा विद्यालय सञ्चालनका लागि वातावरण सहज बन्नेछ जसले बालबालिकाको भविष्य सुनिश्चित गर्न सघाउ पुग्नेछ । यसमा विद्यालय सञ्चालक, पालिका तथा शिक्षा समिति र शिक्षा शाखा जिम्मेवार बन्नुपर्छ । निरन्तरको अनुगमन, स्वास्थ्य जाँच गर्नैपर्छ । त्यसो त विद्यार्थीले आफ्नो व्यवहार सच्याउन जरुरी छ भने अभिभावक पनि सजग हुनुपर्छ ।

Share.

Leave A Reply