रेडक्रस चितवनले कोरोना संक्रमितलाई न्यानो कपडा दियो

0

चितवन, मंसिर ७ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले भरतपुर १ बागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमितहरुका लागि न्यानो कपडा सहयोग गरेको छ ।

आज एक कार्यक्रमकावीच आइसोलेसन सेन्टरमै पुगेर नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति ज्ञानशाली न्यौपानेले चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । २५ थान कम्बल र १० थान त्रिपाल सहयोग प्राप्त भएको चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले जानकारी दिनुभयो ।

यस अघि पनि राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनबाट २ थान सि प्याप मेसिन , लण्डनमा बस्ने नेपालीहरुले रकम संकलन गरी अक्सिजन दिने मेसिन , गृह मन्त्रालयबाट २२ लाख मूल्य पर्ने एउटा ठूलै टेन्ट , रोटरी क्लबबाट गिजर, खेलसामग्री, हेलोजन बत्ती सहयोग प्राप्त भएको डा कोइरालाले बताउनुभयो ।

यसैगरी लायन्स क्लब र केदार श्रेष्ठबाट ३०÷३० थान कुर्सी, नारायणगढस्थित लोकमान प्लाजाका सञ्चालक ज्ञानेन्द्रमान शाक्यबाट योगा स्टेज, डिस्प्ले बोर्ड, उपचारपश्चात् निको भइ गएका मनोज बरनवालबाट ५ थान कुर्सी सहयोग भएको उहाँले जनाउनुभयो । अन्य हस्पिटलको औषधिउपचारबाट थाकेर आएका पीडितहरुको पनि यहाँ सफलताकासाथ उपचार भइरहेको परिषद्का अध्यक्ष शैलेन्द्र पियाले बताउनुभयो ।

भदौ १४ गतेबाट सञ्चालनमा आएको यस आइसोलेसन केन्द्रमा हालसम्म ३६६ जना कोरोना संक्रमित भर्ना भएकोमा ३४६ निको भएर घर फर्किसकेको चिकित्सालयका निर्देशक डाक्टर कोइरालाले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, प्रवक्ता अरुणपीडित भण्डारी, प्रदेश सांसद् विजय सुवेदी डा. भोजराज अधिकारी लगाएत जिल्लाका जनप्रतिनिधि र प्रशासकहरुको पहलकदमीमा सञ्चालित कोभिड १९ आइसोलेसन केन्द्रलाई विभिन्न दाताहरुले सहयोग पुर्याउँदै आएका छन् ।

बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा भरतपुर १४ का वडा अध्यक्ष ओमप्रसाद पोखरेल, भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवर ,रेडक्रसका पदाधिकारी सदस्यहरु, चिकित्सालयका पदाधिकारी एवम् डाक्टर, कर्मचारीहरुको उपस्थिति रहेको थियो । डा. कोइरालाद्धारा सञ्चालित कार्यक्रममा चिकित्सालयका प्रशासक कमल पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply