चाहना भए बाहनाको अर्थ रहन्न

0


कोरोनाका कारण सिथिल बनेको शैक्षिक क्षेत्र सञ्चालनको तयारीमा रहेका विद्यालयहरुलाई अर्को ठेस लागेको छ । दशैंपछि कोरोनाको माहामारी केही साम्य होला र कक्षा सञ्चालन गरौँला भनेर बसेका विद्यालय सञ्चालकलाई पालिका स्तरका निर्देशन, परिपत्र र आग्रहसहितका पत्रले रोकेको छ । नवलपुरमा विद्यालयमा कक्षा सञ्चालन अनिश्चित बनेको छ । प्रत्यक्ष सम्पर्कमा आई गराइने शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन नगर्न पालिकाहरुले निर्देशन दिएका छन् । अर्को सूचना जारी नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन अथवा सम्पर्क कक्षाजस्ता शिक्षक विद्यार्थी प्रत्यक्ष सम्पर्कमा आई गराइने शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन नगर्न परिपत्र गरिएको छ ।
कक्षा सञ्चालनको तयारी गरेको विद्यालयहरुले यसअघि नै कुनै न कुनै रूपमा अनलाइन प्रविधिबाट होस् या अन्य माध्यमबाट पढाइ सुरु गरी पहिलो त्रैमासिकको परीक्षासमेत सञ्चालन गरिसकेका छन् । अनलाइन कक्षा सञ्चालन गर्न सम्भव नभएकाले शिक्षकलाई घरदैलोमा पठाएर गृहकार्य दिने र परिक्षा लिने जस्ता कार्य गरिएको छ । धेरै विद्यार्थी छुटे पनि केही विद्यार्थी परिक्षामा सामेलसमेत भएका छन् । विद्यार्थी भड्किने हुन कि भन्ने चिन्ता विद्यालय सञ्चालकलाई छ भने विद्यार्थी र अभिभावकलाई पढाइ छुट्ने र बिग्रने डर छ ।
कोभिड १९ को सङ्क्रमण दशैंपछि झन तीव्र फैलिएको आकलनका कारण अभिभावकहरु र विद्यार्थीहरुमा डर, त्रास सृजना भएकाले विद्यालय सञ्चालन गर्ने वातावरण बनेको छैन । नेपाल सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणना गराउने गरी नयाँ विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । यस वर्षको सिकाइ उपलब्धि पहिलाको जस्तो हासिल हुने स्थिति छैन र पनि शैक्षिक सत्र खेर जान हुन्न भन्ने मान्यताअनुरुप विभिन्न माध्यमबाट सिकाइ कार्य जारी छ । निर्देशिकाले अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसैलाई निरन्तरता दिइएपछि यो प्रणाली शिक्षाको मूलधारमा नीतिगतरूपमा समाहित भएको छ । अब वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारी बनाउँदै पहुँच नभएका विद्यार्थीलाई फरक ढ∙ले सम्बोधन गर्नुपर्छ । ‘चाहना भए बाहनाको अर्थ रहन्न’ भने झैँ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गर्नुपर्ने भएको हुँदा पालिकास्तरीय शिक्षा शाखा र विद्यालय सञ्चालक जिम्मेवारीपूर्वक लाग्नुपर्छ ।

Share.

Leave A Reply