आज बडा दशैंको मुख्य दिन, मान्यजनका हातबाट टीका र जमरा लगाइदैं

0

कात्तिक  १०, गैंडाकोट
दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । नेपाल पञ्चाङग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा निर्धारण गरेको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार टीका प्रसाद ग्रहणका लागि जुन सुकै समय शुभ रहेको छ । साइत खोज्नेका लागि भने बिहान १० बजेर १९ मिनेट उत्तम रहेको समितिका अध्यक्ष प्रा. डा. गौतमले जानकारी दिनुभएको थियो ।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटोमा यसअघिका दशैमा भीड भएपनि कोरोना कहरका कारण यसबर्ष भने कम मात्रामा चहल पहल रहेको थियो । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।
यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । कोरोनाको त्रासकै कारण यो वर्ष राजधानीबाट आ–आफ्नो थातथलोमा दशैँ मनाउन जाने पनि कम नै भएका थिए । टीका लगाउन हिँड्नेहरु पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै हिँड्ने गरेका छन् ।

Share.

Leave A Reply