बालापनको दशैं

0


कृपा अधिकारी
दशैँ हाम्रो महान चाडको ऐतिहासिक पक्ष हो। दशैँ संस्कृत शब्द दशमीबाट अपभ्रंश हुँदै दशैँ बनेको हो। आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिामा सम्म १५ दिन खुसी ले मनाइने चाड नै दशैँ हो। दशैँ को अर्थ नै हाँसो उमंग हो । दशैँको मालाश्री धुनमा नाच्छन् शरद ऋतु , गीत गाउछ्न चराचुरुगंी । दशैँमा मान्छेले मात्र वस्त्र फेर्दैनन् , घरले पनि नयाँ रंगको वस्त्र लगाएर उफ्रिन्छ्न् । भेटघाट , आशीर्वाद र हर्षउल्लासको पर्यायवाची हो , दशैँ ।
ऐतिहासिक पक्षको स्मरण गर्दा बिगतका दशैँमा नवौं देवीहरु प्रकट भएर आशीर्वाद दिए जस्तो महसुस हुन्थ्यो। ठुलाबडाको हातबाट टीका अर्पण गर्दा पनि माता भवानीले टीका जमरा लगाइदिए जस्तो हुन्थ्यो। र बर्तमानलाई सम्झदा संस्कृतिमा छाल आए जस्तो लाग्छ। बर्षौं देखि बार्दै आएको परम्परा हो महिनावारी , महिनावारीमा जे गरेपनि भगवानको थान त छुनु नै हुदैन तर नया जमानाका हौ हामी भन्दै टीका लगाइदिन्छौ। मन्दिरमा त्यती चोखिनितीले राखिएको मुर्ति त नदिमा डुबाएर सफा गरेर माल्यार्पण गरेर पुनः देवीकै स्थानमा राखिन्छ अनि मात्र पुजिन्छ भने हामी त झनै पवित्र भएर संस्कृतिमा भिज्नुपर्ने हो। सत्य युगमा चोखिनितीको निकै नै ख्याल् हुन्थ्यो भने वर्तमानमा हामी आफै नियम बनाउछौ।
देवीपुराण अनुसार सत्य युगमा मैसासुर नाम गरेको महापराक्रमी दैत्य थिए, उनले भैसिको गर्भबाट जन्म लिएका थिए मैसासुरले कठोर तपस्या गरि ब्रम्हाबाट नमर्ने वरदान पाएका थिए। मैसासुरले स्वर्गमा देवताहरु लाई आक्रमण गरि त्राही त्राही बनायो सबै देवताहरुले मार्दा मैसासुर नमर्ने बरदान पाएको हुँदा, सबै देवताहरु ले आ(आफ्नो शक्ति पुञ्ज निकाले,जुन शक्ति पुञ्जहरु एकीकृत भई शक्ति स्वरुप नवदुर्गा भगवानीको रुप धारण गरे यो चण्डीकारूपी भगवतीलाई अम्बिकाको नामले पनि चिनिन्छ। भगवतीले मैसासुरसँग आश्विन शुक्ल प्रतिपदा देखी नवमी सम्म घमासान युद्ध गरि चण्डीका देवीले मैसासुरको दशौँ दिनमा हत्या गरिन र त्यो दिनलाई ठुलो विजय भनेर मनाइयो। र दशै यसरी रहन गयो ।
सत्ययुगमा मानिसहरु भगवानको मुर्ति सामु उभिएर पुजा गर्ने पनि डरले पैतला डगमगाउथे। तर कलियुगमा विना डर नारीको कपडा उसकै शरीर बाट च्यातेर नारीकै चिरहत्या गर्ने थालेका छ्न्। ब्रम्हाको अगाडि त सबैभन्दा शक्तिशाली नारीलाई लिइन्छ भने यो कलियुगमा सबैभन्दा कमजोर नारी नै भएका छन् । अहिलेको अवस्थामा सत्य माथी असत्यको जित भएको छ। नारीलाई अप्सराको रुपमा मात्र हेर्ने जमातको भिड छ । नारीको सौन्दर्यलाई कामुक नजरको तिर चलाउने महिसासुरहरु गल्लीगल्लीमा छ्न् । त्यसैले अबको नारीहरु पनि आफुलाई अप्सरा बनाउने कर्ममा मात्र नलागी नारीहरु काली बन्न जरुरी छ । अप्सराहरुलाई देवताले आफ्नो इसारामा नचाउने मात्र हो । कालीले त देवतालाई पनि आफ्नो चरण मुनि राख्न समर्थ हुन्छिन् ।
दशैँको महिना नजिकिदै गर्दा घरमा पाक्दै गरेका सबै खानामा दशैँकै वास्ना आउने फुल्दै गरेको त्यो गन्हाउने गन्धे फुलमा पनि दसैँले छोएको भएर होला पारिजात जस्तै वास्ना आउछ। म दिनभरी केहि नखाई मात्र पारिजात फुलको सुगन्ध लिएर नै अघाउन सक्छु। मलाई दशै र पारिजातको फुलसँग निकै नै मोह छ। साझमा पारिजातको बोट मुनि थुप्रै बोराहरु ओछ्याएर बिहानै उठन साथ कति फुल खस्यो भन्दै हेर्ने दकुर्थे। फुललाई सुकाएर राखी धेरै महिना पछि धुपौरोमा घ्यु र पारिजात मोलेर धुप हाल्दा पनि कता कता दशैले छोए जस्तो भान हुन्थ्यो। पहिले पहिले आफ्नै परिवार नभए पनि अग्रजको हात बाट टीका लगाउन पर(पर डालीभरी कोसेली पात बोकेर जान्थे। त्यही टीका लगाइदिने मान्छे अर्को बर्ष मरे भने पोहोर साल टीका लगाएकै भरमा यसपाली निधार खाली राख्थे , तर अहिले आफ्नै परिवारको कुनै सदस्य अन्तिम क्षणमा भएपनि चिन्तामा डुब्नुको सट्टा प्राण जानु अगावै दशैँको टीका लगाइ हालौ भन्ने प्रबृत्ति हामिमा बढेको छ।
दशैँको महिना लाग्ना साथ बिहानै उठिन्थ्यो । त्यो शीतल हावा चिसो सिरेठोले मनमा एक किसिमको खुसी दिन्थ्यो। आमासँग रातो माटो र कमेरो भिजाएर पोतरी ले घर लिपिन्थ्यो, लामो लामो बासको भाटामा पुरानो कपड़ा पोको पारेर माकुराको जालो उफ्रि उफ्रि घर सफा गरिन्थ्यो। काक्राको अचार दशै कै लागी भनेर बोट मै पटपटती पाक्ने गरि बोट मै दशैको लागी साचिन्थ्यो। केरा दशैँकै लागि भनेर घारी मै पकाएर राखिन्थ्यो। दशैँ कै लागी भनेर घरमा ल्याएको सर(सामान ओलटाई पलटाई बारम्बार हेर्दै बसिन्थ्यो। दुई दिन देखी घरमा खाना नखाएको जस्तो गरि घुर्की लगाएर बल्ल बल्ल गरेको दशैको सपिङ्ग पनि २ वर्ष पछि मिल्ने साईज को हुन्थ्यो । वर्षमा एक चोटि पाएको त्यो एक जोडी कपडा पाउँदा पनि दिन भरी लगाएर टोल भरी सबैको ध्यान आफुतिर तानिथ्यो। अनि राती घर आएर त्यो कपडा मिलाएर सिरानीको आड नजिकै राखिन्थ्यो। अझ बहिनी को कपडा पनि लुकेर उ निदाएको बेलामा बिस्तारै निकालेर लगाइन्थ्यो अनि अच्चम मा पर्थे, बहिनी म भन्दा पनि निकै सानी छे तर उस्को कपडा मलाई पो ठिक हुन्थ्यो अनि सोच्थे,बहिनी लाई अझ यो कपडा ठिक्क हुन २,३ वर्ष कुर्नु पर्ने रहेछ, साथीहरु सबै दशैँकै कपडा लगाएरै पिङ्ग खेल्न आउथे सबैको कपडा हामी हरुको जत्रो ठुलो त हुदैनथ्यो। किनकि साथी हरु त हरेक पर्वमा कपडा आफ्नै साईजको किन्थे। तर हाम्रो कपडा ठुलै भएपनि ओठमा मिठो मुस्कान सदैब सजाउने भएर होला सबैभन्दा आहा त हामी देखिन्थ्यौ।
दशैँमा टीका लगाएर पाएको पैसा आदि त आमले नै मागेर अरु लाई टीका लगाइदिनु हुन्थ्यो। बाँकी हामी लुकाएर पसलमा देखिएका मिठाईहरु खानकै लागी बचाएर राख्थ्यौ। आमाले त्यो पैसा फकाइ फुलाई मागेर नै छाडनु हुन्थ्यो दशै पछि स्कुल खुल्दा लिएर जाने खाजा किन्दिनको लागी आमाले प्लाष्टिक मा पोको पार्देको भुजा र दालमोठ स्कुल जादा बाटो मै खाएर सकिन्थ्यो।
घरमा आफ्नै नामको पिङ्ग नबनाई दिएसम्म फुलेर बस्ने हामि आफ्नो घरमा पिङ्ग राख्दिना साथ त्यही गाउँको लिङ्गे पिङमा झुण्डिन पुगिहाल्थ्यौ। बिना खाना बिना पानी दिन भरी पालो कुर्दै बस्थ्यौ। मान्छे जाना साथ हामी पिङमै झुण्डिएको झुन्डियै गर्थौ । मान्छे पिङ खेल्न आउना साथ हामी दिदीबहिनी झगडा गरेजस्तो गर्थौ। र एक अर्कामा झगडा गर्दै ल ल तलाइ मच्चाईदिन्छु खेल भन्दै ठुलो ठुलो आवाजमा बाज्थ्यौ । अनि पालो कुर्ने हरु पनि अत्यास लागेर पालो पालो घर फर्कन्थे। अनि हामी झनै उत्साहका साथ पिङ लाई बटारी बटारी रिङगटा लाग्ने गरि लट्टालाइ बटार्दै पिङ्ग खेल्थ्यौ।
पिङ जोडले मच्चिदै गर्दा आमाले हातमा लठ्ठी बोकेर आएको पिङ्ग बाटै देखेर मच्चाएको पिङ बाटै डरले हाम फालेर भाग्थ्यौ। (त्यो पो होत साच्चैको दशैँ )
अहिले सम्झदा पनि मनले साच्चै नै मेरि चन्चले बहिनी अनि त्यही दशैँको खुसी , मेरी बहिनी पिङमा खेल्न पाउदा पनि निकै खुसी हुन्थी, त्यो बाल्यकाल अनि त्यही मेरि बहिनी साथ नभएर होला, अचेल दशैँको रमाइलो नै लाग्न छोडयो। मलाई मेरि बहिनी संग पिङ्ग खेलेर पुगेकै छैन। उमेर ठुलो भएपनि मनले बाल्यकाल कै रमाइलोलाई सम्झन्छ। मेरो प्राण रहदा सम्म दुर्गा भवानी संग मेरो बहिनीहरु लाई आशिर्वाद माग्न मन छ। मेरि बहिनिहरु लाई माता भवानिले आफु जस्तै बलियो मनको र शक्तिशाली हुने बरदान दिउन।
यो दशैमा एकपटक साच्चै मनदेखी नै सम्झनुस त आफ्नो बाल्यकाल जुनबेला तपाई आफ्ना दाजुभाइ दिदिबहिनी संग बिना स्वार्थ रमाउदै खेल्नुहुन्थ्यो।
बहिनी दाजुभाइ सँगै बसेर नया नोट गनिन्थ्यो र पो दशैँको रहर लाग्थ्यो।
साथीभाइ मिलेर सकि नसकी कालिमाताको मन्दिर चढिन्थ्यो र पो दशै आएजस्तो लाग्थ्यो।
घरमा धेरै नै मासु पाकेर स्वाद फेर्नकै लागी भनेर लुकेर चाउचाउ किन्ने पैसा उठाएर चटपट बनाएर सबै मिलेर खाइन्थ्यो र पो दशैको रमाइलो लाग्थ्यो।
घटस्थापनाको दिन देखी गाउमा खसी बाख्रा कराउथे, हाम्रोमा कहिले खसी ल्याउछ्न भन्दै कुर्दै बस्दा एक्कासि घरमा खसी ल्याएको देख्दा पो दशैँको रमाइलो लाग्थ्यो।
दशैँ बिदा भएर घर फर्कदा स्कुलको गेटमा पनि पारिजातको फुल फुलेजस्तो सुगन्ध आउथ्यो। अनि १५ दिन दशैँ बिदा हुने खुसियालीमा निकै रफतारमा बहिनी को हात समात्दै दगुर्दै घर आइथ्यो। दसैंँमा काट्ने खसी देख्दा बकैनाको रुखमा चढेर घास झारिन्थ्यो। अघिपछि एक फिर्को मासुसंग कचौरा भरी झोल खाएपनी दशैको लागी भनेर आफ्नै आगनमा घोर्ले खसी देख्दा हामी हरु पनि सम्पन्नशाली भईएछ भन्ने महसुस हुन्थ्यो।
त्यो बेलामा फलानोको घरमा खसी काटिदै छरे भन्दा छिमेकी काका , घरकै काका बुबा भएर खसी भुत्लाउन लाग्नुहुन्थ्यो अरु बेलामा चुलोमा ढिडो पाकेपनि दशैमा सेतो चामलको हिराजस्तो टल्कल्ने भात पाक्थ्यो अहिले दिनहु सेतो चामलको भात खान्छौ तर सबैले एक अर्कालाई ढाड फर्काएर खान्छौ। मासु त अहिले झोल नै नहाली खाइन्छ तर स्वार्थ र लोभको झोल त परिवारको सदस्यमा लप्पक लेसीएर लागेको छ।मलाई दशैँको मिठो लाग्ने भाव भनेकै आशीर्वाद हो। सानोमा हजुरबुबाले दिएको आशीर्वाद सुन्दा एक मिठो निद्रा नै लाग्थ्यो।सन्तानले डाडाकाडा ढाकुन भन्ने आशीर्वाद हजुरबुवाले आफ्ना सन्तान लाई दिनुहुन्थ्यो। त्यो आशिषको अर्थ मैले गलत बुझे वा आशिष पाउनेले आफ्नालाई पछारेका हुन थाहा नै भएन। हजुरबुबाका सन्तान गन्दा मै हातका औला भरी समेटि नसक्नु छ्न् तर अहिले हजुरबुवाको औलाको कापामा आफुजस्तै बृद्ध लाठिले उहाँको साथ दिएको छ।
दशैँमा आफनै बुबा आमाले ठुलो मान्छे बन्नु भनेर दिएको आशीर्वादमा निकै नै अर्थपूर्ण भाव भेटिन्छ। आजभोलि यो आशिष को गलत प्रयोग गरेका छन् । (दाइ हिँड्ने बाटो भाइ हिँड्दैन,भाइले खाएको भान्साको खाना दाइले खादैन। आफ्ना सन्तान हिरा लाग्ने दाजुभाइका सन्तानको अस्तित्व झुसिलकिरा जतिको पनि नलिग्दिने। यहाँ बुवाको ठुलो मान्छे बन्नु भन्ने आशीर्वादले आफ्नै घरकै सम्बन्ध लाई तौलिन पुगेको छ,भाइले दाइको गोडा ढोक्दैन। दाइले आफ्नो सपनाको बलिदान दिएर हुर्काएकै भाइको ब्याज तिर्दा तिर्दै दाइले बुढेसकालको लाठि टेक्छ। दाइ भाइसँग बोल्दैन, दाइ भाइसंग आफ्नोे मनको कुरा खोल्दैन । भाइको घर अगाडि दाई हिँडयो भनेर भाइले गेट मै कुकुर खोल्दिन्छ। यहाँ दाइ भाइको ऋणि छ, भाइ दाइको ऋणि छ। परिवार लाई त घमण्ड र स्वार्थले चुरलुम्मै डुबाएको छ, यस्तो सम्बन्ध लाई दशैले खै कसरी एउटै डोरिमा समेटन सक्ला र ? सम्बन्धहरुमा डढेलो लागेर कुरुप बनेको छ । अब फेरि सम्बन्धका उजाड जमिनमा वृक्षारोपणको आवस्यकता छ ।
ठुलो भएपछि आफ्ना चाहानाहरु सेलाउदा रहेछ्न। मेरी आमा पनि म जस्तै सानी हुँदा म जस्तै हरेक कुराको लागी रुनु हुन्थ्यो होला। आमाको वाल्यकालको बारेमा सोच्नको लागी आफु त ठुली नै हुनु पर्ने रहेछ। घरमा भएको सानो सदस्यले कपडा किने आफुलाई त्यसै दशैँले छोएजस्तो हुने रैछ। भाइसँग बजार निस्किए मेरो भाइको पÞmुर्तिलो जोस देख्दा आफ्नो वाल्यकालको याद आयो भाइ बजार पुग्नासाथ खुसीले सामान रोज्न थाल्यो उस्ले आफ्नो लागी चाहिने सबै सामान रोज्यो, र घरको बाकि सदस्यको लागी पनि केहि न केहि किनिरहयो। भाइले बोक्ने नसकिने गरेर ट्रर्ल्लिमा सामान रोजिसक्याथ्यो हामीले सबैको लागी एक एक जोर कपडा किन्यौ। बजारको त्यस्तो रमझम देख्दा पनि मन एकोहोरो बाल्यकाल मै जमेको देख्दा उराठ लाग्यो। सानोमा त्यस्तो खुसी हुने मेरो मन उफ् खै त अहिले ? मागेर पाउने भए म त्यस बेलाको मेरो खुसी र बाल्यकालकै दशैँ माग्थे।
स्कुलमा गएर फेरि भर्ना गरेर त्यो बालापन आउने भएको भए म फेरि स्कुल जान्थे।
अहिलेको दशैँलाई निहाल्दा दशैँ बच्चै छ,आफु निकै बुढो भएको भान भयो। मनलाई त्यसै नानाथरी पिरले बिथोल्न खोजेको रहेछ। मन आफै बाट फुत्किएर दसैंमा उडाउने चङ्गा जस्तै पर पर उडेको छ।
सानोमा सोच्ने गरेका हरेक कुरा उमेरले आफै परिवर्तन गर्दिने रहेछ। सानोमा अन्सन बसेर कपडा किन्न लगाइन्थ्यो, अहिले लगाउने कपडा अथाह छ्न तर ति सबै कपडा लगाएर हेर्दा पनि दसैँ आएको महसुस नै हुदैन।
बजारमा देखिएका ति रंगीचंगी कपडा ले पनि मेरो मनलाइ तान्न सकेन। मेरो भाइले दिदी हजुरको मन पर्ने पहेको कलरमा कति राम्रो कुर्था हेर्नुस भन्दै थियो कुर्थामा ध्यान नै नदिए जस्तो घरी झुलुक्क हेरे, कुर्था देख्दा मैले मन थाम्नै सकिन। कुर्थामा पहेको रगं ले बुट्टा भरेको भएपनि दशैँको रातो रंगभन्दा पनि मीठो गाढा रंग देख्न थाले। मैले बाटो मै उभिएर पनि त्यो कुर्थालाइ ३ पटक निहाल्ने कोसिस गरे। बाटो काटेर पारि पट्टि पुग्दा पनि हेरिरहे, मेरो मनलाई भन्दा पनि मेरो आँखालाई दशैँ लागिसकेछ। तैपनि पसलमा गएर कुर्थाको मुल्य सोध्ने आट गर्ने सकिन, निकै खुसी पनि लाग्यो यसपालि मेरा रहरहरु बच्चा बन्न सफल बनेछ्न। मेरो आँखामा त्यो एक जोडी कुर्था बारम्बार घुमिरहन सफल भयो।
र अहिले मेरो रहर भन्दा पनि बाध्यता ठुला छ्न । सायद थैली अल्लि गह्रौ भएको भए, म माथिको जिम्मेवारी कम भएको भए मैले पसल तर्फ पाइला बढाउन सक्थे होला। निकै अगाडि हिँडेर आईपुदा पनि आँखालाई ढपक्क त्यही पहेँलो कुर्थाले ढाकिराख्यो।
मनको कुनै पनि कुना लाई दशैँले छोएकै थिएन तर हातले पनि स्पर्श गर्ने नसकेको त्यो कुर्थाले टाढै बाट पारिजातको फुलले भन्दा पनि मिठो स्पर्श छरिरहयो। आँखाले पहेलो रंग देख्ना साथ बारम्बार त्यही कुर्थाको चित्र कोर्ने थाल्यो।
यो कोरोना कहरको समय छ । सकेसम्म यसपालिको दशैँलाई बडादशैँ होइन, वडादशैँ बनाउन पर्ने देखिएको छ । वडा दशैँ यानिकी तपाईं जहाँ हुनुहुन्छ त्यही बसेर दशैँ मनाउने । यदि तपाईं यात्रा गर्नुभयो भने कोरोनाले पनि यात्रा गर्ने मौका पाउने छ । तपाईँको गाउँघरमा कोरोना भ्रमण गरेर आफ्नो शक्ति देखाउन सक्नेछ । निकै संयमित भएर यसपटक दशैँको उत्सव मनाऔँ ।
दशैँ सद्धावको पर्व हो , आत्मियताको पर्व हो , आशीर्वादको पर्व हो , मिलनको पर्व हो । विजय दशमीको सम्पूर्णमा भारी शुभकामना ।

Share.

Leave A Reply