वडादशैंको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

0

गैंडाकोट, कार्तिक ७ । आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छ । नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ ।

सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।

फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म छ जना ब्राह्मणले ल्याइंदै छ । कोरोना महामारीका कारण यस कार्यमा थोरै भन्दा थोरै जनशक्ति प्रयोग गरिने भएको छ । आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । आजवाट सरकारी विदा पनि सुरु भएको छ ।

Share.

Leave A Reply