मासु बढी सेवन नगरेकै राम्रो : डा. महेन्द्र अग्रहरी

0


अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । हिन्दु धर्मावलम्बीको महान् चाड दशैँमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋण गरेरै भए पनि दशैँमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् । अन्य समय त छँदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयाँ होइन । तर मासु कति, कसरी र कस्तो खाने भन्ने महत्त्वपूर्ण कुरा छन् । पछिल्लो समय नेपालमा शाकाहारीको संंख्या पनि बढ्दै गएको छ र पनि मासु खाने बढी देखिन्छन् । यसै सन्र्दभमा हामीले भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, विजय एफएमका सहायक स्टेशन म्यानेजर/ समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
दशैँमा मासुको प्रयोग बढी हुने गर्छ, कस्तो मासु खान योग्य हुन्छ ?
मासु पौष्टिक आहार भए पनि बढी सेवन गर्दा आन्द्राले थेग्न नसक्ने भयो भने यसले असर गर्छ । विशेष गरी मुटुरोगी, क्यान्सर, ग्यास्टिक र प्रेसरका रोगीहरुले मासु बढी सेवन नगरेकै राम्रो हुन्छ । तारेको र भुटेको मासु खान हुँदैन । रातो मासुको प्रयोग नगरेकै राम्रो हुन्छ । यदि खानै परे उसिनेर वा बोसोरहित मासु खाँदा राम्रो हुन्छ । त्यो पनि थोरै मात्रामा खानुपर्छ । धेरै दिन फ्रिजमा राखेको पनि नखाँदा राम्रो मानिन्छ ।
रातो मासु भनेको कस्तो मासु पर्छ ?
विशेष गरी रातो मासु भनेको खसी, बंगुर, बंदेल र राँगाको मासुलाई रातो मासु मानिन्छ । यसमा क्यालोरीको मात्रा बढी हुने भएको हुँदा यसलाई खानै हुन्न भन्न खोजेको होइन । यस्तो मासु कम प्रयोग गर्नुपर्छ । हाइ कोलेस्टोर र युरिक एसिड हुन सक्ने भएकाले मात्रा मिलाउनुपर्छ । बोसोको मात्रा बढी भयो भने मुटुको रोग लाग्ने र सुगर बढाउने भएकाले यसलाई कम गर्नुपर्छ । यसको सट्टा सेतो मासुको प्रयोग गर्न सकिन्छ जस्तो कुखुरा वा माछा । यो पनि मात्रा मिलाएर खानुपर्छ ।
बिरामीहरुले स्वास्थ्यको ख्याल कसरी गर्ने ?
जो सुगर, प्रेसर, थाइराइडका बिरामी हुनुहुन्छ र उहाँहरुले औषधी सेवन गरिरहनुभएको छ भने उहाँहरु सर्तक हुनुपर्छ । चाडपर्व उहाँहरुका लागि पारिवारिक सद्भाव, भेटघाट र रमाइलो मात्र हो भन्ने बुझ्नुपर्छ । व्यायाम घट्यो र क्यालोरीको मात्रा बढाउनुभयो भने रोग झन् बढ्न सक्छ । क्यालोरीको ख्याल गर्दै खानपानमा ध्यान दिँदै सन्तुलित रुपमा गर्नुपर्छ । नियमित औषधीको सेवन र चेकजाँच गर्न छोड्नुभएन । अहिले कोभिडका कारण अस्पतालमा सहज उपचार नहुन सक्छ । यस्तो अवस्थामा अस्पताल नै जान नपरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।
क्यालोरी मापन कसरी गर्ने ?
घरमा नै क्यालोरी मापन गर्ने भनेको सानो कचौरा जुन प्रायः होटलमा प्रयोग हुने गरेको त्यो कचौरा बराबारको भात र त्यसको डबल कचौरा दाल खाँदा क्यालोरी पुग्छ । मासुको मात्रा त्यो कचौरामा जति अट्छ वा पिस भन्नुपर्दा एकदिनमा ३–४ पिस मासु खाँदा क्यालोरी पुग्छ । त्यसभन्दा बढी भयो भने असर गर्न सक्छ । त्यसले हानि पु¥याउँछ । रोग पनि बढ्ने र रोगसँग लड्न सक्ने क्षमता पनि घट्ने भएकाले यस विषयमा ध्यान दिनुपर्छ । व्यायाम गर्न भने छोड्नु हुँदैन ।

Share.

Leave A Reply