रजहर चिकित्सालयबाट एकैदिन ८३ जना कोरोनाबाट मुक्त

0

गैंडाकोट, असोज ९ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको एक मात्रै कोरोना विशेष अस्थायी अस्पताल रजहर प्राकृतिक चिकित्सालयबाट हिजो एकै दिन ८३ जना संक्रमण मुक्त भएका छन् ।

सामुदायिक प्राकृतिक चिकित्सालयबाट चितवन, बारा र झापाका तीनजना सहित ८३ जनाको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिनुभयो । निको हुनेहरुमा गैंडाकोट नगरपालिकाका ५ जना पुरुष र ८ जना महिला गरी १३ जना, देवचुली नगरपालिकाका सबैभन्दा बढी १७ जना पुरुष र ९ जना महिला गरी २६ जना, कावासोती नगरपालिका ९ जना पुरुष र १ जना महिला गरी १० जना, मध्यबिन्दु नगरपालिकाका ५ जना पुरुष र बिनयी त्रिवेणी गाउँपालिकाका १२ जना पुरुष र १३ जना महिला गरी २५ जना रहेका छन् ।

त्यस्तै सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत कलैया बारा १ का २६ बर्षिय पुरुष, भरतपुर महानगरपालिका २७ का २६ बर्षिय पुरुष, भद्रपुर २ झापाकी २५ बर्षिय एक महिलापनि डिस्चार्ज भएका छन् । अस्पतालका निर्देशक डा पौडेलका अनुसार हालसम्म सामुदायिक प्राकृतिक चिकित्सालयबाट ५ सय २७ जना कोरोना संक्रमित निको भइसकेका छन् भने अझै ६५ जना उपचाररत छन् ।
यो सँगै नवलपरासी पुर्वमा कोरोनालाई जित्नेको संख्या ५ सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ८ सय २६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply