गैंडाकोटका ३० वटा गाईवस्तुमा लम्पी स्किन डिजिज

0


प्रेम क्षेत्री
असोज ६, गैंडाकोट । गैंडाकोट नगरपालिका क्षेत्रका गाईहरुमा लम्पी स्किन डिजिज नामक रोगसँग मिल्दाजुल्दा लक्षण देखिएको छ ।
गाईवस्तुका शरिरका विभिन्न ठाउँहरुमा गिर्खा देखिने, उच्च ज्वरो आउने, कचेरा निकाल्ने जस्ता लक्षण देखिएका छन् । एकाएक गाईवस्तुमा यस्तो लक्षण देखिएपछि गाईपालक कृषकहरु अतालिएका छन् । गैंडाकोटमा व्यवसायिक रुपमा पशुपालन हुँदै आएको छ । पकेट क्षेत्रको रुपमा रहेको मुकुन्दपुर क्षेत्रमा यो उच्च रहेको छ ।
गैंडाकोट नगरपालिका क्षेत्रका ३० वटा गाईमा यस रोगका लक्षण देखिएका छन् । जसमध्ये वडा नम्बर १०, ११ र १३ मा मात्रै २० वटा गाईमा यसको सङ्क्रमण पाईएको गैंडाकोट नगरपालिका पशु सेवा केन्द्रका अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार गैंडाकोट वडा नम्बर १, ४, ५ र ८ मा समेत १० वटा गाईवस्तुमा यसका लक्षण देखिएका छन् ।
शरिरका विभिन्न ठाउँहरुमा गिर्खा देखिने, उच्च ज्वरो आउने, दुध उत्पादन घट्ने, कचेरा निकाल्ने, सिगान बग्ने जस्ता लक्षण देखिएमा लम्पी स्किन डिजिज हुने सक्ने गैंडाकोट नगरपालिका पशु सेवा शाखा प्रमुख, पशु चिकित्सक डा. प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो ।
यो रोग लामखुट्टे, झिंगा, किर्नाको टोकाईबाट सर्ने भएकाले सुरक्षित राख्न उहाँले आग्रह गर्नुभएको छ । साथै विरामी पशुलाई अलग्गै राख्ने र सरसफाईमा विशेष ध्यान दिन सम्पूर्ण पशुपालक कृषकहरुलाई अनुरोध गर्नुभएको छ । कुनै रोगका लक्षण देखा परे वा केही समस्या परे पशु सेवा शाखामा सम्पर्क राख्न उहाँले आग्रह गर्नुभयो ।
लम्पी स्किन डिजिज नामक रोगबाट अन्य जिल्लामा पशु मरेका खबर आएपनि गैंडाकोटमा भने हालसम्म मृत्यु नभएको गैंडाकोट नगरपालिका पशु सेवा केन्द्रले जनाएको छ ।

Share.

Leave A Reply