कविको परिचय बनाउनुभएका प्रधानमन्त्री केपी ओली अब गीतकार, गीत युट्युबमा रिलिज

0

काठमाडौँ, १५ जेठ :

‘स्वदेशमै रोजगारी

स्वदेशमै बास

रोजिँदैन प्रवास

अब गर्ने देश विकास’ (केपी शर्मा ओली)

कविता लेखनमा समेत परिचय बनाउनुभएका केपी ओली अब गीतकारका रुपमा पनि चिनिनुभएको छ ।

तेह्रौँ गणतन्त्रको दिवसको अवसर पारी केपी शर्मा ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ । गीतमा स्वदेशमा श्रम, विकासनिर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ जुन उहाँले आफू प्रधानमन्त्री भएपछि ल्याउनुभएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा नै आधारित छ ।

मुलुक बन्दाबन्दीमा परेका बेलामै उहाँले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गर्नुभएको हो ।

“प्रधानमन्त्रीको सचिवालयमार्फत हात परेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्ष्य गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लागिहाल्यो”, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य राईले भन्नुभयो ।

यसअघि ओलीका ‘खर्पन’९२०४१०, मेरो जून हरायो९२०६२०, समृद्धिको सपना९२०७५०, ‘अब आँसु खसाउनु पर्दैन’९२०७७० कविता प्रकाशित छन् ।

कारागारमा सिसाकलमले चुरोटका खोलमा लेखिएका उहाँका केही कविता प्रहरीले त्यतिबेलै जफत गरी लगिसकेको छ । पन्ध्र वर्ष जति कारागारमा रहँदा कविता लेख्ने गर्नुभएका ओलीलाई अहिले राष्ट्रको नेतृत्व हाँकिरहेका बेला त्यही कवि मनले बेलाबेला कविता लेख्न लगाइरहन्छ ।

गीतकार ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिनुभएको छ । छरिएर रहनुभएका गायकगायिकालाई मोबाइलमा स्वर भर्न लगाएर सङ्गीतकार राईले तिनलाई संयोजन गर्नुभएको हो । “लकडाउनका बेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायकगायिकालाई ट्रयाक पठाई मोबाइलमा स्वर भर्न लगाएँ र तिनलाई जोडेर गीत तयार गरेँ”, ताप्लेजुङबाट आई हाल सिनामंगल बस्दै गर्नुभएका प्राज्ञ राईले भन्नुभयो ।

अन्तरा साङ्गीतिक समूह बागबजारका तर्फबाट निर्मित गीतको भिडिओ पनि तयार गरिएको छ जसको संयोजन सावन श्रेष्ठ र सौहार्द राईले गर्नुभएको छ । देशभक्ति, क्रान्तिकारी भावधारा तथा जनताको आवाजलाई लिपिबद्ध गरी करीब एक हजार गीति रचनामा सङ्गीत भरिसक्नुभएका ५० वर्षीय प्राज्ञ राई भन्नुहुन्छ, “सरकारले विदेशमा गएका नेपालीलाई स्वदेश ल्याएर व्यवस्थापन पनि गर्नुपर्छ ।” यो गीतले प्रवासमा रहेका नेपालीलाई ठूलो सन्देश दिने उहाँको विश्वास छ ।

लकडाउन खुलेपछि ‘वैदेशिक रोजगारीका लागि विदेश जानुहुने सम्पूर्ण दिदीबहिनी दाज्युभाइलाई सम्मान तथा सुस्वास्थ्यको कामना’ गरिएको गीतलाई परिमार्जन गरिने सङ्गीत तथा नाट्य प्रतिष्ठानका संगीत विभाग प्रमुख राईको योजना छ ।

‘खेर जान्नन् नदीनाला

बाँझा हुन्नन् खेत

नाङ्गा हुन्नन् डाँडापाखा

यो उर्वर सुन्दर देश ।’ (केपी शर्मा ओली) ९९९ / रासस

Share.

Leave A Reply