रोगले भन्दा भोकले मर्ने अवस्था आउन नदिन ध्यानाकर्षण   

0

पोखरा, १४ जेठ (रासस) ः    गण्डकी प्रदेशसभाको आजको बैठकमा शून्य तथा विशेष समयमा सदस्यले फैलिँदै गरेको कोरोना सङ्क्रमण र जारी लामो समयको बन्दाबन्दीका कारण रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखिको बन्दाबन्दीको कारण दैनिक ज्यालादारी गर्ने मजदूर मात्र नभई मध्यमवर्गीय धेरै नागरिकसमेत भोकको समस्यामा पर्दै गएको बताउँदै सदस्यले यसतर्फ बेलैमा सचेत हुनुपर्ने आवश्यकता औँल्याए ।

शून्य समय

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले बन्दाबन्दीका कारण रोगले मात्र नभई सर्वसाधारण भोकले मर्ने अवस्था आएको बताउँदै यसको अवज्ञा गर्ने अवस्थासमेत आएको उल्लेख गर्दै तत्काल दोस्रो चरणको राहत वितरण गर्न माग गर्नुभयो । प्रदेशसभा सदस्य मीना गुरुङले लामो समयदेखिको बन्दाबन्दीका कारण विद्यमान कठिन परिस्थितमा सर्वसाधारणले सुरक्षित रोजगारी नभएको बताउँदै तत्काल दोस्रो चरणको राहत वितरण माग गर्नुभयो । उहाँले जातीय विभेदको घटनाका दोषीलाई कानूनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

सदस्य ओमकला गौतमले नवलपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण दैनिक भारतबाट सर्वसाधारण भित्रिने क्रम बढेको बताउँदै जिल्लालाई रेडजोन घोषणा गरी व्यवस्थित क्वारेन्टाइनको व्यवस्थाका साथै आवश्यक स्वास्थ्य सामग्रीको उचित प्रबन्ध गर्न माग गर्नुभयो । सदस्य प्रकाशचन्द्र दवाडीले गोरखा जिल्लामा कोरोनाको उपचारका लागि आइसोलेसन बनाउने भनिएकोमा ठेक्का सम्झौतामा बढीबढाउ गरिएका कारण काम रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य भगवतप्रकाश मल्लले गण्डकी प्रदेश र प्रदेश नं ५ को नाका रामदीमा विभिन्न स्थानबाट कोरोनाका कारण आएका मानिस अलपत्र परेको बताउँदै उनीहरूको उचित सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य मेखलाल श्रेष्ठले कोरोनाले सिर्जना गरेको बन्दाबन्दीले सर्वसाधारणमा पारेको असरलाई दृष्टिगत गरी आगामी दिनमा पिसिआर परीक्षणको दायरा विस्तार गर्दै समुदायस्तरमा पु¥याउनुपर्ने बताउनुभयो । काँग्रेसले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि दिएका सुझावलाई कार्यान्वयन गर्न उहाँले माग गर्नुभयो ।

सदस्य सरिता गुरुङले दिनानुदिन भारतबाट सर्वसाधारण आउने क्रम बढिरहेको बताउँदै बन्दाबन्दीका कारण रोगले भन्दा भोकले मर्ने अवस्था आएकोप्रति सरकारले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य जुनादेवी नेपाली र राजीव पहारीले जातीय विभेदको घटनाका दोषीलाई कानूनी कारवाहीको माग गर्नुभयो ।
सदस्य मनबहादुर गुरुङले पोखरा–१२ स्थित धार्मिक एवं सांस्कृतिकस्थल माटेपानी गुम्बा, २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएको बताउँदै गुम्बाका साथै त्यहाँ जाने बाटो मर्मतका लागि ध्यानाकर्षण गराउनुभयो ।

विशेष समय    

विशेष समयमा प्रदेशसभा सदस्य आशा कोइरालाले महामारी फैलिँदै गएका अवस्थामा प्रत्येक नागरिक बेलैमा सचेत र सजग बन्नुपर्नेमा जोड दिनुभयो । दुई महिनाको बन्दाबन्दीले सर्वसाधारण ठूलै समस्यामा परेको बताउँदै उहाँले श्रममा आधारित राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । खाली जग्गाको उपयोग गर्ने वातावरण तयार गर्दै खाद्यान्न र उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

सदस्य मनकुमारी गुरुङले कोरोना परीक्षणका लागि कीटकै अभाव भएको बताउँदै स्थानीय तहमा सुविधा सम्पन्न क्वारेन्टाइन व्यवस्थापन गर्न माग गर्नुभयो । प्रदेशमा क्वारेन्टिनमा बस्नेका लागि रु ५१० दिने निर्णय गरिएको त्यो कागजीमा मात्र नभई छिट्टै पठाउने व्यवस्था गर्न माग गर्नुभयो । अस्पतालमा स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । रेमिट्यान्स तिरेका नेपालीलाई रोजगारीको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

सदस्य पियारी थापाले मानिस मरेपछि कोरोना पुष्टि हुने गरेको र यसले सङ्क्रमणको जोखिम बढाएको बताउँदै अझै पनि पूर्वतयारी गरी सङ्क्रमणको जोखिम हटाउन माग गर्नुभयो । कोरोना सूचना प्रणालीलाई प्रभावकारी बनाउन उहाँले माग गर्नुभयो । विनोद केसी र चन्द्रबहादुरले कोरोनाले विश्वलाई नै आक्रान्त बनाएको बताउँदै महामारीसँग लड्न प्रदेश सरकारले लिएको पहलकदमीप्रति आभार व्यक्त गर्नुभयो ।

सदस्य दोबाटे विश्वकर्मा र हरिशरण आचार्यले हालै भएको जातीय विभेदको घटना निन्दनीय भएको बताउँदै घटनाको दोषीलाई कारवाहीको माग गर्नुभयो । सदस्य चन्द्रमोहन गौचनले कोरोनाका कारण पर्यटन उद्योगमा ठूलो असर परेको बताउँदै पर्यटन क्षेत्रलाई बचाउन राहतको प्याकेज ल्याउन आग्रह गर्नुभयो ।

विधेयक विधायन समितिमा     

बैठकले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको सेवा विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाउने सर्वसम्मत निर्णय गरेको छ । यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, विन्दुकुमार थापा, हरिशरण आचार्य, विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडीले विधेयकको कार्यान्वयनलगायत विषयमा आआफ्ना सुझाव दिनुभएको थियो ।

छलफलमा उठेका विषयमा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश लोकसेवा आयोगका कामकारवाही अघि बढाउन विधेयक आवश्यक भएको बताउनुभयो । संविधानतः सङ्घले यस सम्बन्धमा आधार र मापदण्ड ल्याइसकेको अवस्थामा यो विधेयक ल्याएको उहाँले बताउनुभयो । यस सम्बन्धमा थप छलफल विधायन समितिमा गरिने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply