भुजेल गाउँमा खुशीयाली, वर्षौको सपना पुरा, घरघरमा पानी

0

माया कंडेल
जेठ १३, गैंडाकोट ।

नमुना ग्राम सञ्चार अभियान प्रभाव

(गैंडाकोट ३ भुजेल गाउँमा रहेको खानेपानी र शौचालयको समस्याका विषयमा विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले पहिलो पटक सञ्चारमाध्यमबाट प्रकाशन एवं प्रशारण गरेको थियो । सो विषयमा पटक पटक सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको थियो । नमुना ग्राम सञ्चार अभियान घोषणा गरि एफएमले स्थानीयलाई सजग गराउँदै समस्याका विषयमा निरन्तर उजागर गरेको थियो । यसअघि सञ्चार माध्यममा आएको खबरले आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै उनिहरुले खानेपानी विस्तारको योजना बनाएका थिए । सो योजनाले अहिले पूर्णता पाएको छ ।)

गैंडाकोट ३ भुजेल गाउँका स्थानीयले अबदेखी सहज रुपमा शुद्ध खानेपानी पिउन पाउने भएका छन् । गैंडाकोट नगरपालिका, रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ नारायणगढले खानेपानी योजना सम्पन्न गरेपछि खानेपानीको अभाव भएको भुजेल गाउँमा स्थानीयले सहज तरिकाले खानेपानी पिउन पाएका हुन् । गत असार ३० गते खानेपानीको शिलन्यास गरेर शुरु गरिएको योजना सोमबार समुदायलाई हस्तान्तरण गरिएको हो ।


हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले साझा रुपमा सहकार्य गरेर अगाडी बढ्न सके समृद्ध गैंडाकोट बन्ने बताउनुभयो । उहाँले सामाजिक संघ संस्था र सबैसँग सहकार्य गरेर अगाडी बढ्ने र यसले मात्रै गैंडाकोट समृद्ध बन्ने बताउनुभएको छ ।


रोटरी क्लबसँगको सहकार्यमा खानेपानी योजना सम्पन्न भएको र यसले आफुलाई खुशी बनाएको गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीको भनाई छ । उहाँले वडाकै दुर्गम र खानेपानीको सुबिधा नभएको ठाउँमा स्थानीयले शुद्ध खानेपानी पाएको बताउनुभयो ।
रोटरी नमुना भुजेल गाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर भुजेल अहिले घर अगाडी नै पानीको धारा पाउँदा खुशी हुनुहुन्छ । काम शुरु गर्दा पानी खान पाउने÷नपाउने अन्योल भएपनि अहिले दैलोमै धारा आउँदा खुशी भएको उहाँले बताउनुभयो ।
धेरै बर्ष अघिदेखी भुजेल गाउँबासीले फोहोर पानी पिउनुपर्ने बाध्यता अब हटेको रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष करुणासागर सुबेदीले बताउनुभयो । उहाँले १५ लाखको लागतमा २८ वटा धारा बनाउन सफल भएको पनि जानकारी दिनुभएको छ ।
भुजेल गाउँका स्थानीयले शुद्ध खानेपानी पाउनुका साथै १ घण्टा हिंडेर पानी लिन जानुपर्ने समय बचत भएको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सुसनलाल प्रधानले बताउनुभयो ।

कार्यक्रममा योजना सम्पन्न गर्न सहयोग गर्ने बसन्तबहादुर पाण्डे, सुसनलाल प्रधान, गोपेन्द्रकेशरी न्यौपाने, एनसिसि बैङक, श्रीनिवास पौडेल, करुणासागर सुवेदीलाई खादाले प्रमुख अतिथीद्वारा सम्मान प्रदान गरिएको थियो ।


समुदघाटन कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद आचार्य, ईन्जिनियर गुनेश्वर महतो, रोटरी क्लब अफ गैंडाकोटका संस्थापक अध्यक्ष भिमप्रसाद शर्मा, रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, रोटरी क्लब अफ चितवनका अध्यक्ष निर्वाचित रोशन पिया, एनसिसि बैङक गैंडाकोट शाखा प्रमुख रिता अधिकारी लगायत स्थानीयको सहभागिता रहेको थियो । बर्षोपछि आफ्नै घर आँगनमा पानीको धारा देख्दा र सजिलै खानेपानी पिउन पाएपछि स्थानीयमा खुशीयाली छाएको छ ।

भुजेल गाउँमा खुशीयाली, वर्षौको सपना पुरा, घरघरमा पानी

Posted by 101.6 Vijaya FM on Monday, May 25, 2020

Share.

Leave A Reply