गैडाकोट नगरपालिकाद्धारा राहत सामाग्री हस्तान्तरण, सेल्फि खिचेर फेसवुकमा नहाल्न निर्देशन

0

डोलराज रानाभाट, गैडाकोट, २३ चैत्र । लकडाउनबाट प्रभावित कमजोर आर्थिक अवस्था भएका नगरवासीहरुलाई राहत वितरण गर्न गैडाकोट नगरपालिकाले वडाअध्यक्षहरुलाई राहत सामाग्री आज हस्तान्तरण गरेको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

नेपालमा ९ जनालाई संक्रमण बनाइसकेको विश्व महामारीको भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत्र ११ गते विहान ६ बजेदेखि लकडाउन गरेको हो । लकडाउनबाट दैनिक श्रम गरेर गुजारा गर्नेहरु समस्यमा परेपछि नगरपालिकाले राहत वितरण गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । नगरवासीलाई भोकै वस्नुपर्ने अवस्था आउन नदिन आफू सहित सवै जनप्रतिनिधि सक्रिय रहेको भन्दै उहाँले वडा वडामा राहत वितरण गर्न सम्वन्धित वडाअध्यक्षहरुलाई सामाग्री हस्तान्तरण गरेको र उहाँहरुले नै आआफ्ना वडामा रहेका विपन्न आर्थिक अवस्था भएका परिवारलाई उक्त सामाग्री वितरण गर्ने उहाँको भनाई छ । त्यसमा नगरपालिकाले प्रत्यक्ष अनुगमन गर्ने पनि उहाँले बताउनुभयो ।

नगरपालिकामा १८ वटा वडा रहेका छन् भने ती वडाका कुल ४ हजार १ सय ६१ घरपरिवारलाई प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ पोका नुन, १ पोका तेल र एउटा सावुनको प्याकेज वितरण गर्ने गरी वडाअध्यक्षहरुलाई आज हस्तान्तरण गरिएको हो । आज वडानम्वर १, २, ९, १२,१३,१४,१५,१६,१७ र १८ नम्वरका वडाअध्यक्षहरुलाई उक्त सामाग्रीको जिम्मा लगाइएको र भोलि वाँकी वडाहरु ३, ४, ५, ६, ७,८,१० र ११ नम्वरका वडाअध्यक्षहरुलाई राहतको सामाग्री हस्तान्तरण गरिनेछ । यसरी हस्तान्तरण गरिएको राहत सामाग्री पाउनेमा

गैडाकोट १ मा ४७३ घरपरिवार,

गैडाकोट २ मा ३७७,

गैडाकोट ३ मा २२०,

गैडाकोट ४ मा ३४०,

गैडाकोट ५ मा १५५,

गैडाकोट ६ मा ३००,

गैडाकोट ७ मा ४३६,

गैडाकोट ८ मा २७७,

गैडाकोट ९ मा ९५,

गैडाकोट १० मा १५०,

गैडाकोट ११ मा १८९,

गैडाकोट १२ मा १४२,

गैडाकोट १३ मा १७१ ,

गैडाकोट १४ मा २१४,

गैडाकोट १५ मा २७४,

गैडाकोट १६ मा १७२,

गैडाकोट १७ मा १२५

गैडाकोट १८ मा ५१ परिवार रहेका छन् ।

यस पटक वडाअध्यक्षहरुलाई नै राहत सामाग्रीको जिम्मा लगाइएको र त्यसले वास्तविक पीडित परिवार छुट्ने सम्भावना कम हुने नगरप्रमुख पौडेलको दावी छ । पहिलो चरणको लकडाउन सकिनु दुई दिन अघि केन्द्र सरकारको वैठक वसेर चैत्र २५ गते राति १२ बजेसम्म लकडाउनको अवधि लम्व्याएपछि दैनिक गुजारा चलाउने र विपन्न घरपरीवारलाई राहत वितरण गर्नेगरी समिति गठन गरी काम गरिएको थियो ।

‘नगरपालिकामा नगरप्रमुखको संयोजकत्वमा नगरस्तरीय समिति र वडामा वडाअध्यक्षको संयोजकत्वमा वडा समिति गठन गरिएको थियो । राज्यको कोषबाट प्राप्त रकमबाट वितरण गरिने  राहत सामाग्री हस्तान्तरण गर्दा कुनै पनि सेल्फि नखिच्न, सामाजिक संजालमा नहाल्ने र अनावश्यक प्रचार नगर्न  निर्देशन गरेको छु । यो समय स्वास्थ्य संकटको वेला हो । फेसवुकमा हाल्ने रमाइलो गर्ने भन्दा पनि जति सक्दो सामाजिक दूरी कायम राख्नु नै कोरोनाबाट बच्ने उपाय हो । त्यसैले मैले निश्चित दुरी कायम गरी राहत वितरण गर्न भनेको छ । यो समय सवैले साथमा साथ दिने समय भएकाले फोटो खिच्दै फेसवुकमा हाल्ने कार्य नसुहाउदो हुने र त्यसले जनताको आत्मसम्मानमा पनि राम्रो सन्देश जाँदैन । विपन्न परिवारलाई माया र हौसला दिँदै राहत सामाग्री वितरण गर्ने गरी व्यवस्थापन गरेको छु । कुनै पनि नगरवासीलाई भोकै वस्नुपर्ने अवस्था आउन नदिन आफू सहित सवै जनप्रतिनिधि सक्रिय रहेका कारण अत्यावश्यक काम वाहेक घरवाहिर ननिस्कन, पटक पटक सावुन पानीले हात धुन, सेनीटाइजर प्रयोग गर्न र कुनै नयाँ व्यक्ति आफ्नो समाजमा देखा परे तुरुन्त खवर गर्न पनि आग्रह गर्दछु ।  हिजो मात्रै कोरोना भाइरस दोस्रो चरणमा अर्थात् विदेशबाट आएको व्यक्तिबाट नेपालमै रहेको व्यक्तिमा प्रवेश गरेको छ । त्यसैले विदेशबाट आउनेलाई लुकाउने भन्दा स्वास्थ्य जाँच गरेर ढुक्क रहन पनि सवैलाई आग्रह गर्दछु ।’ 

नगरपालिकाले यस अघि नै एम्वुलेन्स सेवा निशुल्क गर्ने घोषणा गरीसकेको छ । विदेशबाट आउनेहरुलाई होम क्वारेनटाइनमा कडाइका साथ राखिएको र उच्च ज्वरो आउनेलाई तुरुन्तै भरतपुर कोरोना अस्थायी अस्पताल पठाउने गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । हालसम्म गैडाकोटमा कुनै पनि कोरोना संक्रमित विरामी फेला नपरेको उहाँको भनाई छ ।

Share.

Leave A Reply