अदुवा कुहिएपछि बढ्यो चिन्ता, ढुवानीमा समस्या, भाउ पाइएन ः किसान

0


प्रेम क्षेत्री
गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट–१८ बसेनीका ४२ वर्षका हीराबहादुर सारुका सहोदर साथीभाइ खाडीका देशमा छन् । कोही भने गाउँमा नै यत्तिकै बसिरहेका छन् तर उहाँले गैंडाकोट–१८ बसेनीमा अदुवाखेती गर्दै आउनुभएको छ । उहाँको यो पुस्तौनी पेसाजस्तै बनेको छ । परम्परागत विधिबाट उहाँले गर्ने अदुवाखेतीले थोरै भएपनि आम्दानी दिन्छ । घरखर्चसँगै १ छोरा र ३ छोरीको लालनपालन यही पेसाले चलेको छ तर उहाँले जति धेरै मेहनत गर्नुहुन्छ तदनुसारको आम्दानी नहँुदा उहाँलाई चिन्ता परेको छ । गाउँमा आउने व्यापारीले सस्तो मूल्यमा माग्छन् । ‘दिऊँ भने श्रमअनुसारको मूल्य छैन,नदिऊँत अदुवा बिग्रने डर’यही कुराले सताउने गरेको उहाँले बताउनुभयो । सारुले दुखेसो पोख्दै भन्नुभयो – “सस्तोमा माग्छन्, नदिए बिग्रन्छ, दुईचार पैसा भएपनि हुन्छ भनेर बेच्न बाध्य छौं ।”
केही किसान त मूल्य पाइन्छ कि भनेर नारायणगढ, गैंडाकोट, भेडाबारीलगायतका क्षेत्रमा लगेर बेच्ने पनि गरेका छन् तर बजारीकरणका लागि ढुवानीमा समस्या छ । ढुवानीमा अधियाँजस्तै हुने गरेकोकिसान बताउँछन् । उत्पादित अदुवा लिएर बेच्न जाँदा त्यसको आधा मूल्य ढुवानीमा नै खर्च हुने गरेको सारुले बताउनुभयो । उहाँले भन्नुभयो – “अहिले ५० धार्नी लिएर बेच्न गएको २५ धार्नी बराबरको पैसा त गाडीभाडामा नै खर्च भयो ।”
गाडीमा हालेर बेंसी झार्दा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म लिने गरेका छन् । जेनतेन गरेर भएपनि २÷३ रोपनीमा अदुवाखेती गर्दै आउनुभएका सारुले अदुवाखेतीबाट वर्षमा १ लाख कमाइ हुने बताउनुभयो । सन्तोष व्यक्त गर्दै उहाँले भन्नुभयो – “केही नभएपनि वर्षमा १ लाख जति आउँछ, घर चलेको छ, छोराछोरीले पढेका छन्, त्यही हो सन्तोष गर्ने बाटो ।”
गाईवस्तुको मल हालेर चैत्र–वैशाखमा लगाएको अदुवा टुसा उम्रेपछि ३ पटकसम्म गोडमेल गरेपश्चात् पुसदेखि नै बिक्रिवितरण गर्ने गरेका छन् । बजारमा अहिले अदुवाको प्रचलित मूल्य प्रतिकिलो करिब २ सय रुपैयाँ छ तर गैँडाकोट–१८ का किसानहरुले भने किलोको ४० रुपैयाँमा बेच्नुपरेको छ । धार्नी (साढे २ केजी) को मात्र १ सय रुपैयाँमा बिक्रि हुने गरेको सारुले बताउनुभयो ।
गैंडाकोट–१८ बसेनीकै४१ वर्षीया कमली माप्छनले पनि आपूmले जान्दादेखि नै अदुवाखेती गर्दै आइरहनुभएको छ । माप्छनलेएक सिजनमा१०÷१२ बोरा अदुवा फलाउनुहुन्छ । अदुवाखेती गरेपनि भाउ नपाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “दुःख गरेर ग¥यो, भाउ नै पाइँदैन ।”

 

‘दिऊँ भने श्रमअनुसारको मूल्य छैन, नदिऊँ भने अदुवा बिग्रने डर छ’
गैँडाकोटको यस पहाडी भूभागमा अधिकांश किसानले अदुवाखेती गर्दै आएका छन् । बिक्रि त हुन्छ तर मूल्य भने पाएका छैनन् ।गाउँमा अन्य बाली गर्नुभन्दा फसल पनि लाग्ने र अल्लि सहज भएपनि सोचेजस्तो आम्दानी नभएपछि चिन्ता थपिएको हो ।अदुवाखेतीको प्रशस्त सम्भावना भएपनि यसपटक अदुवा कुहिएपछि किसानहरु चिन्तित छन् । सारु र माप्छनले यसपटक अदुवा कुहिएको बताउनुभयो । गैंडाकोट–१८ डोडेका दुर्गाबहादुर सारुले पनि अदुवाखेती गर्नुहुन्छ तर अहिले अदुवा कुहिएपछि चिन्ता लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “ठिटाहरु घरमा बसेनन् । बूढाबूढीले सकिएन, जेनतेन चलेको छ ।”
जमिनमुनि नै अदुवा कुहिएपछि किसानहरूमा थप चिन्ता बढेको हो । खेती बिग्रिएपछि किसानलाई पर्नु पीर परेको छ ।अदुवा कुहिएपछि गाउँका सबै किसान अतालिएका छन् । उनीहरुलाई खेतीको बीमाका सन्दर्भमा केही अत्तोपत्तो छैन । मूल्य नपाउने किसानलाई अदुवा कुहिएपछि झन् चिन्ता परेको हो ।
परम्परागत रुपमा खेती गर्दै आएका किसानलाई तालिम र बीउको प्रबन्ध गर्न कार्यक्रम ल्याउने तयारी भइरहेको गैंडाकोट–१८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले बताउनुभयो । ‘अदुवा यहाँको आम्दानीको स्रोत हो, यसलाई व्यवस्थित गर्न सके वडाको पहिचानसँगै कृषकलाई पनि राहत मिल्छ’ उहाँको भनाइ छ । नगर कृषि शाखासँग समन्वय गरेर यहाँका किसानलाई परेको समस्या समाधानका लागि आपूm प्रयासरत रहेको उहाँले बताउनुभयो ।यससम्बन्धी थप तालिम लिन पाए केही हुन्थ्यो कि भन्ने आसमा बसेका किसान सुँगुरपालन, बाख्रापालनलगायतका साथमा अन्य सीपमूलक तालिम र अनुदानको समेत पर्खाइमा रहेका छन् ।

Share.

Leave A Reply