गैंडाकोटमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुदैं

0


प्रेम क्षेत्री
कार्तिक २५, गैंडाकोट । श्री लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूह गैंडाकोटले मन्दिरको सर्वाङ्गीण विकासका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०७६ गर्ने भएको छ ।
यहि मंसीर १ गतेदेखी ८ गतेसम्म कांग्रेस चोकदेखी उत्तरपट्टि रहेको मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्न लागिएको मन्दिरका अध्यक्ष हरिश्चन्द्र पराजुलीले जानकारी दिनुभयो । वैदिक सनातन हिन्दु धर्म र संस्कृतिको पालना र जगेर्ना गर्दै सत्स∙ भवन निर्माण, वृद्धाश्रम निर्माण, मन्दिर परिसरमा रहेको जग्गा खरीद र मन्दिर विस्तार, कम्पाउण्डवाल निर्माण, गौमाताको रक्षा लगायतका कार्यका लागि महायज्ञ गर्न लागिएको मन्दिरका सचिव बासुदेव आचार्यले जानकारी दिनुभयो ।


महायज्ञमा पण्डित दीपक सापकोटा र पण्डित माधवप्रसाद चालिसेले कथा वाचन गर्नुहुने जनाईएको छ । महायज्ञ मूल समारोह समितिका संयोजक घनश्याम कंडेलले महायज्ञमा उपस्थित भई तन, मन र धनले सहयोग गर्न सवैमा आग्रह गर्नुभएको छ ।
महायज्ञ व्यवस्थापनका लागि मूल समारोह तथा विभिन्न उप समिति गठन गरि कार्य अघि वढाईएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ र ४ को सिमानामा रहेको मन्दिर स्थानीय धर्मावलम्बीको सक्रियतामा २०७२ सालदेखी मन्दिर स्थापना गरि पुजाआजा शुरु भएको थियो । गैंडाकोट ८ निवासी पद्मिना आचार्यले प्रदान गर्नुभएको तीन धुर भुमि र समूहद्वारा संकलित रकमबाट पाँच धूर किनेर जम्मा आठ धूरमा स्थापित मन्दिरलाई अझै विस्तार र व्यवस्थित गर्नका लागि महायज्ञको आयोजना गरिएको हो ।
धर्मानुरागीहरुको वढ्दो चापले स्थानको अभाव देखिएकाले मन्दिर निकट रहेको जग्गा खरीद तथा भवन विस्तार गर्ने मुख्य उद्देश्य रहेको श्री लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूहले जनाएको छ ।

Share.

Leave A Reply