विपद् पूर्वतयारी फितलो

0

फाईल तस्विर

 

प्रेम क्षेत्री। माया कंडेल
गैंडाकोट । गैंडाकोट नगरपालिकाको वातावरणीय तथा भौगोलिक अवस्था हेर्ने हो भने दक्षिणतर्फ नारायणी नदीले घेरिएको छ भने उत्तरतर्फ पहाडी र केही भिरालो क्षेत्र रहेको छ । वर्षायाम सुरु हुने बित्तिकै नदी किनारका बासिन्दालाई एउटै पिरलो छ, नारायणीले उठीबास लगाउने पो हो कि भन्ने । चिन्तैचिन्ता र त्रासमा उनीहरुको दैनिकी बित्ने गरेको छ । गैंडाकोट ७ का नारायण पौडेलले वर्षायाम लागेसँगै त्रासमा रात बित्ने गरेको बताउनुभयो ।
सुरक्षित नगरका लागि विभिन्न योजना र कार्यक्रम तय गरिएपनि प्रभावकारी काम भने हुन नसकेको नदी किनारका बासिन्दाको भनाइ छ । वर्षेनी उनीहरुले डुवान कटान भोग्दै आएका छन् ।
नारायणी नदीमा तटबन्धन नभएपछि वडा नम्बर ६ र ७ का स्थानीय त्रासमा छन् । जुनरुपमा हुनुपर्ने पूर्व तयारी हो त्यसो हुन नसकेको स्थानीयले बताएका छन् । गैंडाकोट ७ का नारायण पौडेलले योजना बने पनि प्रभावकारी बन्न नसकेको बताउनुहुन्छ । उहाँ जोखिम व्यवस्थापनका लागि पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
उत्थानशील समुदाय, गाउँ तथा नगर निर्माणका लागि विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी सूचनाको पहुँचको सुनिश्चितता अर्को सर्त मानिन्छ तर यही सूचनाको अभावमा ज्यान नै जोखिममा रहेको छ । पौडेलले सूचनाको पनि अभाव रहेको बताउनुहुन्छ ।
समुदायस्तरमा विपद् जोखिम न्यूनीकरणका लागि काम गर्ने संस्थागत संरचना निर्माण त भएका छन् तर दीर्घकालीन रुपमा यो समाधान हुन सकेको छैन । गैंडाकोट ७ कै हर्कबहादुर दराईसँग बढीको तितो अनुभव छ ।

वातावरणीय मूल्याङ्कन गरी कार्यक्रम तय गरिए पनि भनेजस्तो नभएको उनीहरुको ठहर छ । हर्कबहादुर दराई काम भएपनि गुणस्तरीय नभएको बताउनुहुन्छ ।
सम्भाव्य विपद्जन्य घटना र त्यसबाट हुन सक्ने सम्भावित असरको पूर्व अनुमान गरी त्यसलाई न्यूनीकरण गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा स्थानीय चाहन्छन् तर बिन्दा दराईजस्तै यहाँका स्थानीय यस्ता कार्यक्रमको अभाव महसुस गरिरहनुभएको छ ।
वातावरण तथा विपद् व्यवस्थापनका लागि तटबन्धन पहिला गर्नुपर्ने उनीहरुको भनाइ छ । स्थानीय मनोज दराई पूर्ण तटबन्धन भएमात्र समुदाय सुरक्षित हुने बताउनुहुन्छ ।
गैंडाकोटमा समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरणका लागि काम गर्ने संस्थागत संरचना निर्माण गरिएको छ । वडा तहमा र नगरस्तरीय संरचना निर्माण गरी सुरक्षित समुदाय बनाउन प्रयासरत रहेको नगरपालिकाले दावी गरेको छ । नगरका विपद् जोखिम पहिचान गरी सो कार्यको रोकथामका लागि कार्य भइरहको गैंडाकोट नगरपालिकाका नगरप्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक छत्रराज पौडेलले बताउनुभयो ।
सामुदायिक उत्थानशीलताका लागि ज्ञानको आदान प्रदान, सामुदायिक एकता र अन्र्तसम्बन्धमा जोड दिदैं सुचना प्रणालीको विकास गर्न लागिएको नगर प्रमुख पौडेलको दावी छ । उहाँले अन्य निकायसँग सहकार्यको तयारी गरिरहेको उहाँले बताउनुभयो ।
वडा तथा समुदाय स्तरमा भइरहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कामहरुको अनुगमन तथा मूल्यांकन गर्न समुदायका सदस्यहरुलाई सक्षम बनाउन तालिम गोष्ठीलगायतका काम पनि भएका छन् । उत्थानशील समुदायका लागि आवश्यक पूर्वाधार समुदायमा पूर्व तयारी र खोज तथा उद्धार समूह तयार गरी समुदायस्तरमा साधारण खोज तथा उद्धार गर्ने, आधारभूत आपत्कालीन स्वस्थ्य उपचारलगायतको लागि दक्ष र तालिम प्राप्त समूहको निर्माण गरिएको पनि उहाँले बताउनुभयो ।
नगरमा बाढी पहिरो मात्र होइन आगलागीको जोखिम रहन्छ नै तर नगरमा एउटा दमकलसम्म छैन । यस विषयमा पनि सोच भइरहेको र यसका लागि माग भइरहेको नगर प्रमुख पौडेलको भनाइ छ ।
नगरका हरेक स्थानमा दमकल, एम्बुलेन्स जान सक्ने सडक र पुग्न सक्ने वातावरण बनाउनु पनि नगरको दायित्व हो । यो सँगै बाढी, पहिरो, आगलागी, भूक्षयजस्ता प्राकृतिक प्रकोप रोक्न तटबन्धनलगायतका योजनासहितका कार्यक्रम भइरहेको नगरपालिकाको दावी छ । एउटा घर सुरक्षित हुँदैमा वस्ती सुरक्षित हुँदैन । हरेक मापदण्डका विषयमा ध्यान दिन जरुरी छ । भोलिका दिनमा भूकम्पबाट हुन सक्ने जनधनको क्षति कम गर्ने खालका संरक्षणमा जोड दिइएको गैंडाकोट नगरपालिकाका इन्जिनियर राजु अर्याल बताउनुहुन्छ ।
वातावरण तथा विपद् व्यवस्थापनका लागि समग्र गैंडाकोट नगर क्षेत्रका लागि ६२ लाख रुपैंया विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि नगर क्षेत्रमा वातावरण तथा विपद् व्यवस्थापनका लागि १५ वटा आयोजना सञ्चालन गर्ने गरी योजना तय गरिएको थियो । गैंडाकोट नगरपालिकाको तेस्रो नगर सभाबाट नगर विकास योजना तय गर्दैगर्दा यी योजना सार्वजनिक भएका थिए तर केही चेतनामूलक र तटबन्धन भएपनि सामुदायिक उत्थानशीलताका लागि खासै कार्यक्रम भएका छैनन् । नगरस्तरीय दुईवटा समिति गठन भएका छन् । तर पनि देखिने गरी त्यति धेरै कार्यक्रम हुन नसकेको स्वयम् नगरमा गठन गरिएको वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक शिवकान्त तिवारीको भनाइ छ ।
उहाँका अनुसार सामुदायिक उत्थानशीलताका लागि समुदायकै पहलमा प्रयास पनि भइरहेका छन् । यो सँगै आवश्यक मानवीय स्रोत, औजारलगायतको व्यवस्थापकीय कार्य गर्न जरुरी छ ।
विपद् जहिले जतिबेला पनि आउन सक्छ । सरोकारवाला निकायले सामुदायिक उत्थानशीलताका लागि कार्य अघि बढाउन जरुरी छ । जसले गर्दा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका वेला समुदायका सदस्यहरु मिलेर काम गर्न सकून् । भोलिका दिनमा हुन सक्ने जनधनको क्षति कम गर्न आजै चनाखो बनौँ ।

Share.

Leave A Reply