मुख स्वास्थ्य प्रति सचेत हुन दन्त चिकित्सकहरुको आग्रह

0

असार २८, भरतपुर । मुख स्वास्थ्य सम्बन्धी समस्या जटिल खालको हुने भन्दै यस बारेमा बेलैमा सचेत हुनका लागि दन्त चिकित्सकहरुले आग्रह गरेका छन् ।

मानिसहरुको लापरबाहीका कारण मुख स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने गरेकाले नियमित सरसफाइमा ध्यान दिनुपर्नेमा दन्त चिकित्सकहरुले सुझाव दिएका हुन् । चितवनको भरतपुरमा रहेको एपोलो डेन्टल क्लिनिकले शनिबार भरतपुरमा आयोजना गरेको मुख स्वास्थ्य अभिमुखीकरण कार्यक्रममा कन्सलटेन्ट अर्थोडेन्टिक सह प्राध्यापक डाक्टर वासुराज पाण्डेले मुख स्वस्थ राख्ने तरिका सहति आर्थोडंटिक उपचारका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले दाँत तथा मुख स्वास्थ्य बारे सर्वसाधारणहरुले बेवास्ता गरिरहेको बताउनुभयो । दाँतमा दुखाइ नभएसम्म सर्वसाधारणहरु चिकित्सककोमा नपुग्ने गरेको भन्दै पाण्डेले दाँत सम्बन्धी नियमित चेकजाँच गरेमा दाँत तथा मुख स्वास्थ्य सम्बन्धी स्वस्थ हुने बताउनुभयो । समयमा नै उपचार नगरिए भोली त्यसले झन ठुलो समस्या निम्त्याउने उहाँको भनाई थियो ।


कार्यक्रममा एपोलो डेन्टल हस्पिटलका प्रबन्ध निर्देशक डाक्टर शुष्मा अधिकारीले हरेक ६÷६ महिनामा मुखको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । खाने कुराहरु दाँतमा टाँसिने हुनाले खाएपछि तुरुन्तै दाँत तथा मुख सफा गर्नुपर्ने, मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, दाँतको दुखाई प्रति हेलचक्र्याईँ गर्न नहुने अधिकारीको भनाइ थियो । दाँतको दुखाई भएपछि मात्रै उपचारमा जाँदा उपचार खर्चिलो हुने भएकाले नियमित चेकजाँच गर्नका लागि अधिकारीले आग्रह गर्नुभयो ।


आम सर्वसाधारणको दाँत सफा गर्ने प्रकृया गलत भएको भन्दै चिकित्सकहरुले बानी सुधार गर्नुपर्नेमा जोड दिएका थिए । सो कार्यक्रममा चितवन तथा नवलपुर क्षेत्रका स्वास्थ्यकर्मी एवम् सर्वसाधारणहरु गरी करिब ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण हिमालदेव पंगेनीले गर्नुभएको थियो ।

Share.

Leave A Reply