महिलाको प्रगति देखेर अतिथि छक्क, रानिताल एकता महिला समूहको साधारण सभा सम्पन्न

0


प्रेम क्षेत्री
गैंडाकोट । दलित समूदायको बाहुल्य रहेको रानिताल टोलका महिला दिदिबहिनीहरु एक वर्ष अघि रानिताल एकता महिला समूहमा आवद्ध भएपछि गाउँ विकासमा जुटेका छन् । गाउँमा हुने सामान्य झै झगडा गाउँमा नै मिलाउनेदेखी जाँड रक्सी बिक्रि बितरणमा रोक लगाउने लगायत जुवातास नियन्त्रणमा सक्रिय रुपमा लाग्दै आएका हुन् । समूहको स्थापना पछि समुदायमा रहेको दुव्र्यसन न्युनिकरणदेखी आपत विपतमा परेकाहरुलाई समूहमार्फत आर्थिक सहयोग गर्दै आएका छन् ।
गाउँमा उदाहरणिय काम गर्दै आएको रानिताल एकता महिला समूह गैंडाकोट ४ को प्रथम साधारण सभा मंगलबार सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गैंडाकोट नगर कार्यपालिका सदस्य संगीता पण्डित घिमिरेले दिदिबहिनीले गरेका कामको प्रशंसा गर्दै उनिहरुको प्रगति देखेर छक्क परेको बताउनुभयो । उहाँले वडाको पछाडी परेको समूदायका दिदिबहिनीहरुलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । साथै आगामी योजना तर्जुमा गर्दैगर्दा समूहका दिदिबहिनीहरुलाई पनि सँगै लिएर अघि वढ्ने र प्राथमिकतामा राख्ने बताउनुभयो ।
वडा सदस्य ज्ञानीसरा विकले आफुले विद्यालय तहमा शिक्षा नलिएको प्रसंग उल्लेख गर्दै सक्रियरुपमा लागे अवसरले पछ्याउने बताउनुभयो । दलित महिलाको पिडा आफुलाई बोध भएको उल्लेख गर्दै सक्रिय रुपमा लागेकै कारण जनप्रतिनिधीको अवसर पाएको उहाँको भनाई थियो । उहाँले महिला र समूहको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।


वडा महिला सञ्जालकी अध्यक्ष शान्ता भुजेलले जसरी नाम रहेको छ त्यसरी एकता हुदैं गए सफलता प्राप्त गरिने बताउनुभयो । महिला दिदिबहिनीहरुको सक्रियता देखेर आफुँ छक्क परेको जनाउँदै उहाँले एकता नै बल हो भन्ने पुष्टि गरेको बताउनुभयो ।
समूहकी अध्यक्ष धनमाया परियारले समूहमा आवद्ध भएपछि गाउँमा जाँड रक्सी, जुवातास नियन्त्रणका लागि सक्रिय रुपमा लाग्दै आएको बताउनुभयो । साथै आगामी दिनमा पनि महिला दिदिबहिनीको सक्रिय सहभागिताको खाँचो औंल्याउनुभयो ।
कार्यक्रममा समूहको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव पुजा परियार (गंगा) ले भैलो खेलेर संकलन भएको रकमले गाउँमा भैपरि आउने विवाह व्रतबन्ध पुजापाठका लागि आवश्यक भाँडाकुँडा उपलब्ध गराउने गरेको बताउनुभयो । उहाँले गाउँमा अशक्त समूदायका दिदिबहिनीहरुलाई आवश्यक आर्थिक सहयोग गर्ने गरेको बताउनुभयो ।


समूहका दिदिबहिनीबाट एक सयका दरले उठाईएको, भैलो खेलेर संकलन भएको लगायत गरि ८८ हजार ३ सय ३० रुपैँयाको कारोबार भएको कोषाध्यक्ष सुनिता परियारले जानकारी दिनुभयो । हाल समूहमा मात्र १३ हजार ६ सय ५० रुपैँया बचत रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा खयरटाँडी रानिताल टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर गुरुङ, रानिताल एकता महिला समूहका सल्लाहकार संयोजक गणेशबहादुर परियार, लेखा समिति संयोजक यमकुमारी महतो, नौमती बाजा समूहका अध्यक्ष डोलबहादुर परियार, खयरटाँडी रानीताल बाल कल्बकी अध्यक्ष अञ्जिता परियारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समूहकी उपाध्यक्ष अनिता परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम समूहकी अध्यक्ष धनमाया परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply