परस्त्रीलाई फसाउने पुरुषहरू

0

डा. मतिप्रसाद ढकाल
कामशास्त्री आचार्यहरूका मतमा पुरुषहरूले कन्यालाई महिलादूतविना नै सहजै वशमा लिन सक्छन् परन्तु जब कुनै विवाहित स्त्रीलाई वशमा लिनु छ भने महिलादूतको सहायता लिनुपर्छ । कामसूत्रकार वात्स्यायनका मतमा पुरुषले त्यस परस्त्रीलाई स्वयं नै वशीभूत गर्ने चेष्टा गर्नुपर्छ जसका सामु ऊ विना रोकटोक जान सक्छ किनकि महिलादूतको अपेक्षा पुरुष नै सहजै कार्य गर्नमा सफल हुन्छ । संसारभर यो कुरा प्रसिद्ध छ कि महिलादूतले त केवल त्यस्ता स्त्रीहरूलाई फसाउँछन् जुन स्त्रीले पुरुषहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदैनन् ।

छिमेकमा रहनेवाला पुरुष प्रायः परस्त्रीहरूका साथ अनैतिक सम्बन्ध स्थापित गर्न सफल हुन्छन् किनकि त्यस्ता पुरुष छिमेकमा रहने स्त्रीहरूलाई सहजै ताक्छन् र विवाह, यज्ञ, उत्सव आदिमा उनीहरूसँग परिचय पनि गाँस्छन् । त्यसका अतिरिक्त अन्य व्यक्तिहरूमा साथी, आफन्तीका साथी, साथीहरूका पनि साथी, वैद्य आदिले समेत परस्त्रीलाई फसाउँछन् ।

महिलादूत वा पुरुष स्वयंले जब कुनै स्त्रीलाई फसाउने चेष्टा गर्छन् तब पहिला त स्त्रीले आपूmलाई बचाउने प्रयास गर्छन् परन्तु निरन्तर पछि लागेपछि उसको मन अनैतिक यौनसम्बन्धतर्पm आकृष्ट हुन्छ । त्यस अवस्थामा स्त्रीले पुरुषद्वारा प्रदत्त उपहारहरूलाई सहजै स्वीकार गर्न थाल्छे । त्यसपछि पुरुषले पनि स्त्रीलाई आफ्नो जालमा फस्तै गरेको देखेर उसलाई अत्यन्त प्रिय लाग्ने शृङ्गारका महङ्गा सामान, वस्त्र र गहनाहरूउपहारकारूपमा दिने गर्छन् । त्यसपछि परस्त्रीहरू परपुरुषसँग राम्रोसँग घुलमिल हुन्छन् । त्यस अवस्थामा स्त्रीहरू आफ्ना लोग्नेहरूसँग लुकीछिपी परपुरुषसँग भेट्ने र उपहारहरू ग्रहण गर्ने चाहना राख्छन् । यसरी परस्त्री र परपुरुषहरूको निकट सम्बन्ध बढ्दै जान्छ । जसका कारण स्त्रीहरूलाई आफ्नो सतीत्व भ्रष्ट हुने डर भइरहन्छ ।

बिस्तारै बिस्तारै स्त्री परपुरुषको चंगुलमा फस्तै जान्छे । त्यसपछि ऊ एकान्त स्थलमा पनि पुरुषका साथ घुमफिर गर्छे । लाजलाई त्यागेर आफ्नो परपुरुषरूपी प्रेमीलाई आलिङ्गन र चुम्बन गर्छे । पुरुषले खाइरहेका स्वादिष्ट जुठा पदार्थलाई खुसीसाथ ग्रहण गर्छे । उसको लिङ्गलाई स्पर्श गर्छे भने आफ्नो योनिलाई पुरुषबाट स्पर्श गराउँछे । यी र यस्तै क्रियाकालापहरू गर्दा उसलाई अलिकति पनि लज्जा आउँदैन किनकि त्यतिबेला उसले परपुरुषलाई आफ्नै पतिसमान ठानेर निर्लज्ज भई व्यवहार गरिरहेकी हुन्छे ।

जुन स्त्रीको पति स्वयम् नै धूर्त हुन्छ उसकी स्त्री वेश्यावृत्तिकै आचरण गर्ने भए तापनि उसलाई कसैले फसाउने चेष्टा गर्दैन परन्तु जसको पति धूर्त र व्यभिचारी छ उसकी स्त्री प्रायः व्यभिचारिणी हुने गर्छे । जसकी आमा व्यभिचारिणी छ त्यसकी छोरी पनि व्यभिचारिणी हुने गर्छे । परन्तु ती स्त्रीहरू कहिल्यै व्यभिचारिणी हुँदैनन् जसलाई आफ्नो सतीत्व नष्ट हुने डर भइरहन्छ, जो सदैव पारिवारिक उचित संरक्षणमा रहन्छन्, जो कातर वा डरछेरुवा हुन्छन् र जसको रेखदेख गर्ने सासू हुन्छिन् त्यस्ता स्त्रीहरूबाट धूर्त पुरुष पनि डराउँछन् र उनीहरूलाई फसाउने चेष्टा पनि गर्दैनन्–
शङ्कितां रक्षितां भीतां सश्वश्रूकां च योषितम् ।
न तर्कयेत मेधावी जानन् प्रत्ययमात्मनः ।।
(कामसूत्र ५।१।७)

इसाराहरूद्वारा जुन परस्त्रीका भावहरूलाई पुरुषले अवगत गरिसकेको छ तर ऊसँग भेट्न कठिन भएको छ भने त्यस्ता स्त्रीहरूसँग सम्पर्क बढाउनका लागि महिलादूतलाई माध्यम बनाउनुपर्छ । महिलादूतले त्यस्ती स्त्रीका सामु गएर ऊसँग मित्रता गाँस्छे र उसलाई फसाउनका लागि विभिन्न किसिमका कहानीहरू सुनाउँछे । उसलाई रूपवती बन्नका लागि विभिन्न औषधी र शृङ्गारका सामान बताइदिन्छे । यताउताका समाचार र अन्य स्त्रीहरूले गरेका व्यभिचारका कथाहरू सुनाउँछे । उसको रूप र सौन्दर्यको बखान गर्छे । त्यति मात्र होइन उसको बुद्धिमत्ता, चतु¥याइँ आदिको प्रशंसा गर्छे । विभिन्न उपायद्वारा उसको मन आफ्नो वशमा ल्याउन प्रयास गर्छे । त्यसका लागि उसले तिम्रो लोग्ने कामवासना मन्द भएको, ईष्र्यालु, मूर्ख, कृतघ्न र कामशास्त्रको ज्ञानबाट वञ्चित छ भन्छे । बिस्तारै बिस्तारै उसका लोग्नेका गुप्त व्यभिचारका कथाहरू बताउँछे, जसलाई सुनेर ऊ आफ्ना पतिसँग क्रुद्ध हुन सकोस् भनेर उसको क्रोधलाई अभैm बढाउँछे ।

महिलादूतले जब त्यस स्त्रीको मन आफ्ना पतिबाट विमुख भएको ठान्छे तब उसले आपूmलाई दूतका रूपमा पठाउने पुरुषका गुणको बखान गर्न प्रारम्भ गर्छे । जब स्त्रीले पुरुषका बारेमा रुचि देखाउँछे तब महिलादूतले उसलाई बिस्तारै पुरुषका मनमा बसाउने चेष्टा गर्छे । उसले स्त्रीसँग तिमीलाई फलानाले दिलैदेखि चाहन्छ । चाहन त अन्य धेरै स्त्रीहरूले फलानालाई चाहन्छन् तर उसको मनलेतिमीलाई नै प्राप्त गर्न चाहिरहेको छ । जब परपुरुषसँग सम्बन्ध राख्ने विषयमा स्त्रीका मनमा भय उत्पन्न हुन्छ तब उसले विभिन्न किसिमका कहानी सुनाएर उसको डरलाई हटाउने प्रयास गर्छे । त्यसपछि पुरुषका गुणहरूको र उसका धनको प्रशंसा गर्नाका साथै उसले आर्जन गरेको ६४ कलाहरूको ज्ञानका बारेमा वर्णन गर्छे ।

महिलादूतकै माध्यमबाट पुरुषले परस्त्रीलाई विभिन्न उपहारहरू पठाउँछ । उपहार पठाउँदा आफ्नो चिह्न अङ्कित गरिदिन्छ । यस्ता चिह्नलाई देखेर जब स्त्रीले चुम्बन आदि गर्न थाल्छे तब ऊ त्यस परपुरुषको प्रेममा परेको प्रमाणित हुन्छ । यसरी परपुरुषको प्रेममा परस्त्री फसिसकेको ठह¥याएपछि महिलादूतले त्यस स्त्रीलाई उपहारको बदलामा परपुरुषका लागि उपहार पठाउन बाध्य पार्छे ।

कामशास्त्री बाभ्रीव्यको मतअनुसार तीर्थयात्रामा बगैँचाहरूमा, जलमा स्नान गर्दा, विवाहोत्सवमा, यज्ञोत्सवमा, मृत्युका अवसरमा, दैवी प्रकोपका समयमा, चोरी हुने डर हुँदा र खेलकुद, नाटक मञ्चन आदि हुने सन्दर्भमा धेरै व्यक्ति एकत्रित भएका ठाउँमा स्त्री र पुरुषलाई एकआपसमा आफ्ना कामवासनायुक्त कुराकानीहरू गर्ने राम्रो अवसर प्राप्त हुन्छ । परन्तु कामशास्त्री गोणिकापुत्रका मतमा यस प्रकारको स्त्रीपुरुषको मिलन हुने स्थान स्त्रीको साथी, भिक्षुणी, तपस्विनी आदिका घरहरूमा वा मठ आदिमा उपयुक्त हुन्छ । यस विषयमा कामसूत्रकार वात्स्यायनको मत भिन्न छ । उनका अनुसार आफ्ना इष्टमित्रका घरमा भेटघाट गर्नु सर्वोत्तम हुन्छ र त्यहाँ सदैव मिलन हुन पनि सक्छ । घरमा प्रवेश गर्ने र आपत्तिका समयमा त्यहाँबाट निक्लेर भाग्ने बाटाको ज्ञान पुरुषलाई हुनु भने अति आवश्यक छ ।

जुन पुरुष परस्त्रीसँग भेट हुन र परस्त्रीलाई भोग गर्नका लागि परस्त्रीका घरमा जान असमर्थ हुन्छन् उनीहरूले आफ्नी श्रीमतीलाई बुद्धू बनाउँछन् र उसकै माधयमबाट परस्त्रीलाई आफ्ना घरमा बोलाएर उसका साथ अनैतिक यौनसम्बन्ध राख्दछन् । महिलादूतहरूले आफ्नो वचन कौशलद्वारा सहजै स्त्रीहरूको मनलाई हरण गर्दछन् र उनीहरूले धर्मपरायण स्त्रीहरूलाई पनि आफ्ना चिल्ला कुरामा फसाएर उनीहरूको सच्चा धर्ममार्गलाई डगमगाइदिन्छन् । विधवा, स्त्रीका घरमा काम गर्ने नोकर्नी, भिक्षुणी र स्त्रीका घरमा आवतजावत गर्ने कलाकार स्त्री यी सबै स्त्रीहरू कुनै स्त्रीलाई फसाउनका लागि अत्यन्त उपयोगी हुन्छन् किनकि यिनीहरू तत्कालै विश्वासपात्र हुने गर्छन् । त्यसैले यिनलाई दूतका रूपमा ग्रहण गर्नु उचित हुन्छ ।

परस्त्रीलाई फसाउने पुरुषहरूले अर्काको घरमात्र होइन आफ्नो घर परिवार पनि बिगार्छन् र यस्तै अनैतिक सम्बन्धको शृङ्खलाले हाम्रो समाज र राष्ट्र नै क्रमशः विखण्डित हुँदै जान्छ । त्यसैले परस्त्रीलाई र परपुरुषलाई फसाउने दुवै वर्गबाट आफ्नो परिवार र समाजलाई बचाउनका लागि वात्स्यायनका उपर्युक्त केही विचारहरू वर्तमान समयका लागि पनि उत्तिकै सान्दर्भिक र मननीय देखिन्छन् ।
(गैंडाकोट–१, विकासचोक, प्राज्ञिक मार्ग, नवलपुर)

Share.

Leave A Reply