पदमार्गले नयाँ आयाम थप्नेछ

0

काशीनाथ कंडेल
अध्यक्ष
मौलाकालिका मुकुन्दसेन दरबार भग्नावशेष पर्यटकीय पदमार्ग निर्माण समिति
गैंडाकोट सुन्दर नगरी हो । यही गैंडाकोटमा अर्को एउटा सम्भावना देखेपछि हामीले पदमार्ग निर्माण गर्ने सोच बनायौं र सोहीअनुरुप लागिपरेका छौंै । तत्कालका लागि गैंडाकोटमा रहेका मौलाकालिका मन्दिरदेखि मुकुन्दसेन दरबार जोड्ने गरी पदमार्गको निर्माण कार्य शुभारम्भ भएको छ । अहिले यो पदमार्ग मौलाकालिका मन्दिरदेखि गैंडाकोट ४ को तुलेडाँडा, जयश्री खोला तरेपछि तात्रीबासबाट उकालो लागेपछि छथुम डाँडा निक्लिएर डाँडैडाँडा हुँदै मुकुन्दसेन दरबारको भग्नावशेष क्षेत्र पुग्ने गरी पदमार्ग निर्माण गर्न लागेका हौं । मौलाकालिका समुद्र सतहदेखि ५६१ मिटरको उचाइ र मुकुन्दसेन दरबार ८०८ मिटरको उचाइमा रहेका छन् । अहिले यो पदमार्गले मौलाकालिका सामुदायिक वन, मौलाकालिका धार्मिक वन, जयश्री सामुदायिक वन, नन्दन सामुदायिक वन, नारायणी सामुदायिक वन, कालिगण्डकी सामुदायिक वन, मुकुन्दसेन सामुदायिक वन र भेडाबारी सामुदायिक वन समेट्छ । यो भनेको पदमार्ग करिब १३ देखि १५ किमिको रहने छ । हावाको दूरी भने ९.७५ किमि रहेको छ ।
असार मसान्तभित्र पदमार्ग निर्माण गरिसक्ने हामीले लक्ष्य लिएका छौं । यो पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालयअन्तर्गत १० लाख छुटिएको छ । सोहीअनुरुप गर्दैछौं तर अहिले हामीले तत्काल करिब १८ लाखको स्टिमेट गरेका छौं । प्रदेशबाट छुटिएको बजेटले यो पदमार्गले पूर्णता पाउन गाह्रो छ तर हामीले अन्य रकम तत्कालका लागि जति पनि जोडिएका सामुदायिक वन छन् यिनै वनबाट पूर्ति गर्ने गरी छलफल अघि बढाएका छौं । तपसिलका वनबाट करिब ८ लाख जुटाउने भन्ने छ । पदमार्गले पूर्णता पाएसँगै सर्वप्रथम त यहाँ रहेका वनहरुको गस्ती कार्यलाई सहयोग पुग्ने छ । जंगलमा हुनसक्ने आगलागी नियन्त्रणका लागि फायरल्यान्ड निर्माण हुने छ । पदमार्ग निर्माण भएसँगै पर्यटक आगमन हुने छ । यसले यहाँ रहेको सामुदायिक वनहरुबीच कार्यगत एकता कायम गर्ने छ भने सहकार्य गरेर अघि वढ्दा वन संरक्षणमा सहयोग पुग्ने छ । त्यति मात्र नभई वन पैदावार निकासीमा पनि यो पदमार्गले सहयोग पुग्ने विश्वास लिएका छौं । यहाँका ऐतिहासिक पुराताŒिवक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै एक अर्कामा सम्बन्ध विस्तार हुने छ ।
यहाँ सम्भावनामात्रै होइन केही चुनौती पनि छन् । यहाँ रहेका वन पैदावार चोरी निकासी हुने डर छ । त्यस्तै वन्यजन्तु, चराचुरुङगी जडिबुटी संरक्षणमा चुनौती देखिन्छ । यसलाई व्यवस्थित गर्दै वन वातावरणको संरक्षण गर्दै अघि बढ्ने प्रणका साथ लागेका छौं ।
अर्को कुरा सामान्य हिँड्ने व्यक्तिलाई मौलाकालिकादेखि मुकुन्दसेन दरबारसम्म ६ घण्टा लाग्छ । हामीजस्तो हिँडिरहने मान्छे ४ घण्टामा पुग्छौँ तर जो कोही सो बाटो भएर पुनः फर्कने सम्भावना कम छ । मुकुन्दसेन दरबार नजिकै उत्तरतर्फ करिब २ सय मिटरको दूरी वस्ती रहेको छ । ५ घर रहेको यस स्थानमा होमस्टेको सम्भावना रहेको छ भने फर्कन चाहने व्यक्ति मुकुन्दसेन दरबारबाट दक्षिण भेडाबारीको चुवाडी म्म पैदलपछि गाडीमा फर्कन सक्ने छन् । भोलिका दिनमा यसलाई व्यवस्थित गर्दै अघि बढ्ने सोचका साथ कार्य अगाडि बढाइएको छ । यसको सञ्चालनका विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । पदमार्गलाई नयाँ आयामका रुपमा लिएका छौँ ।
(विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर, विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीसँगको कुराकानीमा आधारित)

Share.

Leave A Reply