गैंडाकोट १ को तेस्रो वडा भेला सम्पन्न /८५ प्रतिशत योजना सकिए

0

२५, जेठ, गैडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १ मा आर्थिक वर्ष २०७६÷०७७ को योजना तथा कार्यक्रम सम्बन्धी तेस्रो वडा भेला सम्पन्न भएको छ ।
बालमैत्री स्थानिय शासनलाई अवलम्बन गरेको वडाले बाल कार्यक्रमलाई प्राथमिकता दिएको छ । धार्मिक पर्यटकिय गुरुयोजना निर्माण गर्दै अघि वढ्ने योजना अघि सारेको छ । वडाको प्रगति तथा योजनाका विषयमा जानकारी गराउँदै वडा अध्यक्ष हरीप्रसाद सापकोटाले बन्यजन्तुबाट हुने क्षति रोक्नका लागि तारबारका लागि पहल गरिने बताउनुभयो ।

भल तथा ढल निर्माण गर्न आवश्यक क्षेत्रहरु प्राविधिक सर्वेक्षण गरि हरेक वर्ष एउटा योजनालाई अघि सार्ने बताउनुभयो । त्यस्तै स्वास्थ्य चौकीका लागि जग्गा व्यवस्थापनदेखी लिएर टोल विकास संस्थाहरुबाट प्राथमिकिरण गरी प्राप्त योजनाका आधारमा वडा स्तरिय योजना छनोट गरिने उहाँले बताउनुभयो ।
वडा अध्यक्ष हरिप्रसाद सापकोटाले आर्थिक वर्ष २०७५÷०७६ मा वडामा प्रदेश, नगर र वडाबाट गरि ३ करोड ११ लाख ६० हजार ५ सय बराबरका योजनाहरु कार्यान्वयनका चरणमा रहेको बताउनुभयो । साथै उहाँले वडास्तरिय योजनाबाट सञ्चालित ८५ प्रतिशत योजना सम्पन्न भएका बताउँदै १४ प्रतिशत कार्य सञ्चालन भईरहेको र १ प्रतिशत कार्य शुरु हुन बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले आगामी वर्ष नगर स्तरबाट उत्पादनमुलक कार्यक्रम ल्याउने बताउनुभयो । एक वडा एक खेलमैदान लगायतका अवधारणा अघि सार्दै उज्यालो नगर बनाउन विजुली नपुगेका स्थानमा विजुली पु¥याउने गरि योजना अघि सारिएको बताउनुभयो । पार्टीका कुरा सुन्नुभन्दा पनि सबै जनप्रतिनिधी नगरको विकासका लागि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले एक योजना १० लाख भन्दा माथीका योजना ल्याउन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेलले सुखी नेपाली र समृद्ध नेपालको नारालाई पुरा गर्न आधारभुत आवश्यकता पुरा गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । उहाँले टोल टोलबाट योजना छनोट गरि प्राथमिकिकरण गरेर आवश्यकताका आधारमा ल्याउन सुझाव दिनुभयो । वडा र नगरले गरेर मात्रै विकास असम्भव रहेको जनाउँदै उहाँले विकासका कार्यमा सवैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानियले आ–आफ्नो वडामा रहेका समस्याका विषयमा उठान गरेका थिए । उनिहरुले विशेष गरि विकास निर्माणका कार्यलाई अघि सारेका थिए । महिला शसक्तीकरणका साथै लक्षित वर्गका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्ने बताएका थिए । श्री हरे राम हरे कृष्ण मन्दिरको सभाहलमा भएको वडा भेलामा वडा सदस्य सिता सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडाका विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply