गैंडाकोट प्रहरी प्रमुख जिसी अख्तियारको हिरासतमा, १० लाख घुस लिएको आरोप

0

 

गैंडाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई अनुसन्धानको दायरामा लिएको छ । सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जिसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएको र १० लाख रुपैयाँ घुस लिएको आरोपमा हिरासतमा लिइएको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले मंगलबार पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको छ । हाल उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगालमा राखिएको छ ।

 

घटनाका विषयमा अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका सह सचिव एवं प्रवक्ता प्रदिप कुमार कोइरालाले पक्राउ पुर्जी थमाइएको तर अहिले नै यस विषयमा बोल्न नमिल्ने बताउनुभयो ।

 

उनीविरुद्ध १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेको थियो । सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जीसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएको जनाईएको छ । घटनाको विषयलाई लिएर निरीक्षक जिसीले उल्टै पीडित पक्षलाई हप्कीदप्की समेत गरेको बताइएको छ । गत बैशाख ११ गते गैंडाकोटमा भएको दुर्घटनामा उनले नक्कली चालक खडा गरेको उल्लेख छ ।

 

व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । आफु जेलबाट बच्न उनले किसनु महतोलाई चालकका रुपमा खडा गरेको जनाईएको छ । नक्कली चालक खडा गरेवापत उनले १० लाख रुपैयाँ घुस लिएको जनाईएको छ । यससम्बन्धि उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको हो ।

 

यता ईलाका प्रहरी कार्यालय गैंडाकोटले भने जिसी कामको सिलसिलामा काठमाडौंमा रहेको जनाएको छ । घटनाका विषयमा आफुलाई थाहा नभएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी सहायक निरिक्षक दामोदर भट्टराईले बताउनुभयो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले पनि यस विषयमा बुझ्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

Share.

Leave A Reply