गैंडाकोटमा पदमार्ग खुल्यो

0

कमला चापागाई
गैंडाकोट । नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लामा नै पहिलो पटक पर्यटकीय पदमार्ग निमार्ण कार्यको शुभारम्भ गरिएको छ ।
ऐतिहासिक, धार्मीक एवम् पर्यटकीय स्थल मौलाकालिका मन्दिर र भग्नावशेष ऐतिहासिक स्थल मुकुन्दसेन दरबार जोड्ने गरि पर्यटकीय पदमार्गको शुभारम्भ गरिएको हो । आइतबार जयश्री सामुदायिक वन उपभोक्ता समूहको रानीताल क्षेत्रमा गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलले संयुक्तरुपमा पदमार्गको शुभारम्भ गर्नुभएको हो । नगर प्रमुख पौडेलले वेल्चा र नगर उपप्रमुख कंडेलले खन्तीले खनेर पदमार्गको शुभारम्भ गर्नुभएको हो ।

२ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको पदमार्गले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । पदमार्ग तत्कालका लागि मौलाकालिकादेखि मुकुन्दसेन दरवारसम्म १३ देखि १५ किलोमिटर रहने जनाइएको छ ।
मौलाकालिका मन्दिरदेखि गैंडाकोट ४ को तुलेडाँडा, जयश्री खोला तरेपछि तात्रीबासबाट उकालो लागेपछि छथुम डाँडा निक्लिएर डाँडैडाँडा हुँदै मुकुन्दसेन दरबारको भग्नावशेष क्षेत्र पुग्ने गरी पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्गले वनहरुमा गस्ती गर्न सहज हुने छ भने आगलागी नियन्त्रणका लागि फायरल्यान्ड निर्माण हुने छ । सामुदायिक वनहरुबीचको सम्बन्ध स्थापनासँगै वन पैदावार निकासीमा सहयोग पुग्ने छ ।


मौलाकालिका मुकुन्दसेन दरवार भग्नावशेष पर्यटकीय पदमार्ग निर्माण समितिका अध्यक्ष काशीनाथ कंडेलले अध्ययनपश्चात् पर्या–पर्यटनको राम्रो सम्भावना देखिएकाले पदमार्ग निर्माण कार्य शुभारम्भ गरिएको बताउनुभयो । उहाँले मौलाकालिका मन्दिरदेखि कैलाश सन्न्यास आश्रम हुँदै देवघाटसम्मको पैदल मार्ग बनाउन सकेमा पर्यटनको आगमनसँगै आम्दानी पनि गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैँडाकोट पर्यटनको राम्रो सम्भावना बोकेको ठाउँ भएको बताउँदै यस पदमार्गले आन्तरिक पर्यटक वृद्धि हुने विस्वास व्यक्त गर्नुभयो । उहाँले मुकुन्दसेन दरबारदेखि कैलाश सन्न्यास आश्रमसम्म प्याराग्लाइडिङको सम्भावना पनि रहेकाले नीजि क्षेत्रबाट गर्न खोजे सहयोग गर्ने बताउनुभयो । यसले भोलिका दिनमा गैँडाकोटको विकास कार्यसँगै पर्यटकको आगमनमा समेत वृद्धि गराउन सकिने उहाँको भनाइ थियो ।


कार्यक्रममा बोल्दै उपप्रमुख विष्णुकुमारी कंडेलले अहिले पर्यटकको मुख्य रोजाइ नै पैदलमार्ग हुने भएकाले मौलाकालिका मन्दिरदेखि मुकुन्दसेन दरबारसम्म पदमार्ग निर्माण कार्यको थालनी हुनु गैँडाकोटको गौरवको विषय भएको बताउनुभयो । साथै उहाँले इतिहास बोकेका गैंडाकोट क्षेत्रका यी स्थानहरुको संरक्षणसँगै विकास गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा मौलाकालिका मुकुन्दसेन दरबार पर्यटकीय पैदलमार्ग निमार्ण समितिका सचिव उमा पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम मौलाकालिका मुकुन्दसेन दरबार पर्यटकीय पैदल मार्ग निमार्ण समितिका अध्यक्ष काशीनाथ कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply