गैँडाकोट १५ को वडा भेला सम्पन्न/तटबन्धलाई प्राथमिकता राख्न सुझाव

0


२७ जेठ, गैडाकोट ।  गैँडाकोट नगरपालिका वडा नम्बर १५ ले सोमबार वडा भेला सम्पन गरेको छ । आगामि आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा योजना तर्जुमा कार्यक्रममा बोल्दै गँैडाकोट नगरप्रमुख छत्रराज पौडेलले झराई खोलाको तटबन्धलाई विशेष प्राथमिकता दिन सुझाब दिनुभयो । नगरप्रमुख पौडेलले अबको बजेट उत्पादनमुखी कामलाई प्रवद्र्धन गर्ने खालको हुनुपर्ने बताउनुभयोे ।

गँैडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले वडामा रहेका समस्याहरुमध्ये पनि कुन समस्यालाई पहिलो प्राथमिकता दिने भनेर योजना छनोट प्रक्रियामा गएर काम सुरु गनुपर्ने बताउनुभयो । नीति तथा योजना छनोट कार्यक्रममा स्थानीयले विकासको कार्यलाई गति दिनुपर्ने बताएका छन् । उनीहरुले उत्पादनमुखी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

उनीहरुले बाटो, ढल निर्माण, शिक्षा र तटबन्धलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेका थिए । उनीहरुको महŒवाकांक्षी कार्यक्रमका लागि ८० करोड ४० लाख २५ हजार बराबरको बजेट आवश्यक हुने देखिन्छ । यसअघि सो वडाका लागि वडास्तरीय बजेट ५० लाख विनियोजन भएको थियो । कार्यक्रममा वडा अध्यक्ष रामकुमार श्रेष्ठले सम्पूर्ण समस्यालाई सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो । उहाँले समस्यालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी छनोट गरेर कार्य सुरु गरिने बताउनुभयो । नगरकार्यपालिका सदस्य कान्तिमाया पुरीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सहजीकरण वडा सचिव इन्द्रप्रसाद काफ्लेले गर्नुभएको थियो ।

गैँडाकोट नगरपालिका वडा नम्बर १५ को यस आर्थिक वर्षको बजेट हेर्ने हो भने बाटो निर्माणका लागि करिब २६ लाख, सिचाइका लागि करिब ११ लाख, भौतिक भवन र विद्यालयका लागि करिब ७ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । यस आर्थिक वर्षमा सचेतना र आय आर्जनका क्षेत्रमा भने वडाले खासै चासो दिएको देखिँदैन । यसका लागि वडाले सचेतनामूलक कार्यक्रमका लागि ५० हजार र आय आर्जनका लागि १ लाख ५० हजार मात्रै विनियोजन गरेको थियो । आय आर्जनका क्षेत्रमा वडाको कम चासोप्रति भने स्थानीय असन्तुष्ट देखिएका छन् । स्थानीय चक्रपाणि खनालले भन्नुभयो –“यस वडामा आयमूलक कार्यक्रम ल्याउन आवश्यक छ ।” खोलाको किनारामा सुकुम्बासी धेरै छन् तर सरकारले यही आयमूलक क्षेत्रमा कम लगानी गरेको खनालको गुनासो छ ।

अर्की स्थानीय मालती आचार्यले पनि वडामा सीपमूलक र उत्पादनमुखी कार्यक्रमको आवश्यकता भएको बताउनुभयो ।
समृद्ध नगर बनाउने नारा चलिरहँदा बाटो र भौतिक संरचनामा मात्र लगानी गरेर समृद्धि सम्भव नहुने स्थानीयको बुझाइ छ । उत्पादनमूलक क्षेत्रमा पनि सरकारले जोड दिनुपर्ने स्थानीय गोपी कंडेल बताउनुहुन्छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले अघिल्लो वर्ष पनि सचेतना र आय आर्जनका लागि धेरै कार्यक्रमहरु गरेको दाबी गर्नुभयो । वडास्तरीय बजेटबाट डेढलाख मात्र विनियोजन भएको देखिन्छ । आगामी आर्थिक वर्ष आय आर्जनअन्तर्गत कृषिमा लगानी गर्ने बताउनुभयो । गैंडाकोट १५ मा सिंचाइको समस्या रहेको र त्यसका लागि पहिले नै २ वटा अधुरो बोरिङ रहेको र अब त्यसमा ३ वटा वोरिङ थप गरेर कृषिलाई प्रोत्साहन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो  ।

Share.

Leave A Reply