गण्डकी प्रदेश:विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

0

२१ जेठ । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको छ । प्रदेशसभामा यसअघि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको विनियोजक विधेयकका सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा प्रदेश सदस्यले जनभावनाअनुरुप बजेट आउनुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले विगतको वर्ष आधार निर्माणको वर्ष भएकाले यसबीचमा विभिन्न ऐन कानून एवं आवश्यक पूर्वाधार निर्माण अघि बढेका कारण अब विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । पलायन भएका युवालाई स्वदेशमा नै आकर्षित गर्ने गरी नीति तथा कार्यक्रम एवं बजेट आउने विश्वास व्यक्त गर्दै उहाँले गाउँ र पिछडिएका बस्तीलाई हेरेर कार्यक्रम तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य मणिभद्र शर्माले उत्पादनलाई प्राथमिकतामा राख्ने गरी बजेट आउनुपर्ने धारणा राख्दै अनावश्यक बजेट छर्नभन्दा प्रदेशको गौरवका आयोजना तयार गरेर अघि बढ्न सुझाव दिनुभयो । प्रदेशसभा सदस्य हरिशरण आचार्यले विगतमा समन्यायिक वितरण भनिए पनि विभेद गर्ने गरिएको उल्लेख गर्दै सबैको भावनालाई समेट्दै नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने धारणा राख्नुभयो ।

आजको बैठकमा प्रदेशसभा सदस्य आशा कोइराला, रामजीप्रसाद बराल ९जीवन०, दीपक कोइरालालगायतले परिवर्तनमा योगदान गर्ने शहीद, बेपत्ता परिवारलाई नीति तथा कार्यक्रम एवं बजेटमा बिर्सन नहुनेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, विष्णुप्रसाद लामिछाने, मनकुमारी गुरुङलगायतले बजेट कहाँबाट ल्याउने, आयआर्जनको स्रोत के हो लगायतका विषयसमेत खुल्ने गरी बजेट आउनुपर्नेमा सुझाव दिनुभयो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले प्रदेशको आगामी आर्थिक वर्षको बजेट रु ३० देखि ३४ अर्ब बीचमा आउने जानकारी दिनुभयो । समन्यायिक रुपमा बजेट आउने उल्लेख गर्दै उहाँले सीमित साधन स्रोत भएका कारण त्यसलाई सकेसम्म सबै क्षेत्र समेट्ने गरी वितरण गरिने बताउनुभयो । अर्को बैठक बुधबार दिनको ३ बजे बस्ने छ ।

Share.

Leave A Reply