गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक । बहुआयामिक गरिबी ७ प्रतिशतमा झार्ने, नवलपुरलाई के के कुराले ग¥यो सम्बोधन ?

0

श्रीधर उपाध्याय,२४ जेष्ठ ।  गण्डकी प्रदेशले चार वर्षभित्र बहुआयामिक गरिबी १४ दशमबल २ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने लक्ष्य प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै प्रदेशले आर्थिक वृद्धिदर १० दशमलब २ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको छ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पञ्चवर्षिय योजनाको आधारपत्र तयार भएको बताउनुभएको छ । गण्डकी प्रदेशले प्रदेशको विकास र समृद्धिका लागि अल्पकालिन लक्ष्य २०८१,  मध्यकालिन लक्ष्य २०८७ र दीर्घकालिन लक्ष्य २१०० निर्धारण गरेको छ ।

यसैगरी गण्डकी प्रदेशले प्रदेशलाई पर्यटकीय हबको रुपमा विकास गर्ने जनाएको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम गरेको प्रदेश सरकारले २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष, २०२२ लाई अन्तर्राष्टिय पर्यटन वर्ष अभियानका रुपमा अघि बढाउने बताएको छ । सन. २०२२ सम्ममा बीस लाख पर्यटक भित्राउने लक्ष्य अनुरुप अघि बढ्ने जनाइएको छ । मुस्ताङ, मनाङ र उत्तरी गोरखालाई फिल्म सिटीको रुपमा विकास गर्ने नीति अघि बढाउने बताएको छ । बाली पशुपंक्षि तथा मत्स्य पकेट क्षेत्र विकासका लागि एक वडा एक नमुना व्यवसायिक कार्यक्रम र एक पालिका एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गण्डकी प्रदेशको एक घर एक धारा कार्यक्रम अन्तर्गत हालसम्म ८ हजार ५ सय ७ घरधुरीमा धारा जडान गरिएको समेत बताइएको छ ।

गण्डकी प्रदेश उज्यालो प्रदेश घोषणा गर्ने सरकारको नीति अनुरुप सबै स्थानमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुर्याउने घोषणा समेत गरिएको छ । गोरखा, नवलपुर, लमजुङ, मनाङ, तनहुँ, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाका राष्ट्रिय प्रसारण लाइन नजोडिएका क्षेत्रमा विद्युत विस्तार गर्नका लागि विद्युत प्राधिकरणसंग सम्झौता कार्य अघि बढेको जनाइएको छ ।

चालु आर्थिक वर्षभित्र नवलपुरका स्थानीय तहको सिमाना अद्यावधिक गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशले आगामी दुई वर्षभित्र प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने, आगामी तीन वर्षभित्र नवलपुरमा जिल्ला अस्पताल बनाउने र मृगौला रोगीको डायलिस सेवा उपलब्ध गराउने, नवलपुरका अस्पतालमा सर्पदंशको उपचार सेवा विस्तार गरिने, मध्यविन्दु जिल्ला अस्पतालमा राजमार्ग घुम्ति अस्पताल सेवा प्रदान गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Share.

Leave A Reply