आशाको किरण, भुजेल गाउँमा विद्यालय

0


पवित्रा पराजुली
गैंडाकोट । एक घण्टाको बाटो । उकालो ओरालो । यही भिरालो बाटो हुँदै कष्टकर यात्रासहित गाउँभन्दा टाढाको विद्यालय पुग्नुपर्ने बाध्यता । गैंडाकोट ३ भुजेल गाउँका बालबालिकाको तीतो यथार्थ हो यो ।
विद्यालय गएर शिक्षा आर्जन गर्न पाउनु हरेक व्यक्तिको आवश्यकतासँगै उसको मौलिक हक पनि हो तर यही अधिकार प्राप्त गर्न गैंडाकोट ३ भुजेल गाउँका बालबालिका १ घण्टाको बाटो हिँडेर विद्यालय जान्छन् । गाउँमा विद्यालय छैन् । त्यसैले पनि जङ्गलको बाटो हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ तर अब भने दुःख अन्त्य हुने देखिएको छ । गाउँमा नै विद्यालय बनेपछि केही आशाको किरण देखिएको छ ।
यहाँका बालबालिका १ घण्टाको बाटो हिँडेर ढोडेनीमा रहेको विद्यालयसम्म जान बाध्य थिए । तर अहिले भने आफ्नै ठाउँमा विद्यालय बन्दै गरेपछि बालबालिका खुसी छन् ।
गैंडाकोट ३ की शान्तिकुमारी भुजेलले ५ वर्षभन्दा माथिका बालबालिका विद्यालय गए पनि अरु बालबालिका भने गाउँमा माटो खेलाएर बस्ने गरेको गुनासो गर्नुभयो ।


जुन समाजका मानिस शिक्षित हुन्छन् पक्कै पनि त्यहाँको समाज सभ्य र सुन्दर हुने कुरामा दुई मत छैन । शिक्षाका साथै विकासको गतिमा पनि अगाडि हुन्छन् । स्थानीय सुस्मा भुजेल भन्नुहुन्छ– “गाउँमा विद्यालय नहँुदा धेरै बालबालिका शिक्षाबाट वञ्चित हुन परेको छ । टाढा दुःख पाएर पढ्न जान बाध्य छन् । गाउँमा विद्यालय बने बालबालिकालाई सहज हुन्छ ।”
अब भने स्थानीयको यो इच्छा र चाहाना पूरा हुने भएको छ । कावासोतीको हसौरामा रहेको कुमारी निजी शैक्षिक गुठीले भुजेल गाउँमा प्राथमिक विद्यालय बनाएको छ । नगरपालिकाभित्र पनि बालबालिकालाई पढाइका लागि यति धेरै समस्या र पढ्नबाट वञ्चित भएको देखेपछि गुठीले विद्यालय बनाउन पहल गरेको हो । सबै बालबालिका शिक्षित होउन् भन्ने उद्देश्यले विद्यालय बनाएको कुमारी निजी शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दीपकलाल श्रेष्ठले बताउनुभयो ।
करिब १७ लाखको लगानीमा बनेकोे यस प्रस्तावित जुना प्राथमिक विद्यालयमा कक्षा ३ सम्म पढाइ सञ्चालन हुने गरी तयारी अघि बढाइएको छ । ५ कोठाको यस विद्यालयमा भुजेल गाउँका १५० बालबालिका लाभान्वित हुनेछन् । भौतिक संरचना पूरा भइसकेको र अब केही काम बाँकी रहेको बताउँदै यो वर्षायाम भन्दा अगाढी नै विद्यालय स्थानीयलाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको श्रेष्ठले बताउनुभयो ।
गैंडाकोट ३ को भुजेल गाउँमा बन्न लागेको यस विद्यालयमा यहाँका बालबालिका लाभान्वित हुने छन् । शिक्षाबाट कोही वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन गर्न लागिएको विद्यालयलाई वडा कार्यालयले पनि सहयोग गरेको छ । तत्काल आर्थिक सहयोगभन्दा पनि आवश्यक अन्य सहयोग जुटाइएको वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो ।
हाल गुठीमार्फत निर्माण गरिए पनि उहाँले नगरपालिका तहबाट नै यस विद्यालय सञ्चालनका लागि पहल भइरहेको बताउनुभयो ।
जनजाति समुदाय र स्थानीयको सहयोगमा विद्यालय बने पनि स्वीकृत प्राप्त गरिसकेको छैन । सो कार्यका लागि वडाले आवश्यक सहयोग र पहल गरिरहेको उहाँको भनाइ छ । स्वीकृत प्राप्त नभए पनि वडाकै विद्यालयअन्तर्गत शाखा विद्यालयका रुपमा भए पनि सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो । भुजेल गाउँका बालबालिकालाई गाउँमा नै पढ्न पाउने गरी वातावरणको सृजना गरिने उहाँको भनाइ छ ।

Share.

Leave A Reply