नेपालीय आद्य जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजीको जीवन–वृतान्त

0


श्रीकमलनयनमहादेशिकाय नमः

१.विषय प्रवेश

भगवान्को लीलाविभूति यस धराधाममा समय–समयमा सुकृत महात्माहरूको अवतरण हुने गर्दछ । सांसारिक प्रपञ्चमा निमग्न रहने जीवात्माको उद्धारका निम्ति महापुरुषहरूको जन्म हुने गर्दछ । महापुरुषहरू विलक्षण व्यवहारबाट आफ्नो दिव्यजन्मको परिचय दिनुहुन्छ । संयमित जीवनपद्धति, त्याग, उदात्त विचार, ईश्वरमा समर्पण, सेवा एवं परोपकार जस्ता दैवी गुणहरूले महापुरुषहरूको पहिचान पृथक् देखिन्छ ।
हिमाली राष्ट्र नेपालमा मेची, कनकाई, कोशी, गण्डकी, भेरी, कर्णाली जस्ता अनेक स्रोतस्विनी पवित्र नदीहरूले अनादि कालदेखि आफ्नो पावन जलले सिञ्चन गर्दै यहाँको जनजीवनलाई आनन्दित तुल्याउँदै छन् । यसरी नै प्राकृतिक स्रोतले महनीय यस पावन भूमिमा विभिन्न सम्प्रदायका आचार्यहरूको जन्म भएको छ र ती आचार्यहरूको धार्मिक तथा दार्शनिक चिन्तनले नेपालभूमि सधँै धार्मिक सहिष्णु, सदाचार–सम्पन्न तथा कर्मठ चरित्रले भरिपूर्ण देखिन्छ । तिनै महापुरुषहरू मध्ये श्रीवैष्णव सम्प्रदाय (रामानुजसम्प्रदाय)मा सन्तशिरोमणि, योगिराज श्रीकमलनयनाचार्यको प्रादुर्भाव भएको छ । विक्रमको बिसौं शताब्दीको प्रारम्भतिर जन्म भएर एक्काइसौं शताब्दीको मध्यसम्म निरन्तर तपस्या, यज्ञानुष्ठान, शिक्षा, दीक्षा, तीर्थाटन एवं धार्मिक–प्रवचन आदिका माध्यमबाट नेपाली समाजमा चेतनाको उत्थान गर्ने योगिराज श्रीकमलनयनाचार्य स्वामीज्यूको जीवनी, व्यक्तित्व, शिक्षा, दीक्षा एवं समाजसेवाका विभिन्न पक्षहरू अहिलेसम्म पर्याप्त उद्घाटन हुन बाँकी नै रहेका छन् । उहाँ नेपालमा मात्र नभएर नेपालीहरूको बसोवास भएका भूटान, सिक्किम, आसाम आदि क्षेत्रमा गएर तत्कालीन समयमा अध्यात्मको दियो जलाउने एक विशिष्ट महानुभाव
हुनुहुन्थ्यो ।
उहाँका शिष्य–प्रशिष्यहरू नेपाल, भूटान र भारतका आसाम, सिक्किम आदि क्षेत्रमा लाखौं सङ्ख्यामा पाइनुहुन्छ । पछिल्लो अवधिमा विश्वग्राम साँगुरिँदै जाँदा अमेरिका, क्यानाडा, अस्टे«लिया आदि पश्चिमी मुलुकहरूमा पनि श्रीस्वामीज्यूका शिष्यहरू विभिन्न व्यवसायमा संलग्न रहेर छरिनु भएको छ ।

नेपाल, भूटान र भारतका नेपाली समाजमा विशिष्टाद्वैत सिद्धान्त (रामानुज सम्प्रदाय)लाई प्रचार–प्रसार गर्ने योगिराज स्वामीज्यूका सान्निध्यमा रहेर शिक्षा–दीक्षा ग्रहण गर्ने अनेक आचार्यहरू अहिले पनि यस सम्प्रदायको प्रचार–प्रसार तथा सम्वद्र्धन एवं विकासका निम्ति क्रियाशील हुनुहुन्छ । यस संक्षिप्त लेखमा श्रद्धेय स्वामीज्यूका जीवनीसम्बन्धी सूचना, उहाँका व्यक्तित्वका विभिन्न आयामहरू, उहाँले सामाजिक धार्मिक क्षेत्रमा पु¥याउनु भएको योगदान र स्वामीज्यूले प्रदान गर्नु भएका कर्ममार्ग, ज्ञानमार्ग एवं उपासनामार्ग सम्बन्धी अनुकरणीय पक्षलाई प्रकाश पार्ने प्रयास गरिएको छ ।

२.जन्म र नामकरण संस्कार
पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत इलामको नामसालिङ भन्ने सुरम्य ठाउँमा वि.सं. १९२५ सालको भाद्र महिना, दशमी तिथि आद्र्रा नक्षत्रले युक्त आइतबारका दिन स्वामीज्यू यस धराधाममा अवतीर्ण हुनुभएको हो । स्वामीज्यू कौशिक–गोत्रीय रिमाल परिवारमा जन्मनु भएको हो । कौशिक कुलभूषण स्वामीज्यूलाई जन्म दिने भाग्यमानी पिता मोतिखर(मुक्तिनाथ) रिमाल र माता यशोदा रिमाल हुनुहुन्थ्यो । स्वामीज्यूको जन्मदिवसलाई उहाँका शिष्यहरूले यसरी स्मरण गर्नुहुन्छ—
भाद्रमासे शुभे कृष्णे दशम्यां रविवासरे ।
आर्द्राभे भुवि जाताय कमलाक्षाय मङ्गलम् ।।
(भाद्र महिना, कृष्णपक्ष, दशमी तिथि, आइतवार आर्द्रा नक्षत्रका दिन पृथिवीमा अवतरण हुनु भएका कमलनयन स्वामीज्यूको मङ्गल होस् ) ।
मुक्तिनाथ रिमाल यजुर्वेद शाखाध्यायी कर्मनिष्ठ ब्राह्मण हुनुहुन्थ्यो । अतः उहाँले वैदिक–संस्कार अनुरूप पुत्रको नामकरण गर्नुभयो । जन्मनक्षत्र आद्र्रा अनुसार नामको आदि अक्षर कु बाट जुरे पनि बोलाउनका लागि पुत्रको नाम काशीनाथ रहन पुग्यो । पुरोहितद्वारा विधिवत् नामकरण संस्कार सम्पन्न भएपछि बालक काशीनाथ सुशील, उज्ज्वल एवं सर्वलक्षण सम्पन्न हुँदै हुर्किनुभयो । वहाँ बालक नै भविष्यमा गएर योगिराज कमलनयनाचार्यका रूपमा परिचित हुनु भएको हो ।

३. उपनयन संस्कार र शिक्षारम्भ
वैदिक संस्कार अनुसार उपनयन–संस्कार शिक्षारम्भ गर्ने प्रवेशद्वार हो । जन्मलाई परिशुद्धि गर्ने र द्विजत्व प्राप्त गर्ने संस्कारका रूपमा उपनयन संस्कारलाई लिइन्छ । योगिराज कमलनयनाचार्य स्वामीज्यूको कूल परम्परा अनुसार नै आठ वर्षको उमेरमा विधिवत् यज्ञोपवीत (जनै धारण गर्ने) संस्कार सम्पन्न भयो । यसपछि वहाँलाई शिक्षा–दीक्षाको मार्ग प्रशस्त हुनपुग्यो । घरमा आफ्ना पिताबाट नै वेदको अध्ययन प्रारम्भ भयो । ब्राह्मणेन निष्कारणो षडङ्गो वेदोऽध्येयो ज्ञेयश्च भन्ने आप्त वचन अनुसार छ अङ्गले युक्त वेदको अध्ययनमा उहाँको गम्भीर रुचि बढ्दै गएको देखिन्छ । उत्तरीय कान्यकुब्ज ब्राह्मणहरूले पठन–पाठन गर्ने परम्परा अनुसार चार संहिताहरूमा दोस्रो संहिताका रूपमा रहेको यजुर्वेदका दुई शाखाहरू शुक्ल–यजुर्वेद र कृष्ण—यजुर्वेद मध्ये पहिलो शुक्लयजुर्वेदको अध्ययनबाट स्वामीज्यूको शिक्षा प्रारम्भ हुन पुग्यो । यज्ञ कर्ममा उत्प्रेरित गर्ने यजुर्वेदको अध्ययनबाट स्वामीज्यूमा यज्ञकर्मप्रधान जीवन निर्माण गर्ने आधार बनेको देखिन्छ ।
केही वर्षसम्म घरमा नै अध्ययन गरेपछि शास्त्रीय अध्ययनको मूल आधार भएको व्याकरण शास्त्रको अध्ययनार्थ स्वामीज्यू दिङ्लामा रहनुहुने तपोनिष्ठ बालागुरु षडानन्दसंग पुग्नुभयो । पिता मुक्तिनाथ रिमाल स्वयंले आफ्नो पुत्रमा देखिएको ज्ञानबुभुक्षा एवं तत्परतालाई अनुभव गरेर भोजपुर दिङ्लामा भर्खर स्थापित भएको संस्कृत पाठशालामा पु¥याएर उच्च शिक्षातर्पm उत्प्रेरित गर्नु भएको हो । आबाल ब्रह्मचारी षडानन्द गुरुज्यूबाट व्याकरण शास्त्रमात्र नभएर उहाँको योग, तपोबल एवं त्यागपूर्ण जीवनशैली समेत स्वामीज्यूले ग्रहण गर्नुभएको देखिन्छ । चार वर्षसम्म स्वामीज्यूले बालागुरु षडानन्दका सान्निध्यमा रहेर वेद, कर्मकाण्ड र व्याकरण शास्त्र अध्ययन गर्नुभयो । तेजस्वी छात्र पाएर बालागुरुले बाँकी शास्त्रको अध्ययन गर्ने आशीर्वाद प्रदान गर्नुभयो, जुन स्वामीज्यूको भावी जीवनको एक गहन आधारशिला बनेको देखिन्छ ।

 

४. उच्च शिक्षा र देशाटन

श्रीयोगिराज स्वामीज्यूको उच्च शिक्षाको पृष्ठभूमि बालागुरु षडानन्द गुरुको सन्निधिमा नै बनिसकेको थियो र त्यसलाई अझ विकास गर्नका निम्ति उहाँ भारतको अयोध्या नगरी पुग्नुभयो । अयोध्यामा रहेर स्वामीज्यूले वेदान्त दर्शनको अध्ययनमा आपूmलाई दत्तचित्त गराउनु भएको देखिन्छ । वेदान्त दर्शनको अध्ययनले स्वामीज्यूमा आत्मा, परमात्मा, प्रकृति, विद्या, अविद्या जस्ता गहन दार्शनिक विषयमा गम्भीर रुचि निर्माण गरेको पाइन्छ । केही समय अयोध्यामा नै अध्ययन गरी भगवान् श्रीकृष्णको लीलाभूमि श्रीवृन्दावनधाममा पुगी स्वामीज्यूले पौरस्त्य वाङ्मयको गम्भीर पुराणतिलक श्रीमद्भागवत ग्रन्थको अध्ययन गर्नुभयो । यसरी अध्ययन गर्ने क्रममा स्वामीज्यूमा पूर्वीय भक्तिपरक ग्रन्थहरूले गम्भीर प्रभाव पारेको देखिन्छ भने यसबाट वहाँमा आजीवन ब्रह्मविद्याको खोजी, अनुशीलन र प्रचार–प्रसार गर्ने सङ्कल्प जागृत भएको देखिन्छ । योगिराज स्वामीज्यू पौरस्त्य वाङ्मयका विभिन्न ग्रन्थहरूको अनुशीलन गर्दै भारतीय भूमिका अनेक दिव्यधाम र शिक्षा–दीक्षाका केन्द्रहरू भ्रमण गर्न लाग्नुभयो ।

बालागुरु षडानन्दबाट प्राप्त गरेको शिक्षाको प्रभावले नै स्वामीज्यू आफ्नो गृह जिल्लामा ख्याति प्राप्त भइसक्नु भएको थियो तर अयोध्या, वृन्दावन आदि भारतीय विद्याकेन्द्रहरूबाट प्राप्त ज्ञानलाई प्रचार—प्रसार गर्न वहाँ बेला–बेला नेपाल आउँदै गर्नुभयो । पुराण प्रवचनका माध्यमबाट आफ्नो गृह जिल्लामा भक्तिमार्गको उपदेशबाट सर्वसाधारण जनमानसलाई आह्लादित गर्दै कर्म, ज्ञान, वैराग्य जस्ता पौराणिक मर्मको प्रचार–प्रसारमा स्वामीज्यू संलग्न हुनुभयो । वहाँमा अध्यात्म– साधना गर्ने र परमात्मासँग साक्षात्कार गर्ने जिज्ञासा पूर्ण रूपमा शमन भएको थिएन, त्यसैले आफ्नो जन्मभूमि प्रतिको दायित्व हुँदा हुँदै पनि वहाँ पुनः तीर्थाटनको बाहनाले भारतका अध्यात्मकेन्द्रहरू जगन्नाथपुरी, भूतपुरी, काञ्ची, बद्री, प्रयाग आदि स्थानहरूमा पुग्नुभयो र अध्यात्म दर्शनको मर्म, योगमार्गका विधिहरूलाई आत्मसात् गर्दै एक योगनिष्ठ सन्तका रूपमा स्थापित हुन पुग्नुभयो ।

५. स्वामीज्यूको शारीरिक व्यक्तित्व
श्रीस्वामीज्यूको भौतिक देह करिव ६ फिट उचाइ भएको आकर्षक एवं सुन्दर थियो । सामान्य शारीरिक स्वरूपको उच्च ललाटमा ऊध्र्वपुण्ड्रले सुशोभित दिव्य मुखाकृतिले भक्तहरूको मनलाई सहजै आकर्षण गर्दथ्यो । देहमा ओढेको उत्तरीय वस्त्र शिरसम्म नै रहन्थ्यो र त्यस उत्तरीय वस्त्र समेतलाई वेष्टन गरेको शिरको फेटामा नै स्वामीज्यू बहुधा देखिनुहुन्थ्यो । करिब पाउसम्म पुग्ने कछाड र त्यसमा बेरिएको कटिप्रदेशको गम्छा, हातमा हात्तीसूँढे लौरो टेकेर स्वामीज्यू मन्दिर र विद्यालय परिसरको भ्रमणमा यदा कदा
देखिनुहुन्थ्यो । योगाभ्यासले सधैं एकनास देखिने स्वामीज्यूलाई ४०–५० वर्ष पहिले देख्नेहरू पनि उही र उस्तै दिव्यदेह भएको प्रतिक्रिया व्यक्त गर्छन् । ११७ वर्षको उमेरमा पनि शारीरिक गतिशीलतामा एकनास देखिन्थ्यो । वृद्धावस्थामा पनि स्वामीज्यूका आँखा, कान आदि इन्द्रिय शिथिल थिएनन् । आपूmलाई भेट्न आएका आफ्ना शिष्यहरूले साष्टाङ्ग गरेर छेउमा बसेपछि स्वामीज्यूले चिनिहाल्नु हुन्थ्यो र उद्दीप्त मुखाकृतिले गफगाफ गर्नुहुन्थ्यो ।
आजानुबाहु (घुँडासम्म हात भएका), सुरिला तथा लामा गोडा, केही नुहेको शिर, कमल भैंm नयन, ठूला–ठूला कान, सधैं केही गर्न तत्पर भैंm लाग्ने शारीरिक अवस्था, सुडोल नासिका (नाक) जस्ता शारीरिक वैशिष्ट्य स्वामीज्यूको भौतिक कलेवरमा पाइन्थे । आपूmसंग आएका भक्तहरू र छेउछाउमा आएर बस्ने विद्यार्थीहरूसंगको वार्तालाप स्वामीज्यू चाख दिएर सुन्नुहुन्थ्यो । अरूको कुरालाई धैर्यपूर्वक श्रवण गर्ने र मुस्कुराएर आफ्ना धारणा राख्ने स्वामीज्यूको बानी देखिन्थ्यो । यसरी बाहिरी रूपमा स्वामीज्यूको भौतिक कलेवर दिव्य, आकर्षक र भक्तहरूका निम्ति प्रभावोत्पादक देखिन्थ्यो ।

६. पञ्चसंस्कार (श्रीवैष्णवदीक्षा) ग्रहण
श्रीयोगिराज स्वामीज्यू बालककालदेखि नै पृथक् चरित्रको हुनुहुन्थ्यो, त्यसैले पारिवारिक प्रपञ्च र सांसारिक मोहप्रति उदासीन देखिनुहुन्थ्यो । दिङ्लामा बालागुरु षडानन्दको सान्निध्यमा रहँदादेखि नै स्वामीज्यूमा शैवधर्म र दर्शनको प्रभाव परेको थियो । त्यसै कारण वहाँ शङ्कराचार्यका अनेक पीठहरूमध्ये एक प्रमुख पीठका रूपमा रहेको जगन्नाथपुरीमा पुग्नुभयो । त्यहाँका तात्कालीन शङ्कराचार्यसँग मुक्तिमार्गका बारेमा विचार–विमर्श गर्न लाग्नु भयो । परमात्माको शरणागतिप्रति विशेष रुचि भएका स्वामीज्यूलाई देखेर शङ्कराचार्यले काञ्चीमा गएर श्रीवैष्णवदीक्षा ग्रहण गर्न सल्लाह दिनुभयो । आचार्यको सल्लाह अनुसार नै स्वामीज्यू विष्णुकाञ्ची पुगी विशिष्टाद्वैत श्रीवैष्णव सम्प्रदायमा दीक्षित हुनुभयो ।
श्रीवैष्णव सम्प्रदायका अष्ट गद्दीहरूमध्ये प्रतिवादी भयङ्कर गद्दीका आचार्य श्रीअनन्ताचार्य स्वामीज्यूबाट योगिराज स्वामीज्यूले पञ्चसंस्कार ग्रहण गर्नु भएको हो । विष्णुकाञ्चीका तात्कालीन मठाधीश अनन्ताचार्य स्वामीज्यू श्रीवैष्णव सम्प्रदायको विजयपताका फहराउने अन्यतम आचार्य हुनुहुन्थ्यो । श्रीकृष्णसूरिका चरणकमलका परम भक्त वत्सगोत्रीय अनन्ताचार्य स्वामीज्यूबाट श्रीवैष्णवदीक्षा ग्रहण गरी शिष्यत्व स्वीकारेर श्रीयोगिराज स्वामीज्यूले आफ्नो सुदीर्घ अभीष्ट प्राप्त गर्नुभयो । योगिराज स्वामीज्यूका शिष्यहरू आफ्ना परमाचार्य (गुरुका पनि गुरु)लाई यसरी स्मरण गर्नुहुन्छ—
श्रीवत्सवंशकलशोदधिपूर्णचन्द्रं
श्रीकृष्णसूरिपदपङ्कजभृङ्गराजम् ।
श्रीरङ्गवेङ्कटगुरूत्तमलब्धबोधं
भक्त्या भजामि गुरुवर्यमनन्तसूरिम् ।।

७. योगसाधना
योगिराज स्वामीज्यूले श्रीअनन्ताचार्य स्वामीज्यूबाट पञ्चसंस्कार ग्रहण गरेपछि केही समयसम्म आचार्यका समीपमा रही श्रीवैष्णव रहस्य ग्रन्थहरूको अध्ययन गर्नुभयो र विशेष गरेर मन्त्रार्थ रहस्यलाई आत्मसात् गर्नुभयो । आफ्ना आचार्यका आज्ञाबाट स्वामीज्यू योगसाधना गर्नका निम्ति बदरिकाश्रमको ज्योतिर्मठ (वर्तमान जोशीमठ)आई योगिवर श्रीरघुनाथाचार्यबाट अष्टाङ्ग योग साधना गर्नु भएको देखिन्छ ।
अष्ट भूवैकुण्ठ मध्ये अन्यतम श्रीबदरीनाथको समीपवर्ती क्षेत्र, जहाँ अनादिकालेदखि बगिरहेकी पतितपावनी भागिरथी गङ्गाको अहर्निश निःसृत दिव्यघोषले पवित्र भएको वातावरण, सृष्टिका आरम्भबाटै ऋषिमुनिहरूका लागि तपोवर्धक सावित भएको छ । स्वच्छ र प्राकृतिक सौन्दर्यले परिपूर्ण, चित्तलाई आकर्षण गर्ने क्षेत्र, त्यसमा पनि देवी वेदवतीले तपस्या गरेको स्थान भएकाले गर्दा आध्यात्मिक दृष्टिकोणले मात्र नभई ऐतिहासिक रूपमा पनि यस क्षेत्रको महिमा गौरवशाली प्रतीत हुन्छ । यसको समीपवर्ती क्षेत्रको नाम चायाँ गाउँ हो । चायाँ गाउँको पारिलो पाखामा सूर्यकिरण पर्दा त्यहाँ बस्नका लागि मन साह्रै नै लोभिन पुग्छ । चायाँ गाउँका सीमाबाट विष्णुगङ्गा बग्दछिन् । यिनै नदीका तटमा स्थायीबाडी भन्ने ठाउँमा बसेर श्रीस्वामीजीले चीरकालसम्म तपस्या गर्नु भएको थियो ।

गाउँको सिरान, त्यसदेखि पनि सुदूर क्षेत्रमा हज्जारौं वर्ष पुराना भयङ्कर ठूला—ठूला गुफाहरू प्रशस्तमात्रामा पाइन्छन् । त्यो अत्यन्त पवित्र तपोभूमि हो । जहाँ अहिले पनि विश्वजित् तपस्वीहरूको प्रत्यक्षरूपमा दर्शन प्राप्त गर्न सकिन्छ । यहीँ थियो श्रीरघुनाथाचार्यज्यूको आश्रम । वहाँसंग श्रीस्वामीजीले धेरै समय बिताउनु भएको थियो ।

श्रीनाथमुनि स्वामीजीका परम्पराबाट प्राप्त अष्टाङ्गयोगको साधना र सिद्धि श्रीयोगिराज स्वामीजीलाई श्रीरघुनाथाचार्य स्वामीज्यूको कृपाप्रसाद स्वरूप प्राप्त भएको थियो । यद्यपि आचार्य महर्षि पतञ्जलिले अष्टाङ्गयोगको लक्ष्य, यौगिक प्रक्रिया र सिद्धान्त सयौं वर्ष अघि नै प्रतिपादन गरिसक्नुभएको थियो, तथापि यो योगसाधना श्रीवैष्णवीय गुरुशिष्य परम्पराबाट विशिष्टरूपमा प्राप्त हुँदै आएकाले श्रीस्वामीजीसम्म आइपुगेको हो ।

अष्टाङ्गयोग शब्दले नै योगका आठ अङ्गहरू हुन्छन् भन्ने कुरा प्रष्ट हुन्छ । आत्मा र परमात्माको मिलन (जोड) नै योग शब्दको सामान्य अर्थ हो । चित्तका वृत्तिहरूको निरोध तथा पूर्णरूपले इन्द्रियहरूको निग्रहद्वारा नै योग फलित हुनसक्दछ । महर्षि पतञ्जलि यसै कुरालाई सूत्रमा यसरी बताउनु हुन्छ— योगश्चित्तवृत्तिनिरोधः । योगका आठ अङ्गहरूलाई महर्षिले यसरी वर्णन गर्नुभएको छ— यमनियमासनप्राणायामप्रत्याहारधारणाध्यानसमाधयोऽष्टावङ्गानि । अर्थात् यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यी योगका आठ मुख्य अङ्गहरू हुन् । श्रीस्वामीजीले यिनै आठ ओटा अङ्गहरूको पूर्णरूपले साधना गर्नुभएको थियो । साम्प्रदायिक दृष्टिकोणका आधारमा साधना

गरिएको हुनाले आचार र चिन्तन पक्षमा केही भिन्नता देखिए पनि सिद्धान्ततः योग सार्वभौमिक रूपमा एउटै छ, जुन समाधिबोधक छ । उपर्युक्त साधनाका अङ्गहरू मध्ये यम र नियमलाई बढी महŒव दिइएको पाइन्छ किनभने यी दुई पूर्णतया आचार पक्षमा आधारित छन् । नियम र आचारमा कमी आउना साथ अगाडिका साधनाहरू बन्न सक्दैनन् भनेर नै श्रीस्वामीजीले पनि यी पक्षलाई विशेष ध्यान दिई आफ्नो जीवनमा अवलम्बन गर्नुभएको देखिन्छ । वहाँले योगका हरेक पक्षलाई आफ्नो जीवनचर्यामा नित्यरूपले आत्मसात् गर्नुभएको हुँदा यसैका आधारमा श्रीस्वामीज्यूको आचार, व्यवहार र दैनिकी बुझ्न सहज होस् भनी सङ्क्षेपमा योगाङ्गहरूको चर्चा गरिन्छ ।

क. यम— यम पाँच प्रकारका छन्, जस्तै— अहिंसा, सत्य , अस्तेय, ब्रह्मचर्य र अपरिग्रह ।
१. अहिंसा— उपर्युक्त पाँचवटा महाव्रतहरू मध्ये पहिलो हो अहिंसा । अहिंसा शब्दको सामान्य अर्थ हो हिंसा नगर्नु । प्राणीको हत्यामा संलग्न नहुनु मात्र अहिंसा शब्दको अभिधेय अर्थ होइन, अपितु मन र वचनले पनि प्राणीमात्रमा चोट पुग्ने कर्म नगर्नु नै वास्तवमा अहिंसा नामक व्रत हो ।
२. सत्य— कसै प्रति कुनै प्रकारले पनि झुटो नबोल्नु अथवा छलकपटपूर्ण व्यवहार नगर्नु नै सत्य नामक यमको अनुष्ठान हो ।
३. अस्तेय— शास्त्रको आज्ञा विपरीत अर्काबाट द्रव्यादि वस्तु ग्रहण गर्नुलाई स्तेय, (चोरी) भनिन्छ । यसको विपरीत निर्दिष्ट नियमानुसारमात्र द्रव्यादि वस्तु ग्रहण गर्नु अस्तेय नामक व्रत हो ।
४. ब्रह्मचर्य— गुप्तेन्द्रिय एवं जननेन्द्रियको नियमन अथवा निग्रह नै ब्रह्मचर्य
हो । ब्रह्मचर्य प्रतिष्ठित भइसकेपछि पुरुषमा सामथ्र्य बढ्दछ । हाम्रा पूर्वाचार्यहरूले ब्रह्मचर्य नामक व्रतको अनुष्ठानका लागि विशेष प्रेरणा दिनुभएको छ । ब्रह्मचर्यको संरक्षण आठ प्रकारले गर्न सकिन्छ भनेर दक्षसंहितामा यसरी भनिएको छ—
ब्रह्मचर्यं सदा रक्षेदष्टधालक्षणं पृथक् ।
स्मरणं कीर्तनं केलिः प्रेक्षणं गुह्यभाषणम् ।
संकल्पोऽध्यवसायश्च क्रियानिर्वृत्तिरेव च ।
एतन्मैथुनमष्टाङ्गं प्रवदन्ति मनीषिणः ।
विपरीतं ब्रह्मचर्यमेतदेवाष्टलक्षणम् ।
५. अपरिग्रहः— विषयहरूको परिग्रह, त्यसको रक्षा र तद् विषयक आशक्तिमा हिंसादि दोषको अनुभव गर्दै तत्तत् वस्तुहरूको संग्रह नगर्नु नै अपरिग्रह नामक व्रत हो । यी पाँचैवटा निषेधात्मक नियम अथवा व्रतलाई यम नामक अनुष्ठान भनिएको हो ।
ख. नियम— नियम पनि पाँच प्रकारका हुन्छन्— शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रणिधान ।
१. शौच— माटो, खरानी र पानी आदि पदार्थद्वारा गरिने सफाइ विशेषलाई बाह्य शौच भनिन्छ भने चित्तगत दोषहरूको सफाई आन्तरिक शौच हो ।
२. सन्तोष— जाति उपलब्ध छ, त्यतिमा नै सन्तुष्ट रहनु सन्तोष नामक व्रत हो । आत्मिक सन्तुष्टि नै सम्पूर्ण सुख र शान्तिको आदि स्रोत हो । भनिएको पनि छ— सन्तोषः परमं सुखम् ।
३. तपः— सुख—दुःख, चिसो—गर्मी, अनुकूलता, प्रतिकूलता आदि द्वन्द्वात्मक शक्तिहरूलाई सहर्ष स्वीकार गर्दै साधनापथमा अग्रसर हुनु नै तप नामक व्रत हो ।
४. स्वाध्याय—मोक्ष प्रदान गर्ने शास्त्रको नित्य अनुशीलन र शास्त्रचिन्तन गरिरहनु नै स्वाध्याय नामक व्रत हो ।
५. ईश्वरप्रणिधान— आफ्ना गुरुप्रति सद्भावपूर्ण व्यवहार गर्दै क्रियमाण र करिष्यमाण कर्महरु तदीयाराधन बुद्धिले भगवदर्पण गर्नु नै ईश्वरप्रणिधान नामक व्रत हो । यी व्रतहरूको अनुष्ठान गर्नाले स्वरूपानुरूपको बोध हुनका साथै योग साधनामा आइपर्ने सबै प्रकारका विघ्नहरूको निराकरण हुन्छ भन्ने भगवान् पतञ्जलिको निर्देश छ ।
ग. आसन— जुन आसनमा बस्नाले शारीरिक स्थितिमा स्थायीपन र सुखद अनुभूति हुन्छ, त्यसैलाई आसन भनिन्छ । जस्तै— सुखासन, वीरासन, भद्रासन, स्वस्तिकासन, दण्डासन आदि आदि । शास्त्रमा ८४ आसनको वर्णन पाइन्छ । अष्टाङ्गयोगको साधनामा आसनको बढी महŒव हुन्छ । योगिहरूले आसनलाई जित्न सकेको हुनुपर्दछ । आसन दृढ भइसकेपछि मात्र साधकको अग्रिम साधना सफल हुन सक्दछ श्रीस्वामीज्यूबाट अन्य आसनहरूको अभ्यास यथा समयमा भए पनि गोमुखासन भने वहाँको नित्य आसन थियो ।
घ. प्राणायाम— साधक आसनजयी भइसकेपछि श्वास प्रश्वासको गतिलाई रोक्ने वा छोड्ने प्रक्रिया विशेषलाई प्राणायाम भनिन्छ । प्राणायाम तीन प्रकारको हुन्छ । पूरक, कुम्भक र रेचक । प्राणायाम गर्दा खास वायु भित्र खिच्ने प्रक्रियालाई पूरक भनिन्छ भने बाहिर निकाल्ने प्रक्रियालाई रेचक भनिन्छ । बाहिर र भित्र दुबै तर्फका वायुगतिलाई रोक्ने प्रक्रियालाई कुम्भक भनिन्छ । प्राणायामको चौथो अवस्थाको उल्लेख महर्षि पतञ्जलिले गरेका छन् । जसको नाम हो केवल कुम्भक । बाह्य प्रदेश र आभ्यान्तर प्रदेश दुबै प्रकारको प्राणवायुलाई अतिक्रमण गर्दै सम्पादन गरिने प्राणायाम विशेषलाई केवल कुम्भक भनिन्छ । पूरक, रेचक र कुम्भक तीनै प्रकारको प्राणको आयाम अर्थात्
कसरतको समुच्चय नाम नै प्राणायाम हो । वेदव्यासजी आफ्नो व्यासभाष्यमा लेख्नु हुन्छ कि प्राणायामभन्दा उच्चकोटिको तप छैन, जसद्वारा चित्तगत मलको शुद्धिका साथै ज्ञानप्रवाहमा स्फूर्ति र शरीरमा ताजापन प्राप्त हुन सकोस् । यथा—तपो नपरं प्राणायामात्ततो विशुद्धिर्मलानां दीप्तिश्च ज्ञानस्य ।
ङ. प्रत्याहार— आफ्ना इन्द्रियहरूलाई शब्दादि विषयसंग सन्निकर्ष हुन नदिई अर्थात् अन्तर्मुखीकरण गर्दै चित्तका स्वरूपमा स्थित गराउने प्रक्रियालाई प्रत्याहार भनिन्छ । यहाँसम्मको साधनाले चित्त अत्यन्त सात्त्विक भइसकेको हुन्छ । मन, बुद्धि र अहंकारको समुच्चय नै चित्त हो ।
च. धारणा— चित्तलाई कुनै स्थान विशेषमा लगाई एकाग्र अथवा स्थिर गराउने प्रक्रियालाई धारणा भनिन्छ । साधकले प्राणायाम सिद्ध गरी इन्द्रियहरूलाई समग्र रूपमा अन्तर्मुखीकरण गरिसकेपछि मात्र चित्तलाई केन्द्रीकृत गर्न सक्दछ । जबसम्म चित्त केन्द्रीकृत हुन सक्दैन तबसम्म ध्यानमा प्रगाढता प्राप्त गर्न सकिन्न ।
छ. ध्यान— जुन वस्तुको चिन्तन गरिन्छ त्यसैको तेलका धाराका समान अजस्र झर्दै गरेको अखण्ड ज्ञान प्रवाहलाई ध्यान भनिन्छ । यस अवस्थामा मात्र सत्त्व गुणको उदे्रक भएकाले गर्दा पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय, मन–बुद्धि र अहङ्कार सबै भइसकेका हुन्छन् । केवल ध्येय विषय जीवित जागृत रहेको हुन्छ ।
ज. समाधि— जहाँ स्वरूपको आभास शून्य छ । ध्येयावलम्बनको तान छिनिसकेको छ । सत्त्व, रज र तम कुनै प्रकारको सम्पर्क लेश मात्र पनि छैन, त्यस अवस्थालाई समाधि भनिन्छ । वास्तवमा ध्यानको पराकाष्ठा नै समाधि हो । समाधि दुई प्रकारका हुन्छन् । सम्प्रज्ञात र असम्प्रज्ञात । सम्प्रज्ञात समाधिमा केहीमात्रमा ज्ञानको भान हुन्छ भने असम्प्रज्ञात समाधिमा कुनै प्रकारको ज्ञानको आभास हँुदैन । असम्प्रज्ञात समाधिलाई निर्वीज समाधि पनि भनिन्छ ।
पहिले बताइएका आठ अङ्गहरूमा विभक्त अष्टाङ्गयोगको साधना गरी तत्सम्बन्धी प्रवीणता श्रीस्वामीजीले प्राप्त गर्नुभएको थियो । वहाँले योगाभ्यास गर्दाका समकालीन केही प्रसिद्ध योगीहरू हुनुहुन्थ्यो—
१. काशी रङ्गाचार्यज्यू, वाराणसी ।
२. श्रीखिचडी स्वामीज्यू, कैलाली, (श्रीपुर मन्दिरका पूर्व महन्त) ।
३. श्रीपुरुषोत्तमाचार्यज्यू, श्रीबदरीनाथ ।
४. श्रीरघुनाथाचार्यज्यू, बडी बगैंचा, वृन्दावन ।
५. श्रीविष्वक्सेनाचार्यज्यू, वक्सर, विहार आदि ।
माथि उल्लिखित एवं अन्य योगाभ्यासरत विद्यार्थीहरू मध्येमा परीक्षामा श्रीस्वामीजी नै प्रथम हुनुभएकाले योगाचार्यबाट नै वहाँलाई योगिराज यस उपाधिले विभूषित गरिएको थियो । स्वामीजीले नेती, नौली, वस्ती, धौती, नाडीशोधनादि आन्तरिक क्रियाहरूमा महत्वपूर्ण उपलब्धी हासिल गर्नुभयो ।
गोवद्र्धन गद्दीबाट सम्बन्धित आचार्य श्रीरघुनाथाचार्यज्यूको सेवा हेतु भक्तहरूले प्रशस्त गाईहरू दिएका थिए । दिइएका गाईहरूको हेरचाह यिनै योगीहरूद्वारा हुने गर्दथ्यो । सबै योगीहरू मध्ये श्रीकमलनयनाचार्य स्वामीज्यू गौसेवामा धेरै सक्रिय हुनुहुन्थ्यो ।
योगिराज स्वामीजी रात्रिको एक प्रहर छँदै आफ्ना नित्यकर्म सिध्याई योग साधनामा तल्लीन हुनुहुन्थ्यो । सोही समयमा श्रीरघुनाथाचार्य स्वामीज्यू पनि नित्य क्रियाहरूबाट निवृत्त भई योग साधना स्थलमा साधनरत हुनुहुन्थ्यो । यसरी आचार्य श्रीचरणको साधनाकालमा श्रीकमलनयनाचार्यज्यू नित्यप्रति उपस्थित हुनुहुन्थ्यो र आचार्य चरणसंगै अभ्यास गर्नुहुन्थ्यो । पुनः आफ्ना सहयात्रीहरूलाई आचार्य श्रीचरणले प्रशिक्षण गराउँदा पनि योगिराज श्रीस्वामीजी महाराज साथमा नै रहनुहुन्थ्यो । यस प्रकार श्रीस्वामीजी महाराजको दिनमा दुई चार पटक योगाभ्यासको कार्यक्रम चलिरहन्थ्यो । त्यसमा आचार्यको कृपा त छँदै थियो यसका साथ–साथै पर्याप्त अभ्यास पनि गर्नुहुन्थ्यो । यसै कारणले स्वामीजी पछि गएर अष्टाङ्गयोगमा निपुण हुनुभयो । अष्टाङ्गयोगमा निपुण भइसकेपछि स्वामीजी कुनै विशेष बेलामा समाधिस्थ रहनुहुन्थ्यो ।
उपर्युक्त प्रसङ्गलाई स्वामीज्यूको जन्म प्रपत्तिमा यसरी उल्लेख गरिएको छ—
ज्योतिर्मठे गुरुवराद्रघुनाथनाम्नो
योगादिकञ्च सकलार्थयुतं रहस्यम् ।
सम्प्राप्य ज्ञानमखिलं नयपालदेशं
प्राप्तं गुरुं कमलनेत्रमहं प्रपद्ये ।।
८. आचार्यत्वप्राप्ति
अष्टाङ्ग योग साधना जस्तो महत्त्वपूर्ण उपलब्धि प्राप्त भएपछि योगिराज स्वामीज्यू ज्ञानबल, तपोबल एवं योगबलद्वारा श्रीवैष्णवधर्म प्रचारार्थ दत्तचित्त हुनु भएको पाइन्छ । रघुनाथाचार्यले योगिराज स्वामीज्यूको गुणलाई देखेर दक्षिण भारतबाट बद्रीकाश्रममा आउनु भएका श्रीअनन्ताचार्य स्वामीज्यूसंग योगिराज स्वामीज्यूलाई आचार्य पदवी दिई श्रीवैष्णव धर्म प्रचार गर्ने अनुमति प्रदान गर्न अनुरोध गर्नुभयो ।
श्रीअनन्ताचार्य स्वामीजीका प्रेमी कृपापात्रका रूपमा रहनु भएका योगिराज स्वामीज्यूका शील, ज्ञान, भक्ति, वैराग्य जस्ता दैवी गुण देखेर अनन्ताचार्य स्वामीज्यू द्रवित हुनुभयो र उत्तर भूमि नेपालमा श्रीवैष्णव–धर्मको कीर्ति ध्वजा फैलाउनका निम्ति वहाँले आज्ञा समेत दिनुभयो । श्रीवैष्णव सम्प्रदायको मान्यता अनुसार आचार्यले शिष्य बनाउँदा पाँच प्रकारका संस्कार गर्ने शास्त्रीय मान्यता छ । ती पञ्च संस्कारहरूमा ताप (शङ्ख र चक्रको तप्ताङ्कन), पुण्ड्र (तिलक), नाम (विष्णुपरक सम्बन्धी नाम), मन्त्र (वैष्णव मन्त्र) र याग (शरणागति) पर्दछन् । यी पाँच संस्कार प्रदान गर्ने अधिकार आचार्यको आज्ञा पाएपछि मात्र सम्भव हुन्छ र आफ्ना आचार्य अनन्ताचार्य स्वामीज्यूबाट योगिराज स्वामीज्यूलाई पञ्च संस्कार प्रदान गर्ने आज्ञा मिलेपछि स्वामीज्यू निरन्तर वैष्णव धर्मको प्रचार—प्रसार र सम्बद्र्धनमा लाग्नुभयो ।
९. श्रीवैष्णव धर्मको प्रचार प्रसार
योगिराज स्वामीज्यू ज्ञान, वैराग्य, भक्ति, योग र तपस्याका अनन्त खानी हुनुहुन्थ्यो भन्ने कुरा वहाँको सान्निध्य पाउने जो कोहीले पनि अनुभव गथ्र्यो । यिनै वैभवले गर्दा नै तत्कालीन शिक्षा दीक्षाको अभावमा पनि वहाँले नेपाली जनमानसलाई भगवद् भक्तितर्पm आकर्षण गर्ने काममा सफल हुनुभयो । वहाँले सर्वप्रथम पश्चिम नेपालको कैलाली जिल्ला अन्तर्गत जोरायल सैगडामा आएर रघुनाथ पन्तको परिवारलाई वैष्णव सम्प्रदायमा दीक्षित गर्नुभयो । यसरी नै बर्दियाका संकर्षण चौधरीलाई पनि पञ्चसंस्कारले सुसंस्कृत गर्नु भयो र वहाँ अझ पनि स्वामीज्यूका दिव्य उपदेशको स्मरण गर्दै वृद्ध जीवन यापन गर्दै हुनुहुन्छ । स्वामीज्यू सुदूर पश्चिमबाट मध्यपश्चिमका दाङ, सल्यान हुँदै गुल्मी, पाल्पा आदि क्षेत्रमा श्रीवैष्णव सम्प्रदायको प्रचार प्रसारमा संलग्न रहनुभयो । दाङमा तात्कालीन जमिनदार सीताराम पटवारीका घरमा बसेर पद्मनाभ गौतम लगायत ज्ञवाली परिवारलाई श्रीवैष्णव दीक्षा प्रदान गर्नुभयो । सीताराम पटवारी त्यतिखेर अयोध्या विजय राघवसंग सम्बद्ध हुनुहुन्थ्यो । त्यसैले स्वामीज्यूको पटवारीज्यूसंग आयोध्यामा नै भेट भएको हुने देखिन्छ । यसपछि स्वामीज्यू गण्डकी क्षेत्रतर्पm जानु भएको हो । त्यसो त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालयदेखि तराईसम्म पैदलयात्रा गरेर नै स्वामीजीले श्रीसम्प्रदायको प्रचार–प्रसार गर्नुभएको हो । यसैक्रममा पश्चिमाञ्चल क्षेत्रको जुहाङ रितौंदीमा सवारी भएर भगवान्को प्राणप्रतिष्ठा कार्य सम्पन्न गर्नुभएको थियो । केही समयसम्म त्यहाँ रहेर स्वामीजीले श्रीगीताभाष्य, मन्त्रार्थ, एवं सहस्रगीति आदि रहस्य ग्रन्थहरूको प्रवचन गर्नुभयो । उक्त पावन अवसरमा भूटानका स्वामीजीका परम शिष्य श्रीवासुदेवाचार्य एवं श्रीनारायणाचार्य आसामका विशिष्ट विद्वान्हरू र नेपालका बहुसंख्यक भक्तभागवतहरूको उपस्थिति रहेको थियो ।

 


त्यसपछि स्वामीजी पवित्रचक्रनदी श्रीकृष्णगण्डकीको तट गुल्मीको पूर्तिघाट फूलवारीतर्फ सवारी हुनुभयो । त्यहाँ पनि मन्दिर धर्मशाला आदि निर्माण गराएर वेदाध्ययनको क्रमलाई पनि आरम्भ गराउनु भयो । त्यहाँ पनि समय–समयमा स्वामीजीको सवारी र सत्सङ्गको क्रम चलि नै रह्यो । गण्डकी क्षेत्रका जुहाङ, फूलबारी आदि क्षेत्रमा स्वामीज्यूको प्रभाव अझ पनि त्यत्तिकै रहेको पाइन्छ । समय क्रमसंगै स्वामीजीले बहुसङ्ख्यक शिष्यहरूका साथ मुक्तिनाथ यात्रा पनि गर्नुभएको थियो । पश्चिम नेपालबाट वैष्णव धर्मको प्रचार आरम्भ गरी प्रयागको महाकुम्भमा सवारी हुनुभएको हो । त्यहाँबाट स्वामीज्यू पुनः भारतको पूर्वी क्षेत्र आसाम पुग्नु भएको देखिन्छ ।
क. आसाम यात्रा
श्रीस्वामीजीले श्रीसम्प्रदायको प्रचार—प्रसारको क्रममा नेपालको पश्चिमाञ्चल क्षेत्रमा जति सौविध्य प्राप्त गर्नु भएको थियो त्यस रूपमा आसाम क्षेत्रमा प्राप्त हुन सकेन तापनि श्रीसम्प्रदायको व्यापकता भने आसाम क्षेत्रमा नै टड्कारो रूपमा देख्न पाइन्छ । २०१० सालमा प्रयागमा भएको कुम्भ मेलामा श्रीवैष्णव सम्प्रदायका मूर्धन्य विद्वान् चूडामणि शास्त्री (ढकाल)को प्रयासमा स्वामीज्यू आसामका धेमाजी, नौगाउँ, तेजपुर, सिङ्ग्री जस्ता स्थानहरूमा भ्रमण गरी हजारौं अनुयायीहरू बनाउनु भएको देखिन्छ ।
श्रीस्वामीज्यूको आसाम क्षेत्रमा भएको शुभागमन वास्तवमा श्रीसम्प्रदायको प्रचार प्रसारका लागि नयाँ सुरुवात पनि थियो । त्यहाँ विभिन्न सम्प्रदायानुयायीहरूको बसोबास भएको थियो । अनेक मतमा भ्रमित परेका जनतालाई स्वामीजीले उपदेश गरेर परमार्थिक ध्येयको बोध गराउनु भएको थियो । त्यहाँ अनेक पल्ट शास्त्रार्थहरू चलेका थिए । जसमा बाह्य संम्प्रदायमा लागेका विद्वान्हरूलाई पराजित गरेर श्रीसम्प्रदायमा दीक्षित गर्नुभएको थियो भन्ने त्यसबेलाका आचार्यहरूले पटक—पटक स्मरण गर्नुहुन्छ ।
श्रीस्वामीजीको उपस्थितिमा श्रीसम्प्रदाय सम्बन्धी विषय लिएर धेरै ठूला—ठूला बहसहरु चल्दथे । यसरी श्रीरामानुज सम्प्रदायको विजयध्वजा फहराउँदै वि.सं. २०११को फाल्गुन महिनामा समारदलनी(भागुनबारी) गाँउमा पुग्नुभयो । त्यहाँ पञ्चदिवसीयरूपमा श्रीलक्ष्मीनारायण भगवानको प्राणप्रतिष्ठा एवं महान् सत्सङ्ग चलेको थियो । त्यसपछि आसामका मुनावारी र गेलापोखरी दुई गाउँका बीचमा सवारी भएर धर्मनिर्णयार्थ धर्मालोचनी सभाको गठन गर्नुभयो ।
आसाम भक्तहरूलाई कृपा गर्दै त्यसपछि स्वामीजी मुनावारी भन्ने ठाउँमा पुग्नुहुन्छ । त्यहाँ पनि विद्यालयको स्थापना, श्रीवैष्णवधर्मप्रचारिणी समितिको गठन, लामो समयसम्म सत्संग आदिका माध्यमले हज्जारौं हज्जार जीवात्माहरूलाई भगवत् शरणागति मार्गमा आबद्ध गराउनु भयो । त्यसपछि सम्प्रदायको प्रचार गर्दै गेलापोखरी, धेमाजी आदि गाउँ हुँदै श्रीस्वामीजी नौगाउँ अन्तर्गत बालुवापालामा पुग्नुभएको देखिन्छ । वि.सं. २०१७ सालमा आफ्ना प्रिय शिष्य श्रीपराङ्कुशाचार्यज्यूका गृहमन्दिरमा पुग्नुभयो । त्यहाँ पनि विद्यार्थीहरूलाई वेद—वेदाङ्गहरूको अध्यापन कार्य गराउनु भयो । त्यस अवसरमा हज्जारौं श्रद्धालु भक्तहरूले १०८ घडाद्वारा आचार्यमहाभिषेक सम्पन्न गरी यज्ञ पूर्णाहुति पश्चाद् बैण्डबाजाका साथ प्रबन्ध, स्तोत्र पारायण, भजन, कीर्तन आदि कार्यक्रमका साथ श्रीस्वामीजीलाई पालकीमा राखी गाउ,ँ नगर परिक्रमा गराइएको थियो ।
रामानुजार्यदिव्याज्ञा वर्धतामभिवर्धताम् यस उद्घोषलाई साकार पार्दै श्रीस्वामीजी पुनः मुनावारी हुँदै शोणितपुर सवारी हुनुभयो । त्यहाँ सत्संग र भगवत्— प्रतिष्ठा आदि कार्यहरू सम्पन्न गर्दै वि.सं. २०२९ मा तेजपुर अन्तर्गत रङासुकमा निर्मित मन्दिरमा श्रीलक्ष्मीनारायण भगवानको प्राण प्रतिष्ठा गर्नुभयो । यसरी आसामका वालीजुरी, जामागुडी, आदि विभिन्न क्षेत्रमा पटक–पटक सवारी भएर लाखौं–लाख चेतनहरूको उद्धार गर्नुभएको देखिन्छ । आसाम यात्राबाट नै कहिले भूटान त कहिले नेपाल यात्रा चलिरहन्थ्यो भन्ने स्वामीजीका साथमा रहने भागवतहरूले बताउनु हुन्छ ।
ख. भूटानयात्रा
नेपालबाहिर धर्मप्रचार गर्नु भएको मध्येमा भूटान पनि एक प्रमुख स्थल हो । भूटानका धेरै ठाउँमा स्वामीजीको सवारी भएको थियो । जीवनको पछिल्लो अवधिमा स्वामीज्यूले भुटानमा गएर वैष्णव धर्मको व्यापक प्रचार प्रसार गर्नु भयो । भूटानका सुरे, सर्वाङ, दागापेला जस्ता ठाउँमा स्वामीज्यूका हजारौं शिष्य प्रशिष्यहरू आज पनि स्वामीज्यूको मङ्गलाशासन गायन गर्दै उहाँको स्मरण गर्नुहुन्छ । योगिराज स्वामीज्यूले विभिन्न जातजातिका भक्तलाई पञ्चसंस्कारले सुसंस्कृत गर्नु भएको छ । उहाँ उदारमना आचार्य हुनु भएकाले सबैलाई भगवान्को शरण ग्रहण गर्ने अधिकार भएको बोध गराउनु हुन्थ्यो । श्रीवैष्णव सम्प्रदायका प्रवर्धक रामानुज स्वामीज्यूको समाज सुधारमूलक व्यवहारलाई योगिराज स्वामीज्यूले आत्मसात गर्नु भएको थियो, त्यसैले उहाँका निम्ति सबै मानिसप्रति समान करुणा जागृत हुन्थ्यो ।
त्यस क्रममा सर्वप्रथम स्वामीजी २०२२ सालतिर माउगाउँ भन्ने ठाउँमा पुग्नुभएको कुरा स्वामीजीका शिष्य एवं वर्तमानमा विभिन्न ठाउँमा रहनु हुने आचार्यहरूले बताउनु हुन्छ । माउगाउँमा २०२४ सालतिर भयंकर अनिकाल भयो । अनिकालले आत्तिएका भक्तहरू स्वामीजीका नजिकमा गएर दुःख पोख्न लागे । त्यसबेला श्रीस्वामीजीले आज्ञा गर्नुभयो— “एक महिनासम्म श्रीगोपालसहस्रनामको अखण्ड अनुष्ठान गर, फेरी कहिल्यै पनि अनिकाल पर्ने छैन ।” स्वामीजीको आज्ञा पाएर अनुष्ठान पनि प्रारम्भ भयो । भूटान प्रवेश गर्नका लागि पास नपाएर स्वामीजी भूटानको सीमावर्ती भारतभूमि देवश्री(देउसुरे)मा रहनुभयो । अन्तिममा दश दिनका लागि स्वामीजीलाई प्रवेश पास मिल्यो । श्रीस्वामीजीले यज्ञको पूर्णाहुति सम्पन्न गरेर आफ्नै हातले पारायणमा वरण हुनु भएका गुरुजीहरूलाई सम्भावना(दक्षिणा) वितरण गर्नुभयो । हालसम्म भूटानको त्यसक्षेत्रमा कहिल्यै पनि अनिकाल परेको छैन । अन्नवाली प्रशस्तरूपमा भइ नै रह्यो ।
श्रीस्वामीजीको बेला—बेलामा भूटानमा सवारी हुँदै रहयो । भूटानको माउ गाउँमा श्रीलक्ष्मीनारायण भगवानको प्रतिष्ठा वि.सं. २०३८ मा स्वामीजीको उपस्थितिमा भएको हो । यसरी पटक–पटक गरी भूटानमा चार पटक स्वामीजीको सबारी भएको थियो । अन्तिम पटक त आचार्य चरणको भूटानमा भएको सवारी वैकुण्ठ गमनका निमित्त बन्न पुग्यो । त्यो स्थान भूटानको सूरे नामक क्षेत्र हो ।
ग. श्रीलक्ष्मीनारायण मन्दिर, माईधार, झापा यसरी कहिले भूटान, कहिले आसाम, कहिले नेपालका अनेक क्षेत्रहरूमा जीवमात्रको कल्याण गर्दै स्वामीजीको दिनचर्या अघि बढ्दै गयो । भारतको आसामबाट नेपाल फर्की झापा जिल्लाको मध्य भागमा बग्ने परम पावनी कनकाई नदीको पश्चिमी तटमा लक्ष्मीनारायण मन्दिरको स्थापना गरी श्रीवैष्णव धर्मको सम्बद्र्धन र विकासमा समर्पित हुनुभयो ।
१०. दिनचर्या र आहार विहार
योगिराज स्वामीज्यूको जीवन तपोनिष्ठ तथा नैष्ठिक थियो । उहाँ अहोरात्र जस्तो जागृत अवस्थामा नै रहनुहुन्थ्यो । भोजनका नाममा दुध पानमात्र गर्नुहुन्थ्यो, त्यसैले उहाँलाई दुग्धाहारी स्वामीज्यूका नामले पुकारिन्छ । वहाँले २८ वर्षको उमेरदेखि अन्नको आहार छोडेर गाईको दुधमात्र पिउन थाल्नु भएको हो । स्वामीज्यूका निम्ति छुट्टै गाईको व्यवस्था हुन्थ्यो र आफ्नै नजरका सामु दुहिन्थ्यो, जुनसुकै गाईको दुध र परोक्षमा दुहिएको दुध वहाँ कहिल्यै ग्रहण गर्नु हुन्नथियो । गाई दुहुने व्यक्तिले मुखमा पट्टि बाँधी पानीले फाँचो राम्ररी पखालेर रुमालले पुछपाछ गरी आधा पासोमात्र दुहुनु पर्थ्यो । प्रातःकाल ब्रह्म मुहूर्तमा स्वामीज्यूको स्नान, तिलक धारण, सन्ध्योपासन जस्ता नित्य कर्महरू सकिन्थे । मन्दिरमा प्रातः कालीन पूजा, अर्चना सकेर तीर्थ प्रसाद ग्रहण गरिसकेपछि समस्त भक्तजन स्वामीज्यूको कुटीमा गएर प्रसाद ग्रहण गर्ने प्रचलन थियो । स्वामीज्यू नित्य नै समुपस्थित भक्तजन र विद्यार्थीहरूलाई प्रसादका रूपमा प्रायः गरेर मिश्री र यदाकदा नरिवल एवं फलपूmल वितरण गर्नुहुन्थ्यो ।
सधैंको नित्य कर्म सकेपछि स्वामीज्यू आफ्नो कुटीको अगाडि राखेको खटियामा बस्नु हुन्थ्यो र गोमुख आसनमा स्थिर भएर रहनु हुन्थ्यो । वहाँको प्रिय तथा सिद्ध आसनका रूपमा गोमुख आसन नै रहेको थियो । आगन्तुक भक्तजनसंग कुशल क्षेमका कुराहरू, भगवान्का गुणानुवाद, सांसारिक माया, मोह र त्यसबाट मुक्तिको उपाय आदि विषयमा दिव्य उपदेश गर्नु उहाँको दिनचर्या नै थियो । माईधार लक्ष्मीनारायण मन्दिरमा स्वामीज्यू एक कुशल आचार्य मात्रै नभएर मन्दिरकै अभिभावक हुनुहुन्थ्यो । स्वामीज्यूलाई भेट्नका निम्ति नेपालका मात्र नभएर भूटान, आसाम, वङ्गाल आदि विभिन्न ठाउँबाट भक्तहरू आउनु हुन्थ्यो र लक्ष्मीनारायण मन्दिर, माईधार एक पवित्र र आकर्षक धामका रूपमा विकसित हुन पुगेको थियो ।
योगिराज स्वामीज्यू जहाँ रहे पनि वहाँलाई विद्यार्थीहरूले घेरेका हुन्थे । बिहान वा बेलुकाको समय निकालेर विद्यार्थीहरूलाई विभिन्न ग्रन्थको अध्यापन गर्नु स्वामीज्यूको परम आनन्दको विषय नै भएको पाइन्छ । वेद, गीता, अर्थपञ्चक, तत्त्वत्रय जस्ता ग्रन्थरत्नहरूमा स्वामीज्यूको विशेष रुचि थियो । प्रायः गरेर बेलुकी पख करिव ४ बजेतिर विद्यार्थीहरू एकत्रित भएर योग सिक्ने गर्थे । २०–२५ योगासनको नित्य अभ्यास गर्दै नौली, धोती, वस्ती जस्ता यौगिक क्रियाहरू स्वामीज्यूले विद्यार्थीहरूलाई सिकाउनु हुन्थ्यो । स्वामीज्यू स्वल्पाहार, अल्पनिद्रा कर्मिष्ठ, अध्यवसायी एवं परिमित आहार विहारले युक्त दिव्य दिनचर्या भएको एक महापुरुष हुनुहुन्थ्यो ।
११. विद्यार्थीप्रतिको व्यवहार
स्वामीज्यू विद्यार्थीहरूलाई अपार माया गर्ने ममतामय आचार्य हुनुहुन्थ्यो । भक्तजनले अर्पण गरेका फलफुल, वस्त्र, पैसा आदि वस्तु विद्यार्थीहरूलाई बाँड्न उहाँ सधंै तत्पर हुनुहुन्थ्यो । कहिले काहीं स्वामीज्यू सर्वदेशदिशाकाले भनेर उच्च स्वरमा विद्यार्थीहरूलाई प्रसाद र कपडा बाँड्न उद्घोष गर्नुहुन्थ्यो, विद्यार्थीहरू जुनसुकै अवस्थामा भए पनि छोडेर दौडिन्थे र यो दृश्य रमाइलो देखिन्थ्यो । विद्यार्थीहरूलाई कहीं कतैबाट आपत् विपत् आउँछ कि भन्ने कुरामा वहाँ सधैं सचेत देखिनु हुन्थ्यो । सबै विद्यार्थीहरू स्वामीज्यूका सन्निधिमा रहँदा उच्च गौरव अनुभव गर्दर्थे । कहिले काहीं मध्याह्नमा विद्यार्थीहरूलाई बोलाएर उनीहरूको भविष्यका बारेमा विचार विमर्श गर्नुहुन्थ्यो, विद्यार्थीहरूले गर्नु पर्ने कर्तव्यप्रति सचेत गराउनु हुन्थ्यो । आहार विहारका विधि—निषेधहरू, व्यावहारिक जीवनका कठिनाइहरू, समाजका सुखदुःख आदि अनेक विषयमा विद्यार्थीसंग घण्टौं घण्टासम्म बातचित हुन्थ्यो । विशेष गरेर एकादशीका दिन विद्यार्थीहरूले के खाए भन्ने विषयमा स्वामीज्यू चिन्तित हुनुहुन्थ्यो र टपरामा चिनी र चियाको रङ भरेर दिनुहुन्थ्यो अनि सामूहिक रूपमा चिया पकाएर खान भन्नुहुन्थ्यो । यस प्रकार स्वामीज्यू विद्यार्थीहरूसंग सधैं प्रसन्न हुनुहुन्थ्यो र तिनका बारेमा सधैं चिन्तनशील हुनुहुन्थ्यो । स्वामीज्यू विद्याव्यसनी हुनु भएकाले जहाँ मन्दिर छ त्यहाँ विद्यालय अनिवार्य हुनु पर्नेमा वहाँको विश्वास थियो । वहाँ मठ मन्दिरको गहना विद्यार्थीहरूलाई नै ठान्नुहुन्थ्यो । स्वामीज्यूका सामु सबै किसिमका विद्यार्थीहरू झुम्मिन्थे र विद्यार्थीको स्वरूप र लगनशीलताका आधारमा वहाँ विद्यार्थीको भविष्यका सम्भावित ढोका उघार्नु हुन्थ्यो । कर्मकाण्ड गरेर जीविका चलाउन चाहनेहरूलाई त्यसै रूप आशीर्वाद
दिनुहुन्थ्यो भने शास्त्रीय विषयमा गम्भीर हुन चाहनेहरूका निम्ति त्यसै अनुरूप मार्गनिर्देश गर्ने गर्नुहुन्थ्यो । विद्यार्थीहरूसँग स्वामीज्यूले गरेका व्यवहारले के देखाउँथ्यो भने उहाँ आबाल ब्रह्मचारी भए पनि विद्यार्थीका निम्ति एक कुशल पिता एवं माताका रूपमा सधैं रहनुभयो ।
१२.यज्ञानुष्ठान
स्वामीज्यूको जीवन नै यज्ञानुष्ठानमय थियो । वहाँले पुरा जीवन आध्यात्मिक योग अनुष्ठानमा बिताउनु भयो साथसाथै आफ्ना शिष्य प्रशिष्यहरूलाई पनि यज्ञानुष्ठानमय जीवन मार्गमा उत्प्रेरित गर्नुभयो । गायत्रीपुरश्चरण, अष्टाक्षरी र द्वादशाक्षरी मन्त्रको अनुष्ठान, सुदर्शनशतक, श्रीमद्भागवत, गीता, विष्णुसहस्रनाम, गोपालसहस्रनाम, वेद आदि पवित्र ग्रन्थहरूको पारायण आदि अनुष्ठान स्वामीज्यूका जीवनका अभिन्न अङ्ग नै थिए । उहाँले विशेष अवसर पारेर विद्यार्थीहरूलाई पनि उक्त किसिमका अनुष्ठानमा नियुक्त गर्नुहुन्थ्यो । कहिले काहीं अखण्ड पाठ गराएर यज्ञानुष्ठान सम्पन्न गर्नुहुन्थ्यो र सम्भावना (दक्षिणा) पनि आफ्नै हातले वितरण गर्नुहुन्थ्यो । स्वामीज्यूले गृहस्थीहरूलाई पित्र्येष्टि (श्रीवैष्णवेष्टि) कर्ममा सधैं उत्प्रेरित गर्नुभयो । गृहस्थ भए पछि हरेक परिवारको दायित्व आफ्ना पितृहरूको उद्धार गर्नु हो भन्ने शिक्षा स्वामीज्यूको मूल शिक्षा नै हो । भूटान, आसाम, वङ्गाल र नेपालका विभिन्न ठाउँका भक्तहरू स्वामीज्यूलाई आग्रह गरेर पित्र्येष्टि यज्ञका निम्ति अनुरोध गर्दथे । पित्र्येष्टि कर्मपूर्वक श्रीमद्भागवत महापुराण श्रवण गरेपछि पितृहरूको उद्धार हुने विश्वास स्वामीज्यूका भक्तहरूमा अहिलेसम्म पनि पाइन्छ । सात वटा आँखा भएको बाँसमा पितृहरूलाई आवाहन गरेर सात दिनसम्म श्रीमद्भागवत सप्ताह लगाएपछि अनेक घटना घट्थे । कोही श्रोताहरू एकाएक काम्न थाल्थे र श्रोताको शरीरमा आएर तिनका पितृहरू आफू भवसागर तरेर मोक्ष भएको कुरा गर्थे । श्रीमद्भागवत महापुराणको महात्म्यमा धुन्धुकारीले गोकर्णजीसंग गरेको वार्तालाप जस्तै प्रेतहरू मनुष्य शरीरमा आएर स्वामीजीसंग प्रेत पीडाको वर्णन गर्दथे । वाताहारेण जीवामि दैवाधीनफलोदयात् । गयाश्राद्धशतेनापि मुक्तिर्मे न भविष्यति इत्यादि कष्टहरू स्वामीजीका सन्निधिमा प्रेतहरूले व्यक्त गर्दथे । उनीहरूको कष्टलाई विचारेर आफैं सरिक भई पित्र्येष्टिद्वारा उद्धार गर्नुभएका प्रशस्त उदाहरणहरू छन् । प्रेतोद्धारकका रूपमा श्रीस्वामीज्यूलाई प्रस्तुत गर्न खोज्दा उहाँकै प्रत्यक्षमा घटेको एउटा छोटो घटना यहाँ वर्णन गर्नु सान्दर्भिक देखिन्छ । घटना विं.संं. २०३२ सालको हो । भूटान अन्तर्गत चिराङ् कवासे ग्राम निवासी बाँसकोटा परिवारका पितृले प्रेत भएर नाना प्रकारको कष्ट दिएका थिए । घरका बूढा चन्द्रशेखरले कष्टसाध्य जीवन जिउनु परेको थियो । प्रेतको नाना प्रकारको उपद्रवदेखि घर परिवारको मात्र होइन वर–पर छर–छिमेक सबैको जनजीवन प्रायः भयावह भइसकेको थियो । प्रेतको उपद्रव सामान्य थिएन । कहिले दुहुने गाईका बाछा फुकाइदिने, खेतमा पाकेको धान खेतमै बर्वाद गरिदिने आदि आदि । गाउँ बस्तीको प्रचलित नियमानुसार धामी झाँक्री लगाउँदा अझै उपद्रव बढाउने जस्ता कार्यहरू हुन थाले । कालान्तरमा निजी घरमै ढुङ्गामूढाको वर्षा हुन थाल्यो । बाटो हिँड्ने बटुवाहरुलाई पनि समस्या हुनथाल्यो । प्रसङ्गवश यसले त बारी खेतका ढुङ्गा मात्र देखेछ नि भनी कसैले कुरा गर्दा दुईजना बलवान् जवान् व्यक्तिले पनि हल्लाउन नसक्ने खोलाका ठूला ठूला ढुङ्गा मूढाका वर्षा गर्न थालेपछि स्थानीय समाजले पनि हारै खानुप¥यो । यस्तो असाध्य उपद्रवले घरमा बसिसक्नु र सहिसक्नु नभए पछि साह्रै बिथोलिएको मनमस्तिष्कका रुँदै पिरोलिँदै घरकी आमा देवकीले श्रीस्वामीज्यूका समक्षमा बिन्ति बिसाइन् ।
त्यस समयमा श्रीस्वामीज्यू आसाम अन्तर्गत देवसुरीमा विराजमान हुनुहुन्थ्यो । बाँस्कोटाका घरमा घटेका घटनाहरूको इतिवृत्तलाई आद्योपान्त सिंहावलोकन गरिसकेपछि श्रीस्वामीज्यूले भन्नुभयो— “देवी, ती उपद्रवीहरू तिम्रा आफ्नै घरका पितृहरू रहेछन् । कर्म विधानको अपूर्णताले ती प्रेत योनिमा प्राप्त भएका हुन्, तिमीले विधिवत् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गराइदिनू । जाऊ, सुरपुरी गई पं. श्रीकृष्ण प्याकुरेलज्यूलाई बोलाऊ ।”
यसरी श्रीस्वामीज्यूबाट आज्ञा पाइसकेपछि यज्ञ कर्ताहरूले श्रीकृष्ण गुरुज्यूलाई निवेदन गरे । श्रीकृष्ण गुरुज्यू देवसुरी श्रीस्वामीज्यूका कुटीमा पाल्नुभयो । साष्टाङ्ग प्रणिपात भइसकेपछि सहयोगीका रूपमा दामोदर गौतमज्यूलाई अघिसार्दै श्रीस्वामीज्यूको आज्ञा भयो— “कृष्णजी ! तिमीहरू दुई जना भएर बाँस्कोटाका घरका पितृहरूको विधिवत् सपिण्डन कार्य गरी श्रीमद्भागवत महापुराण श्रवण गराइदिनू ।”
उपर्युक्त निर्देशनानुसार नै बाँस्कोटाका घरमा कार्यारम्भ भयो । कार्यारम्भ भएका केही समय पश्चात् नै प्रेतहरूले उपद्रव शुरु गरे । उपद्रव बढो भयङ्कर थियो । कहिले यज्ञमण्डपमा आगो सल्काउने, बिस्तारामा दिसा पिसाब छरिदिने, पकाएको भात यज्ञमण्डपमाथि लगी छरिदिने, अर्चावतार (शालिग्राम) भगवान् फालिदिने जस्ता अमानवीय घटनाहरू घट्न थाले । पण्डित पुरोहितको उठिबास भयो । तै पनि श्रीकृष्ण गुरुज्यूको धैर्य टुटेको थिएन । स्वामी श्रीरामानुजाचार्यको स्मरण गर्दै धेरै आस्था र अटूट विश्वासका साथ श्रीस्वामीज्यूका चित्रपट समक्ष गई साष्टाङ्ग प्रणिपात गरे पश्चात् पे्रतहरू शान्त भए । यज्ञ पुनः प्रारम्भ भयो । यसरी पुनः प्रारम्भ भएको यज्ञ निर्विघ्नतापूर्वक समाप्त भयो । पण्डित पुरोहित वर्ग सबै ससम्मान बिदा हुनुभयो ।
केही समय पश्चात् त्यही व्यास पीठमा दुईटा लाश देखापरे, जहाँ श्रीमद्भागवत सप्ताह महायज्ञ सम्पन्न भएको थियो । आकारमा एउटा सानो थियो भने अर्को ठूलो थियो । यो विषय अड्डा अदालतसम्म पुग्यो । अदालतले निरीक्षण गरी आफ्नो पद्धतिअनुसार विधिवत् दाह संस्कार गरी दसगात्र क्रिया गर्नु भनी पत्र काट्यो । एतदनुसार नै ती लाशहरूको दाहसंस्कार गरी विधिवत् क्रिया कर्म सम्पन्न भयो । घरका बुढा मान्छे चन्द्रशेखरसंग सम्पर्क गरी सोधपूछ गर्दा उनका काका पहिलेदेखि नै हराएका रहेछन् । सप्ताह विधिले कथा श्रवण गराएको लभभग छ महिना बितेको थियो । घरकै सासु बुहारी आफ्ना अतीतमा घटेका घटनाहरूको उल्लेख गर्दै बातचित गर्दै थिए । यसरी आफ्ना घर परिवारको दुखेसो चर्चा गर्दै गरेका बेलामा अचानक घरको मूल दैलो बन्द भयो । दैलो कसरी बन्द भयो भनी हेर विचार गर्दा भित्रबाट आग्लो लगाइएको थाहा भयो । बाहिरबाट घरको मूल ढोकामा आग्लो लगाइनुको कारण पत्ता लगाउन खोज्दा भित्रबाट प्रेत भन्छ—
“म लक्ष्मीनारायणको काका हुँ । आफ्ना कुकर्मले र अन्त्येष्टि क्रिया, कर्म नभएकाले म प्रेत भएको छु । मलाई यसबाट मुक्त हुने चाहना छ ।”
बाहिरबाट नातीहरू भन्छन्—
“तिमीलाई हामीले पुराण सुनायौं, तर पनि कसरी मुक्ति भएन ?”
भित्रबाट प्रेत भन्छ — “शक्ति नभएकाले त्यो पुराण मैले सुन्न सकिन । तिमीहरू भाग्यमानी छौ, ईश्वर समान गुरुलाई पाएका छौ । उनै गुरुजीबा मेरो उद्धार होला भनेर मैले पहिले सबै उपद्रव गरेको हो । गुरुजीकै अगाडि मेरा लागि कर्महरू गरिदिनु । यसो गर्यौ भने मेरो मुक्ति हुन्छ र पितृहरूले प्रशस्त सम्पत्ति दिनेछन् ।”
यसप्रकार पितृहरूको मनस्थिति बुझी बाहिरबाट नातीहरूले प्रतिज्ञा पूर्वक भने— “बाबा ! दैलो खोलिदिनु होस् । तपाईको इच्छा हामी अवश्य पूर्ण गर्ने छौं ।”
यसरी पितृ र परिवारका बीच प्रतिज्ञापूर्वक बातचित भइसकेपछि मूलदैलाको आग्लो घरक्क गरेको आवाज सुनियो । दैलो खोल्दा सहजै खोलियो । यसपछि त्यहाँको जनजीवन प्रायः सामान्य बन्यो । केही दिन पछि माता यशोदाले आफ्ना श्रीमान्संग रुँदै रुँदै आफ्नो घरमा घटेका अतीतका घटनाहरूको इतिवृत्त श्रीस्वामीज्यू समक्ष सुनाइन् । श्रीस्वामीज्यूको आज्ञा भयो— “नरोउ नानी, अब यी पितृहरू आफैँ समालिन्छन् । अझै एकपल्ट पित्र्येष्टि कार्य सम्पन्न गर्ने योजना मिलाऊ । मेरा प्रत्यक्षमा सो कार्य नभएकाले गर्दा शास्त्रनिर्दिष्ट विधान अधुरो रहेको हुन सक्छ । तिमीले धनखर्च सम्बन्धी विषय लिएर अन्यमनस्क भइरहनु
पर्दैन । म कम खर्चमै सो कार्य सम्पन्न गराइदिन्छु ।” समय मिलाएर श्रीस्वामीज्यूले देवसुरीमै विधिवत् पिœयेष्टि कार्य सम्पन्न गराइ दिनुभयो । यज्ञ समाप्तिका दिन अर्थात् प्रारम्भ भएका सातौं दिनमा पितृहरूले नै श्रीस्वामीज्यूको जय होस्, श्रीस्वामीज्यूको जय होेस् भने । यस्ता अभूतपूर्व जय घोषको ध्वनि आकाश मण्डलमा गुञ्जियो । प्रत्यक्षदर्शीहरू चकित भए ।
श्रीस्वामीज्यू देवसुरीमा रहँदा अखण्ड दीपप्रज्वलनका साथ यस्ता सयौं पिœयेष्टि कार्यहरू सम्पन्न भएका थिए । जसमा हजारौं द्विजातिवटुकहरूका व्रतबन्ध संस्कार एवं यथायोग्य वर–वधूका विवाह कार्यक्रमहरू सर्वसुलभ रूपमा सुसम्पन्न भए । यसै सन्दर्भमा धेरै विद्वान्हरूलाई परम्परागतरूपमा श्रीस्वामीजीले व्यासपीठ प्रदान गरिबक्सेको थियो । स्वामीज्यू योग्यता र क्षमतालाई विचार गरेर विभिन्न किसिमका यज्ञानुष्ठान गराउनु हुन्थ्यो । विद्यार्थी, गृहस्थी, त्यागी, सन्यासी आदिका भिन्न–भिन्न यज्ञानुष्ठानलाई स्वामीज्यूले राम्ररी बुझ्नु भएको थियो, त्यसैले सबैलाई आ–आफ्नो यज्ञानुष्ठानमा उत्प्रेरित गर्नु स्वामीज्यूको महत्त्वपूर्ण शिक्षा थियो ।
१३. जगद्गुरुको उपाधि
योगीराज स्वामीज्यूमा एउटा विशिष्ट पक्ष निहित थियो, उहाँ प्रचारमुखी र कीर्तिमुखी कहिल्यै हुनु भएन । योगसाधना र त्यसबाट उत्पन्न हुने कर्तव्यनिष्ठ जीवनप्रति उहाँको अचल निष्ठा देखिन्थ्यो, त्यसैले धेरै मानपदवीले वहाँ विभूषित हुनु भएन । उहाँको तपस्या, समाजसुधारका धार्मिक कृत्यहरू र नैष्ठिक जीवनबाट प्रभावित भएर दक्षिण भारत(आन्ध्रप्रदेश)का विशिष्ट आचार्य चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामीज्यूको उपस्थिति एवं श्रीमत्परमहंस परिव्राजकाचार्य श्रीशठकोप यतिराज जीयर स्वामीज्यूको अध्यक्षतामा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका प्राध्यापक आचार्य श्रीजगन्नाथ कण्डेलज्यू र रामदेशिक विद्यालय (प्रयाग)का आचार्य भागवत भण्डारीज्यूको विशेष प्रयासमा देश–विदेशका सन्त महन्त विभिन्न सम्प्रदायका आचार्य तथा विद्वान्हरूको उपस्थितिमा स्वामीज्यूलाई २०४० साल फागुन २६ गतेका दिन जगद्गुरुको पदवीले सम्मानित गरियो । नेपालमा जगद्गुरुका रूपमा घोषित प्रथम आचार्य श्रीयोगिराज स्वामीज्यू नै हुनुहुन्छ । त्यस अवसरमा २८ कुण्डात्मक गायत्री महायज्ञ भएको थियो र १००८ घडा जलले अभिषेक गरी स्वामीज्यूलाई जगद्गुरु पदले विभूषित गरिएको थियो । उहाले यस कार्यलाई अस्वीकार गर्नुभएको थियो तर आचार्यहरूको अनुरोधमा स्वामीज्यूले स्वीकार्नु भएको थियो ।
नेपालमा वैष्णव सम्प्रदाय प्राचीन कालदेखि नै प्रचलनमा रहेको मानिन्छ । लिच्छवी वंशका कैयौं राजाहरू वैष्णव धर्ममा रुचि राख्ने गर्थे भन्ने कुरा उपत्यकामा भएका वैष्णव मन्दिरहरूबाट र मिथिलामा देखिने वैष्णव परम्पराबाट पनि बुझ्न सकिन्छ । सनातन रूपमा चल्दै आएको श्रीवैष्णव सम्प्रदायलाई श्रीभाष्यकार रामानुजाचार्यले दार्शनिक विवेचना सहित प्रचार–प्रसार गरेपछि यसले अझ विस्तार हुने मौका पायो । यही सनातन मूल्यलाई नै श्रीयोगिराज स्वामीज्यूले नेपालका कुना कुनामा र भूटान एवं भारतीय भूभागमा विस्तार गर्नु भएकाले विद्वद्वृन्दबाट उहाँलाई जगद्गुरुको उपाधि प्रदान हुनुले राष्ट्रिय गौरवको विषय हुन पुगेको छ । यातायातको सुविधा नभएको बेलामा नै नेपालको पूर्वदेखि पश्चिमसम्म यात्रा गरी सामाजिक
सुधारको अभियान सहित श्रीवैष्णव सम्प्रदायको प्रचार प्रसार गर्ने आचार्य स्वामीज्यूको उदार चरित्र साँच्चै नै जगद्गुरु उपाधिको योग्य देखिन्छ ।
१४.स्वामीज्यूका दिव्य उपदेश
स्वामीज्यू अरूलाई उपदेश दिनुभन्दा आफ्नो दिनचर्याद्वारा नै जीवनका अनेक मर्मलाई उद्घाटन गर्नुहुन्थ्यो । वार्तालापको सिलसिलामा नै जीवनका गम्भीर रहस्यहरू उद्घाटन हुँदै जान्थे । उहाँको प्रवचन प्रायः मानवजीवन–उपयोगी र समाजमुखी नै हुने गर्थे । गृहस्थी भएर पालन गर्न सकिने सरल नियम आचरणका शिक्षा–दीक्षाले गर्दा नै धेरै भक्तहरू स्वामीज्यूसंग झुम्मिन्थे । नेपाली भूमि र नेपाली समाजमा सम्भव हुने धार्मिक कृत्यहरू, दैनिक गरिने नित्य कर्महरू, विधि निषेधका सामान्य नियमहरू, खानपान, आहारविहार, वस्त्राभूषण आदि विषयसंग सम्बन्धित जिज्ञासाहरूलाई स्वामीज्यू सरलतासाथ सम्झाउनु हुन्थ्यो । श्रीयोगिराज स्वामीज्यूका दिव्य उपदेशहरू प्रायः गरेर श्रीमद्भागवत महापुराण, श्रीमद्भगवद्गीता, अर्थपञ्चक, रामायण आदि ग्रन्थहरू नै हुन्थे । श्रीमद्भागवत महापुराणको भागवत धर्मका बारेमा स्वामीज्यू विशेष रुचिका साथ व्याख्या गर्नुहुन्थ्यो । ऋषभदेवका सय पुत्रहरूमध्ये नव योगेश्वरहरूले राजा जनकका प्रश्नहरूको उत्तर दिने क्रममा आएका विभिन्न प्रसङ्गहरू स्वामीज्यू बारम्बार भन्ने गर्नुहुन्थ्यो । एकादशस्कन्धको उक्त प्रसङ्गमा ऋषभदेवका पुत्रहरू कवि, हरि, अन्तरिक्ष, प्रबुद्ध, पिप्पलायन, आविर्होत्र, द्रुमिल, चमस र करभाजनले राजा जनकलाई दिएका उपदेश यस दुर्लभ मानवले गर्नु पर्ने अनेक कर्मसंग सम्बन्धित छन् । मानिसले आफ्ना इन्द्रियलाई संयमित गरेर भगवानमा समर्पित भई निश्चिन्त जीवनयापन गर्नुपर्ने, सबैमा भगवद्बुद्धि राखेर समान व्यवहार गर्नुपर्ने, ईश्वर, ईश्वरका भक्त, मूर्ख र ईश्वरका द्वेषीसंग पनि समभाव राख्दै कुनै पनि सांसारिक वस्तुबाट विचलित नहुने अटल भाव सम्बन्धी उपदेशले भक्तहरूको मनमा ईश्वरप्रति दृढ आस्था र मानव लगायत सम्पूर्ण प्राणीमा प्रेम तथा सद्भाव उत्पन्न गर्थ्यो । श्रीमद्भगवद्गीताको प्रवचनमा स्वामीज्यू विशेष रुचि राख्नुहुन्थ्यो । नर–नारायणको संवाद तथा नारायण (कृष्ण) ले नर (अर्जुन) लाई दिएको उपदेश स्वरूप गीताको प्रवचन गर्दा स्वामीज्यू भावुक हुनुहुन्थ्यो । महाभारतको युद्धमा किङ्कर्तव्यविमूढ बनेका अर्जुनको मोह नष्ट गर्नका निम्ति भगवान श्रीकृष्णले दिनु भएका दिव्य ज्ञानहरू मानव कल्याणका निम्ति सधैं सान्दर्भिक हुने कुरामा स्वामीज्यूको विश्वास थियो । जब अर्जुनले ‘शाधि मां त्वां प्रपन्नम्’ भनेर श्रीकृष्णको शरणागति स्वीकार गरे अनि अर्जुनका निम्ति दिव्य ज्ञानको रहस्य खुल्यो भनेर शरणागति सम्बन्धी महत्त्वलाई स्वामीज्यू विशेष दर्साउनुहुन्थ्यो । शिष्य जब सम्पूर्ण रूपमा गुरुप्रति समर्पित हुन्छ अनि गुरुको ज्ञानरूपी गङ्गा प्रवाहित हुन्छ भन्ने कुरा अर्जुन र भगवान् श्रीकृष्णको दृष्टान्तबाट स्वामीज्यू दिने गर्नुहुन्थ्यो । स्वामीज्यू अर्जुनले श्रीकृष्णप्रति गरेको समर्पण भावमा शरणागतिको मर्म भएको उल्लेख गर्नुहुन्थ्यो । जब भक्त निष्काम भावले ईश्वरमा समर्पित हुन्छ भगवानले उसलाई कहिल्यै त्याग गर्नु हुन्न भनेर भगवद्भक्तिको अटल निष्ठा दर्साउने काम स्वामीज्यूका उपदेशको सार रहेको देखिन्छ ।
श्रीवैष्णव ग्रन्थहरूमा सहस्रगीति, अर्थपञ्चक, श्रीवचनभूषण, तत्त्वत्रय, निगमपडी, आलवन्दार आदि ग्रन्थहरू महत्त्वपूर्ण मानिन्छन् । स्वामीज्यूलाई यी ग्रन्थहरू प्रायः मुखाग्र नै रहेका थिए र विशेष गरेर अर्थपञ्चक, निगमपडी, आलवन्दारको चर्चा भइरहन्थ्यो । जीवात्मा र परमात्माको स्वरूपका बारेमा स्वामीज्यू गम्भीर विमर्श गर्नुहुन्थ्यो । परमात्माका पर, व्यूह, विभव, अन्तर्यामी र अर्चा स्वरूपहरूमा सबै जन समुदायका निम्ति सुलभ अर्चा (मूर्ति) स्वरूप भगवान्को आराधना गर्ने विधान भएको भन्दै भगवान्को वात्सल्य, सौशील्य, सौलभ्य, सौकुमार्य आदि गुणहरूको महत्त्वलाई स्वामीज्यू सधैं चर्चा गर्नुहुन्थ्यो । भगवान्ले सर्वजनसुखाय अर्थात् सबै मनुष्यको सुखका लागि अर्चा अवतार धारण गरेको र जस्तोसुकै विवश मानिसले पनि अर्चा स्वरूप भगवानको उपासना गर्ने गरे सांसारिक दुःख नाश हुने धारणा स्वामीज्यूले भन्ने गर्नुहुन्थ्यो । स्वामीज्यूले जहिले पनि जीवात्माका बद्ध, मुक्त र नित्य भेदहरूको चर्चा गर्नुहुन्थ्यो । बद्धजीवन सांसारिक वासनाले बद्ध भएको हुँदा जन्म–जन्मान्तरको सुकृत कर्महरू सञ्चित भएपछि र भगवानको निर्हेतुक कृपाद्वारा शरणागति मार्गमा आउने र एकचोटि शरणागत भएपछि पुनः यस भवसागरमा नआउने चिन्तन प्रवचनको विषय बन्थ्यो । प्रवचनकै क्रममा मुक्तिका अनेक स्वरूपको चर्चा हुने गथ्र्यो र कैवल्यमुक्ति नभएर सायुज्यमुक्तिको महत्त्व वर्णन हुन्थ्यो । स्वामीज्यू सालोक्य, साष्र्टि, सामीप्य र सायुज्य जस्ता अनेकविध मुक्तिका स्वरूपका बारेमा चर्चा गर्नु हुन्थ्यो र यस प्रकार मुक्तिका बारेमा प्रवचन भइरहँदा भक्तहरू भावविभोर भएर भगवान्मा तल्लीन रहन्थे । स्वामीज्यू जीवात्माको मुक्तिका प्रसङ्गमा धूममार्ग र आर्चिरादिमार्गको विशद वर्णन गर्नुहुन्थ्यो । जीवात्माले यस पाञ्चभौतिक देह छोडेपछि कसरी दिव्य देह प्राप्त गर्छ र देवताहरूद्वारा सम्मानित हुँदै अग्नि, सूर्य आदि लोक पार गर्दै ब्रह्मलोकमा पुगेर चतुर्मुखी ब्रह्माद्वारा सम्मान प्राप्त गर्छ र वैकुण्ठ धाम पुग्दछ भन्ने कुरालाई स्वामीज्यू चित्रवत् वर्णन गर्नुहुन्थ्यो । विरजा नदीमा स्नान गरेर दिव्य देह प्राप्त गरेको जीव भगवान्को सान्निध्यमा दिव्य ऐश्वर्य भोग गर्दै रहन्छ भनेर मानव हृदयलाई अभिप्रेरित गर्ने पवित्र वचन स्वामीज्यूका प्रवचनका विषय बन्थे । श्रीयोगिराज स्वामीज्यूसंग सन्त, महात्मा, गृहस्थ र विद्यार्थीहरूको जमघट हुने गथ्र्यो । प्रवचन दिने क्रममा सरल मात्रामा शास्त्रीय मर्महरू उद्घाटित हुन्थे । भगवानको ध्यान कसरी गर्ने र भगवानको ध्यान नगर्दा वा शरणागत नहुँदा के हुन्छ भन्ने जस्ता जिज्ञासामा स्वामीज्यू प्रायः गरेर निम्नलिखित श्लोकहरू उच्चारण गर्नु हुन्थ्योः—
केचित् स्वदेहान्तर्हृदयावकाशे प्रादेशमात्रं पुरुषं वसन्तम् ।
चतुर्भुजं शङ्खरथाङ्गचक्रगदाधरं धारणया स्मरन्ति ।।
नृदेहमाद्यं सुलभं सुदुर्लभं प्लवं सुकल्पं गुरुकर्णधारम् ।
मयानुकूलेन नभस्वतेरितं पुमान् भवाब्धिं नतरेत् स आत्महा ।।
यी दुवै श्लोक श्रीमद्भागवत महापुराणका हुन् । पहिलो श्लोकले भगवानको ध्यान गर्ने विधि बताएको छ । मानवले आफ्नै हृदयाकाशमा निवास गर्ने भगवानको ध्यान गर्नुपर्ने विधि र शङ्ख, चक्र, गदा, पद्म धारण गर्ने भगवानको स्वरूपका बारेमा यहाँ बताइएको छ । दोस्रो श्लोकमा मानव जीवनको महŒव र गुरुको शरणमा गएर यस भवसागरलाई पार गर्नुपर्ने मानवकर्तव्यको बोध गराइएको छ । यी दुवै श्लोकलाई उद्धृत गर्दै मानवलाई मोक्ष मार्गको अवलम्बन गर्ने सल्लाह स्वामीज्यूको प्रवचनका विषय हुन्थे । संसारमा देहसंग सम्बन्धित सबै वस्तु क्षणिक छन् र ती सम्बन्ध संयोगमात्र हुन् भन्ने कुरालाई निगमपडिका विभिन्न वाक्यहरूबाट स्वामीज्यू पुष्टि गर्नुहुन्थ्यो । ‘मातापितरौ रक्षकौ न भवतः’ भन्दै मानवलाई रक्षा गर्न माता, पिता, दाजु, भाइ, इष्ट मित्र कोही पनि समर्थ नभएको कुरा प्रह्लाद र हिरण्यकशिपु, विभीषण र रावण आदि दृष्टान्तद्वारा उहाँ पुष्टि गर्नुहुन्थ्यो । यसरी स्वामीज्यूको दिनचर्याका रूपमा नै कुनै न कुनै मानव हितका प्रवचनहरू हुने गर्थे । प्रत्येक दिन भक्तहरू आउने र स्वामीज्यूबाट केही सुन्ने इच्छा गर्ने हुँदा स्वामीज्यू वेद, उपनिषद्, पुराण र वैष्णव ग्रन्थहरूका दिव्य वाणी भन्ने गर्नुहुन्थ्यो । माथि उल्लेख गरिएका स्वामीज्यूका प्रवचनहरूलाई स्वामीज्यूको सामीप्यबाट नै सुनेको हुँदा करिव तीस वर्षपछि केही स्मरणमा आएका कुराहरूलाई टिपोट गरिएको हो । जति समय बित्तै गयो स्वामीज्यूका ती दिव्य वाणी जीवनका यथार्थ सत्य भएर आँखा सामु नाचिरहेका छन् ।
स्वामीज्यूका उपदेश पाएर धेरैले आफ्नो जीवन धन्य भएको महसुस गरेका छन् । आज पनि ती फलदायी दिव्य वचन स्मरण गरेर स्वामीज्यूका शिष्यहरू द्रवित हुने गर्दछन् । तिनै आप्त वचनहरूलाई स्मरण गर्दै हजारौं शिष्यहरू आफ्नो दैनिक जीवनपद्धति सञ्चालन गरिरहेका छन् । (श्रीस्वामीजीबाट गरिएका उपदेशको केही विस्तार उपदेशखण्डमा उल्लेख गरिएको छ ।)
१५. स्वामीज्यूले स्थापन गरेका मठमन्दिर, विद्यालय र गौशाला
श्रीयोगिराज स्वामीज्यूले नेपाल, भूटान र भारतका विभिन्न स्थानमा मठमन्दिर तथा विद्यालयको स्थापना गर्नु भएको छ । मठमन्दिरको स्थापना गरेर वैदिक पाञ्चरात्रागम विधिद्वारा भगवानको पूजा अर्चनाको व्यवस्था गर्ने काममा स्वामीज्यू क्रियाशील रहनु भएको देखिन्छ । जुन जुन ठाउँमा मन्दिर निर्माण गरिए ती आजसम्म पनि विधिपूर्वक चलिरहेकै छन् । सर्वप्रथम स्वामीज्यू धर्मप्रचारार्थ नेपाल पसेपछि सुदूरपश्चिम धनगढीबाट पूर्वतर्पm दाङ हुँदै गुल्मीको जुहाङ रितौँदीमा पुग्नु भएको देखिन्छ । प्राप्त सूचना अनुसार रितौँदीमा २०१२ सालमा स्वामीज्यू पुग्नु भएको हो र भारत नेपाल गर्ने क्रममा २०२१ सालमा त्यहाँ लक्ष्मीनारायण मन्दिरको स्थापना भएको देखिन्छ ।
यसरी नै गुल्मी जिल्लाकै गण्डकी किनारमा अवस्थित पूर्तिघाट फूलबारीमा २०२५ सालमा लक्ष्मीनारायण मन्दिरको स्थापना भएको देखिन्छ । यसैगरी पूर्वी नेपालको झापा जिल्लाको मध्य भागमा कनकाई नदीको पश्चिमीतटमा वि.२०३४ सालमा लक्ष्मीनारायण मन्दिरको प्रतिष्ठा भएको हो । स्वामीज्यूको जीवनका अन्तिम वर्षहरू यहीं नै बितेका देखिन्छन् । यहाँ स्वामीज्यूले आफ्ना आचार्यवर अनन्ताचार्य स्वामीज्यूको नाममा अनन्तादर्श संस्कृत पाठशाला समेत निर्माण गर्नुभयो । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू देश विदेशमा छरिएर सरकारी तथा गैरसरकारी उच्च निकायमा सेवारत देखिन्छन् । मन्दिर र विद्यालय अतिरिक्त गौशाला र यज्ञशालाको पनि प्रबन्ध गरेको पाइन्छ । स्वामीज्यू गौसेवाको महŒवलाई मुक्त कण्ठले प्रशंसा गर्नुहुन्थ्यो । माईधार लक्ष्मीनारायण मन्दिर परिसरमा गौशालाको पनि व्यवस्था गरिएको छ ।
भूटानमा पनि स्वामीज्यूले मठमन्दिरको स्थापना गर्नु भएको छ । भूटान देशको माउगाउँ भन्ने ठाउँमा २०३८ सालमा लक्ष्मीनारायण मन्दिरको स्थापना भएको हो । भूटानबासी भक्तहरूलाई भगवद्धामको निर्माण गरेर भगवान्को सेवा गर्ने सुनौलो वातावरण निर्माण गर्ने काममा यस मन्दिरको अहं भूमिका रहेको देखिन्छ । यसरी नै भूटानकै सुरे भन्ने ठाउँमा २०४२ सालमा लक्ष्मीनारायण मन्दिरको स्थापना भएको छ । मन्दिर निर्माण सँग सँगै विद्यालय, गौशाला, गुठी आदिको व्यवस्थामा पनि स्वामीज्यूको विशेष ध्यान गएको देखिन्छ ।
मन्दिर निर्माण गरेर विधिवत् अर्चा विग्रहको प्राणप्रतिष्ठा भएपछि मन्दिरमा नित्य पूजा अर्चना, भोगराग आदिको व्यवस्था गर्नु पर्ने हुन्छ । यदि मन्दिरको निर्माण गरेर भगवान्को प्राणप्रतिष्ठा भएपछि नित्य भोगराग भएन भने त्यो भन्दा अर्को अपचार नहुने भन्दै स्वामीज्यू त्यसमा विशेष ध्यान दिनुहुन्थ्यो । यसरी योगीराज स्वामीज्यूले माथि उल्लेख गरेका मठमन्दिर, गौशाला र विद्यालयको स्थापना गर्नु भयो र समाजलाई ईश्वर प्रेमतर्फ अभिप्रेरित गर्दै सबै ईश्वरभक्तहरू र प्राणीमात्रमा प्रेम गर्न उत्प्रेरित गर्नु भयो । यसले सामाजिक सद्भाव, शिक्षादीक्षा र आध्यात्मिक जागरण ल्याउने अमूल्य योगदान मिलेको छ । १६.स्वामीज्यूको दिव्यधाम गमन
आचार्यहरू केही समयका निम्ति यस संसारमा विचरण गर्नु हुन्छ र ईश्वरीय पथको प्रदर्शन गराउँदै पुनः दिव्य धामतर्फ नै जानुहुन्छ । श्रीयोगिराज स्वामीज्यू यस लीला विभूति धराधाममा ११७ वर्षको उमेरसम्म योगमूलक स्वस्थ भौतिक देह र पारमार्थिक दिव्य कर्म गरेर रहनु भयो । नेपाल र भारतका विभिन्न स्थानमा वैष्णव धर्मको ध्वजा विस्तार गर्दै २०४२ साल वैशाख १७ गतेका दिन स्वामीज्यूले यस धराधामलाई छोड्नु भयो । यस धराधामलाई छोड्ने बेलामा माईधार २०४१ चैत २१ गते स्वामीज्यू भूटानतर्फ जानु भएको थियो ।
भूटानका भक्तहरूको आग्रहमा भूटानको पल्लो डाँडामा तिन दिने श्रीमन्नारायण नाम सङ्कीर्तन भइरहेकै बेला स्वामीज्यू समाधि अवस्थामा रहनुभयो । यसरी हजारौं भक्त भागवतहरूको समुपस्थितिमा स्वामीज्यूले पाञ्चभौतिक शरीरलाई योग समाधिद्वारा विसर्जन गरे पनि स्वामीज्यूका दिव्य कर्म र सन्मार्गमा अभिप्रेरित गर्ने दिव्य उपदेशहरू आउने पुस्तौं पुस्ताका हृदयमा जीवित भएर रहिरहने छन् । स्वामीज्यूलाई स्वामीज्यूका शिष्यहरूले सधैं प्रातः स्मरणका रूपमा निम्न लिखित तनियन श्लोकमा स्मरण गर्नुहुन्छ—
श्रीकौशिकान्वयपयोनिधिपूर्णचन्द्रं
श्रीस्वाम्यनन्तगुरुवर्यपदाब्जभृङ्गम् ।
अष्टाङ्गयोगनिपुणं चरमार्थनिष्ठं
भक्त्या भजामि महितं कमलाक्षसूरिम् ।।
यतिपतिपदभृङ्गं कौशिकाब्धीशचन्द्रं
शठरिपुमतसक्तं वादिसिंहार्यभक्तम् ।
कमलनयनमार्यानन्तवर्यैकशिष्यं
सकलबुधवरिष्ठं योगिराजं भजामि ।।
सन्दर्भ सामग्री
काफ्ले, हरिप्रपन्न (२०५९), इतिहासले भुल्न नसक्ने महापुरुष, वाराणसी ः भूटान नेपाल र भारतका श्रद्धालु आचार्यगण एवं भक्त–भागवतहरू ।
पराङ्कुशाचार्य (आसाम)द्वारा प्राप्त सूचना । भागवत, श्रीवैष्णवदास (२०३०), श्रीगुरुपरम्परा, द्वितीय संस्करण ः गुल्मी जुहाङ रितौदी ः भागवत श्रीवैष्णवदास । रामानुज नेपाल (श्रविैष्णव युवा परिषद् नेपालका महासचिव) द्वारा प्राप्त सूचना ।
(यो लेख श्रीवैष्णव युवा परिषद् द्वारा प्रकाशित श्रीयोगिराज स्वामीजीको स्मृतिग्रन्थमा श्रीनारायण गडतौलाजीले लेख्नुभएको छ, त्यहीँबाट श्रीवैष्णव युवा परिषद्बाट अनुमति लिएर यहाँ प्रकाशित गरिएको हो)

From https://www.shreesanchar.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%AF-%E0%A4%86%E0%A4%A6%E0%A5%8D%E0%A4%AF-%E0%A4%9C%E0%A4%97%E0%A4%A6%E0%A5%8D%E0%A4%97%E0%A5%81%E0%A4%B0%E0%A5%81-%E0%A4%AF%E0%A5%8B/

Share.

Leave A Reply