भाग्योदय आधारभुत विद्यालयको भाग्य चम्किदैं

0

तिलक सुवेदी, कार्तिक ६ गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा रहेको भाग्योदय आधारभुत विद्यालयको भाग्य चम्किदै गएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।

मंगलबार गैरे सेवा समाज जापानको सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका उप प्रमुख बिष्णुकुमारी कंडेलले भाग्योदय विद्यालयको अब साँच्चिकै भाग्य चम्किदै गएको बताउनुभयो । गरिब तथा विपन्न परिवारले पढ्दै आएको यस विद्यालयमा अहिले सहयोगी हात फैलिदैं गएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयलाई सहयोग गरेकोमा गैरे सेवा समाज जापानलाई धन्यबाद ज्ञापन गर्दै उहाँले यस्ता सहयोगलाई निरन्तता दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति तथा गैरे सेवा समाज जापानका वरिष्ठ उपाध्यक्ष डिलाराम गैरेले जनतालाई सेवा र सरकारलाई टेवा पुग्ने गरी काम गर्ने हेतुले संगठित भएको जनाउँदै विद्यालयलाई सहयोग गर्न पाएकोमा आफुहरु हर्षित भएको बताउनुभयो ।

बागलुङ जिल्लाको गल्कोटबाट २०६८ सालमा शुरु भएको यस संस्थाले “मानवको सेवा नै धर्म हो” भन्ने मुलमन्त्र लिएर अगाडि बढेको छ । सो अवसरमा समाजले विद्यालयको अक्षयकोषका लागि १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ ।
कार्यक्रममा गैरे सेवा समाज जापानका निवर्तमान अध्यक्ष टंकप्रसाद गैरेले मानवको पहिलो आँखा शिक्षा भएकोले संस्थाले विद्यालयमा सहयोग गरेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट नगरपालिका वडा ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैरे सेवा समाज जापानका संरक्षक टिकाराम गैरे, गैरे सेवा समाज जापानका महासचिव भिमप्रसाद गैरे, गैरे सेवा समाज चितवनका संरक्षक शालिकराम गैरे, गैरे सेवा समाज चितवनका सचिव हरिप्रसाद गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कंडेल लगायतको सहभागिता रहेको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष बेलप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक डिल्लीराम अम्बैले गर्नुभएको थियो ।

Share.

Leave A Reply