आर्थिक पारदर्शीताको माग राख्दै उपप्रमुखद्धारा नगरपालिकामा तालाबन्दी

0

गैँडाकोट, २६ भदौ । गैँडाकोट नगरपालिकामा उपप्रमुख विष्णुकुमारी कंडेल लगायत बहुमत सदस्यले नगरकार्यपालिकाको पारदर्शीता र सुशासनको माग गर्दै गँैडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

गैँडाकोट नगरकार्यपालिकाबाट भएका विकास निर्माण लगायतका खर्चका हिसाब किताब जिम्मेवार जनप्रतिनिधिहरुलाई जान्नबाट बन्चित गराएको आरोपमा उपप्रमुख लगायत बहुमत सदस्यले तालाबन्दी गरेका हुन् ।

उपप्रमुख विष्णुकुमारी कंडेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७४/ ७५ को विनियोजित बजेटमा केही बजेट रिजर्भ राखिएको र सोही बजेट सोही आर्थिक वर्षको अन्तिम महिनामा कार्यपालिकाको निर्णय विना नै खर्च गरिएको जनाइएको छ ।

उपप्रमुख विष्णु कुमारी कंडेलले बिल भौचर हेर्नका लागि निवेदन मार्फत प्रमुख प्रशासकिय अधिकृतलाई हेर्ने इच्छा व्यक्त गर्दा निजले आदेश अनुसार हेर्न नदिएकोले पुन ः नगरप्रमुखलाई पनि सम्बोधन गर्दा, नगरकार्यपालिकाको बैठकमा कुरा उठाउँदा पनि वेवास्ता गरेको जनाइएको छ । हिसाब हेर्न नदिइएको र सूचना पाउने हकबाट उपप्रमुख लगायत अन्य बहुमत जनप्रतिनिधिलाई समेत हेर्न नदिई नगरप्रमुख एक्लौटी रुपमा अघि बढेको उपप्रमुखद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । पटकपटक नगरकार्यपालिकाको बैठकमा नगरप्रमुख समक्ष आर्थिक पारदर्शीताका लागि माग गर्दा पनि सुनुवाई नभएको हुँदा बाध्यता वश नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कंडेलको भनाई रहेको छ ।

नगरको सुशासन र आर्थिक पारदर्शीताको जोडदार माग गर्दै सत्यतथ्य र यथार्थ छिटोभन्दा छिटो बाहिर ल्याउन समेत विज्ञप्तीमा माग गरिएको छ । यसले नगरबासीमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थि जनाउँदै नगरभित्रको सुशासन र आर्थिक पारदर्शीताका लागि नगरबासीको सहयोगको अपेक्षाका साथ लोकतन्त्रको मर्म र भावना अनुरुप नगरबासी प्रति उच्च सम्मान समेत विज्ञप्तीमा जनाइएको छ ।

मंगलबार दिउसो राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरुबीचको छलफलका क्रममा नगर प्रमुखले केही दिनमा छलफलबाट टुंगाउने भने पनि लिखित प्रतिवद्धता व्यक्त नगर्दा तालाबन्दी गर्नुपरेको बहुमत सदस्यहरुको भनाइ थियो । यस विषयले पूर्णता पाउन नसक्दा विभिन्न कार्यपालिकाको बैठकमा पनि अवरुद्ध हुँदै आएको उपप्रमुख विष्णु कुमारी कंडेलले बताउनुभयो ।

Share.

Leave A Reply