उच्च पदस्थको नजरमा मौलाकालिका

0


श्रीधर उपाध्याय

गैँडाकोट, २ चैत । नारायणी पुलबाट चारकिलोमिटर उत्तरतर्फ रहेको मौलाकालिका मन्दिर समुद्र सतहबाट ५६१ मिटर उचाईमा रहेको छ । भौगोलिक अवस्थितिले मात्र होइन ख्याति र चर्चाका कारण पनि मन्दिरको गरिमा उच्च रहेको छ । राष्ट्रिय रुपमा चर्चामा रहेको मन्दिर उच्च पदस्थको नजरमा पनि चर्चा नै पाइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित मौलाकालिका मन्दिरमा राष्ट्रपति, पूर्व राष्टपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सांसद तथा विभिन्न विशिष्ट व्यक्तिहरुले भ्रमण गरिसकेका छन् । पहाडी बनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवम् शक्तिप्रवल मौलाकालिका भगवतीको मन्दिर प्रति उच्च पदस्थको विचार पनि सकरात्मक देखिन्छ ।

गत असोज १९ गते हिँडेरै मौलाकालिका मन्दिर पुग्नुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलाकालिका मन्दिर नेपालकै प्रमुख ऐतिहासिक धार्मिक स्थलको रुपमा विकसित बन्दै गएको बताउनुभएको थियो । मन्दिरको विश्राम कक्षमा रहेको आगन्तुक पुस्तिकामा दाहालले मन्दिरको संरचनागत विकासमा योगदान गर्नेलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको मन्दिरको विकासमा निरन्तर प्रगतिको कामना सहित दाहालले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद प्रा. डा. शंशाक कोइरालाले मान्दिरको उन्नयनकालागि केही गर्ने प्रण गर्नुभएको छ । गत पौष ४ गते मन्दिर पुग्नुभएका कोइरालाले उपस्थिति पुस्तिकामा मन्दिरको श्रीवृद्धि र विकासका लागि आफु कटिवन्द रहेको सन्देश लेख्नुभएको छ । कोइरालाले माता कालिकाको दर्शनले खुसी लागेको समेत उल्लेख गर्नुभएको छ ।

गत कार्तिक १ गते बुधबार कालिका मन्दिर पुग्नुभएका प्रधानन्याधिश गोपाल पराजुलीले मन्दिरको ऐतिहासिक महत्व रहेको पुस्तीकामा उल्लेख गर्नुभएको छ । रोल्पा जिल्ला अदालतको भवन उद्घाटन गरेपछि काठमाडाँै फर्कने क्रममा पराजुली मन्दिर दर्शनकालागि रोकिनुभएको थियो । मान्दिरको विकास क्रमबाट प्रभावित पराजुलीले मन्दिरको विकासमा अहोरात्र खटिने सबै टिमको प्रशंसा समेत गर्नुभएको छ ।

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले यसै वर्ष असोज १० गते मन्दिरको दर्शन गर्दै मन्दिरको प्राकृतिक सौन्दर्यता र मन्दिरको ख्यातिलाई अझै उचाईमा लैजानु आवश्यक भएको बताउनुभयएको थियो ।

यसैगरी माघ २७ मा मन्दिर पुग्नुभएका स्वामी कृष्णानन्द गिरीले दुर्लभ दर्शनीय स्थलको रुपमा मौलाकालिका मन्दिरलाई लिनुभएको छ । दुर्लभ दर्शनीय स्थल मध्येको एक स्थलको सौन्दर्य असाधारण रहेको गिरीले उल्लेख गर्नुभएको छ ।

प्रन्ध्रौ शताब्दीको अन्त्य तथा सोह्रौ शताब्दीको शुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मुनिमुकुन्द सेनको पालमा मौलो गाडी, कालिका भगवतीको शिला स्थापना गरेर पुजा अर्चना गर्दै आएको भन्ने किंमबदन्ती रहेको पाइन्छ ।

२०३२ साल मंसिर महिनामा गैंडाकोट–१, निवासी बयोबृद्ध काशीनाथ पौडेलले स्वप्नमा कालिका मगवतीको दर्शन पाएपछि कुमानसिंह गुरुङ सहित मन्दिर भएको स्थलमा पुगेर खनी खोस्रीगर्दा काठको मौलो, घण्टी र शिलाहरु भेटिएको कुरा उत्खनन कर्ताहरुको भनाई रहेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका सदस्य भुमिश्वर पौडेलले विजय खबरलाई बताउनुभयो । मन्दिरका संस्थापक अध्यक्ष डिलाराम कंडेलले पनि विजय एफएमको कार्यक्रम अतिथि देवो भवमा कुराकानी गर्दै मन्दिरका बारेमा काशिनाथ पौडेलले भने पछि मात्रै आफूहरु त्यहाँ पुगेको बताउनुभएको थियो ।

२०३७ साल श्री कृष्ण जन्मअष्टमीका दिन भगवान श्रीकृष्णको पूजा अर्चना र २४ घण्टा अखण्ड हरिकीर्तन सम्पन्न भएपछि, प्रत्येक वर्ष कृष्ण भगवानको पूजा र हरिकीर्तन गर्ने व्यवस्था मिलाउन २०३७ साल आश्विन २५ गते धार्मिक सेवा समिति गठन भएको थियो यस पछि यस क्षेत्रमा धार्मिक, अध्यात्मिक, ऐतिहासिक सामाजिक र पर्यटकीय स्थलको रुपमा गुरुयोजना अनुसार विकास गर्ने गरी संस्था अघि बढीरहेको मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो ।

Share.

Leave A Reply