विकलाङ्ग हुदैमा निरास नहुनुहोस : बरुण चौधरी

0

तिलक सुवेदी

नवलपुर ।  चौधरी ग्रुपका कार्यकारी निर्देशक तथा चौधरी फाउण्डेसनका सदस्य बरुण चौधरीले विकलाङ्ग हुदैमा निरास नहुन आग्रह गर्नुभयो ।

 

चौधरी फाउण्डेसन र सहज सामुदायिक अस्पताल संगको सहकार्यमा कृत्रिम खुट्टा वितरण शुरू गरेको २० औं दिन बुधबार अवलोकन गर्दै विकलाङ्ग ब्यतिहरुलाई अब सक्षम बनाउने गरी फाउण्डेसनले कार्यक्रम अगडि बढाएको चौधरीले बताउनुभयो ।

 

नवलपुर जिल्ला कान्छो जिल्ला नभई नेपालकै मध्यविन्दुमा रहेकोले यसै जिल्लामा कृत्रिम खुट्टा जडान अस्पताल सञ्चालनमा ल्याउने बताउनुभयो । चौधारीले सहज अस्पतालबाट नै निरन्तर सेवा प्रवाह गर्ने सोच बनाएको बताउनुभयो ।

 

पाँच सय व्यक्तिहरू लाभान्वित हुने गरी संचालनमा ल्याएको शिविरमा २० औं दिन सम्म ३१८ जनाले कृत्रिम खुट्टा जडान गरिसकेको सहज सामुदायिक अस्पतालका पूर्व अध्यक्ष करुणा सागर सुवेदीले बताउनुभयो । शिविर अझै एक महिना नै चल्ने सुवेदीले बताउनुभयो । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् ।
चौधरी फाउण्डेसन, भगवान महाविर विकलाङ्ग सहायता समिति, सहज सामुदायिक अस्पताल तथा भारतीय दुतावासको संयुक्त आयोजनामा नेपालमा निःशुल्क कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो ।

पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गते सम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोट स्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि सञ्चालनमा आएको छ ।

 

दुवै ठाउ“बाट ५०० व्यक्तिहरूका लागि निशुल्क कृतिम खुट्टा उपलब्ध गराउने योजना रहेको छ । चौधरी ग्रुपद्वारा संचालित देशकै नमूना औद्योगिक क्षेत्र सिजी इन्डष्टियल पार्क र शाश्वत धाम नवलपुरमै रहेको छ । नवलपुर जिल्लाको समग्र विकासमा चौधरी फाउण्डेसनले विशेष पहल लिदै आएको छ ।

एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता रहेको छ । खुट्टा गुमाएका व्यक्ति हिडडुल गर्न नसक्ने मात्रै होइन, उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ । एउटा व्यक्तिले कृतिम खुट्टा पाउनु भनेको उसले नया“ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो । भारत स्थित जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित संस्था पनि हो ।

अमेरिकी टाईम म्यागेजिनले यस संस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाका रुपमा अवार्ड गरेको छ । मुलुककै कान्छो जिल्ला नवलपुरको समग्र विकासको लागि जिल्लाका विकास साझेदार समुह संगको परामर्शमा सहमति संस्था, जिल्ला समन्वय समिति संगको समेत सहकार्यमा नमुना नवलपुर जिल्ला विकास योजना, परिकल्पना दस्तावेज २०७५ सार्वजनिक गर्दै फाउण्डेसनले गरेका प्रतिबद्धता कार्यान्वयनका लागि यस कार्यक्रमको सुरुवात भएको हो । उक्त दस्तावेजमा रहेका विभिन्न क्रियाकलापहरु मध्ये गुणस्तरीय शिक्षाका लागि विभिन्न विद्यालयहरुमा डिजिटल कक्षा, शुद्ध खानेपानी प्रणाली आदि कार्यक्रम पनि फाउण्डेसनले कार्यान्वयनमा ल्याएको छ ।

Share.

Leave A Reply