गैडाकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक आज/ तरङगे खोलाको पानी गैडाकोट नगरभरी वाँडीने

0

डोलराज रानाभाट, असार १७,गैडाकोट । गैडाकोट नगरपालिकाको आज हुने पाँचौ नगरसभाको तयारी अन्तिम चरणमा पुगेको छ । गैडाकोट रिसोटमा विहान ११ बजे बस्ने नगरसभाको तयारी अन्तिम चरणमा पुगेको हो । असार १० भित्र बजेट सार्वजनिक गर्न नसकेको गैडाकोट नगरपालिकाले १८ वटै वडामा बजटेको सिलिङ तोकेको छ ।

भोलि पाँचौ नगरसभा तोकेको नगरपालिकामा सोमवार बसेको ४७ औँ नगरकार्यपालिकाको बैठकले सिलिङमा सहित नीति तथा कार्यक्रममा छलफल गरेको छ । वडानम्वर ३, १४ र १८ लाई ८० लाखका दरले बजेट सिलिङ दिइएको छ भने अन्य वाँकी वडाहरुलाई ७० लाखको दरले बजेट सिलिङ तोकिएको छ । त्यस्तै विषयगत समितिहरुलाई पनि बजेटको सिलिङ उपलब्ध गराइएको छ । यद्यपी आज  सुरु हुने पाँचौ नगरसभामा भने नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्ने तयारी भएको बुझिएकोछ भने सिलिङपनि लिखित निर्णय हुन भने वाँकी छ ।

आजको नगरसभामा नगरप्रमुख र उपप्रमुखले वाचन गर्ने दुइवटा नीति तथा कार्यक्रम बनाइएको भने बजेटका अंक आज  सार्वजनिक हुनेछैनन । नगरप्रमुख र उपप्रमुख दुवैले पढ्न मिल्नेगरि दुइवटा छुट्टाछुट्टै रुपमा तयार पारिएको नीति तथा कार्यक्रममा विगतकोलाई दोहोर्याइएको र नयाँ आशालाग्दो खासै नसमेटिएको वुझिएको छ । नगरभित्र संचालनमा रहेका अटो, रिक्सालाई पनि करको दायरमा ल्याइने नीति तथा कार्यक्रम रहेको वुझिएको छ । एक वडा एक हरियाली पार्क निर्माण देखि बढ्दो शहरीकरणलाई व्यवस्थित वनाउन अण्डर ग्राउण्ड पार्किङ स्थल बनाउन जोड दिने बताइएको छ ।

गैडाकोट चक्रपथ निर्माणका लागि डिपीआरको कार्य अघि बढाइने र तरङगे खोलाको पानीबाट गैडाकोट नगरभरी खानेपानी वतरणका लागि पहल गरिने वुझिएको छ । त्यस्तै अपाङ जेष्ठ नागरिक एकल महिलाहरुका सिफारिसहरु निशुल्क गर्नेगरि नीति तथा कार्यक्रम बनेको स्रोतले बताएको छ । गैडाकोट नगरपालिका वडान ३, १४ र १८ लाई वाख्रा पकेट क्षेत्रका रुपमा विकास गरिने लगायतका कार्यक्रम समेटिएको र आगामी आर्थिक वर्षभित्र नगरका सवै वडामा विद्युतीकरणको काम सक्ने लक्ष्य लिइएको पनि बताइएको छ ।

नगरपालिकामा आजपनि भोलिको तयारीका लागि बैठक बसेको थियो । गत शुक्रवार मात्रै नगर उपप्रमुख विष्णुकुमारी कडेँल संयोजक रहेको राजश्व परामर्श समितिको बैठक बसेको थियो । उपप्रमुख कडेँल संयोजकत्व रहेको बैठकले अनुमानति आयको विवरण दिएपछि आइतवार मात्रै स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठक वसेको थियो । नगरप्रमुख छत्रराज पौडेलको संयोजकमा बसेको बैठकले वडालाई र विषयगत समितिहरुलाई बजेट सिलिङ तोकेको थियो । सोहि सिलिङमा रहेर हिजो कार्यपालिका बैठकमा वृहत छलफल भएको थियो ।

Share.

Leave A Reply