गैडाकोट १० र ११ को ३ तले पक्की संयुक्त वडा भवनको शिलन्यास

0

डोलराज रानाभाट, २७ वैशाख  । गैडाकोट नगरपालिका वडा नम्वर १० र ११ को संयुक्त वडा भवनको शिलन्यास गरिएको छ । नगरपालिकाको योजना अन्तर्गत निर्माण गर्न लागिएको भवनको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले आज विधिपूर्वक शिलन्यास गर्नुभएको हो । शिलन्यास कार्यक्रमपश्चात नगर प्रमुख पौडेलले भवन निर्माण भएपछि जनताले सहज तरिकाले सेवा लिन पाउने बताउनुभयो ।

नजिकै अस्पताल, खानेपानीको कार्यालय भएकाले पनि एकै ठाउँबाट धेरै सेवा लिन सक्ने उहाँको विश्वास थियो । आगामी असार मसान्तसम्म भुँइतल्लाको निर्माण सम्पन्न गर्ने योजनासहित निर्माणकार्यलाई अघि बढाइएको छ । भूकम्प प्रतिरोधात्मक अत्याधुनिक ३ तले भवनको लागत २ करोड १९ लाख रुपैया रहेको गैडाकोट ११ का अध्यक्ष गोविन्द प्रसाद सुवेदीले जानकारी दिनुभयो । अहिले नगरबाट ६७ लाख रुपैया निकासा भइसकेको र जग सहित पिल्लर हाल्नेकाम जारी रहेको उहाँको भनाई छ। भवननिर्माण पश्चात जनतलाई सवै सेवा एकै भवनबाट प्रदान गर्न सकिने र भविष्यमा उप महानगरपालिका भएपनि कार्यालय राख्न ठाउँ अभाव नहुने उहाँको विश्वास छ । भवन निर्माणमा ढिलाई हुन नदिन अनुगमन समिति गठन गरेर काम अघि बढाइएको गैडाकोट १० का अध्यक्ष देवीदत्त कडेँलले जानकारी दिनुभयो ।

भवन निर्माणपश्चात पनि कुनै विवाद नआउने भन्दै दुवै वडाका स्थानीयले सहजरुपले सेवा लिन सक्ने उहाँको दावी थियो । गत वर्षको मंसिरमा आह्वान गरिएको टेण्डर द कस्मीक निर्माण सेवा प्रालि भरतपुरले हात पारेपछि भवन निर्माणको जिम्मा उसैको रहेको छ । अहिले खाल्डो खनिएको र पिल्लर हाल्ने काम भइरहेको निर्माण कम्पनीमा मेनेजिङ डाइरेक्टर कृष्ण दवाडीले जानकारी दिनुभयो । गैडाकोट ११ को भेडावारी चोकदेखि दक्षिण तर्फ रहेको कुल २ हजार ३ सय ५८ दशमलव ५५ स्वाइयर मिटर जग्गा रहेकोमा २७५ स्वाइयर मिटरमा भवन बन्नेछ । भवनको पूर्ण निर्माण भने २०७७ साल असार मसान्त सम्म सक्ने लक्ष्य राखिएको छ ।

Share.

Leave A Reply