विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई, यस्तो बन्नेछ अबको समिति

0


प्रेम क्षेत्री
फागुन १९, गैँडाकोट । गैँडाकोटमा रहेका सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न पटक पटक ताकेता गरेपनि विद्यालय व्यवस्थापन समितिले वे–वास्ता गरेका छन् । नगर शिक्षा समितिको मंसिर २३ गतेको बैठकले विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेपनि झण्डै ३ महिना वितिसक्दा समेत विद्यालयहरुमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । सो सम्बन्धमा सोमबार पुनः नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालय व्यवस्थापन समिति गठन गरि पदभार हस्तान्तरण गर्न भनेको छ ।
यसअघि गत बैशाख २४ गते नगर शिक्षा समितिको निर्णय अनुसार सम्बन्धित वडाका वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्था अनुसार समिति गठन भएका थिए । कोभिड १९ को प्रकोपका कारण प्रचलित कानुनी व्यवस्था अनुसार नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकिने भन्दै वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने भनि गरेको निर्णय अनुरुप समिति गठन भएका थिए । सो विषय अदालतसम्म पुगेको थियो । अदालतले समेत सो निर्णयलाई सदर गरिदिएपछि वडा अध्यक्षको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएका थिए ।
सो अनुरुप गठन भएका विद्यालय व्यवस्थापन समितिले अहिले पनि काम गर्दै आएको छन् । कोभिड १९ को प्रकोपको अवस्था समान्य भई बन्दाबन्दी खुलेपछि प्रचलित कानुनी व्यवस्था अनुसार नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने कार्यादेश अनुसार समिति गठन गर्न भनिए पनि सो अनुरुप हुन सकेको छैन ।
नगर शिक्षा समितिको गत आईतबार बसेको बैठकले पुनः ताकेता गरेको छ । गैँडाकोट नगरपालिकामा विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधि २०७५ अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न भनिएको छ । सो सम्बन्धमा पुनः विद्यालयमा पत्र पठाईएको शिक्षा समितिका सदस्य सचिव एवं शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाईंले जानकारी दिनुभयो ।
गैँडाकोटमा रहेका ३५ वटा सामुदायिक विद्यालय मध्ये ३४ वटाले कार्यविधि अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने हुन्छ । गैँडाकोट ५ मा रहेको सरस्वती आधारभुत विद्यालयमा यसअघि नै समिति गठन गरिएको थियो । सो विद्यालयमा वडा अध्यक्ष नै अध्यक्ष रहने व्यवस्था हुनुपुर्व समिति गठन गरिएकोले सोही समितिले काम गर्दै आएको छ ।

कस्तो बन्ने छ अबको समिति
गैँडाकोट नगरपालिकामा विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधि २०७५ अनुसार अब बन्ने समितिमा विद्यालयका अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका दुईजना महिला सहित चारजना सदस्य र विद्यालयका संस्थापक स्थानीय बुद्धिजिवी शिक्षाप्रेमी विद्यालयलाई निरन्तर दशवर्ष देखि सहयोग गर्ने वा विद्यालयलाई दशलाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरु मध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको एकजना महिला सहित दुईजना सदस्य मध्येबाट एक जना अध्यक्ष चयन गरिने छ ।
कार्य विधि अनुसार अब बन्ने विद्यालय व्यवस्थापन समिति ९ सदस्यीय रहने छ । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले नै अध्यक्ष चयन गर्नेछन् । सो समितिमा विद्यालयका अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका दुईजना महिला सहित चारजना सदस्य, विद्यालय रहेको नगरपालिकाको सम्बन्धीत वडाको वडा अध्यक्ष वा वडा समितिले मनोनित गरेको वडा समितिको एकजना सदस्य, विद्यालयका संस्थापक स्थानीय बुद्धिजिवी शिक्षाप्रेमी विद्यालयलाई निरन्तर दशवर्ष देखि सहयोग गर्ने वा विद्यालयलाई दशलाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरु मध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको एकजना महिला सहित दुईजना सदस्य, विद्यालयका शिक्षकहरुले आफूहरुमध्येबाट छानी पठाएको एकजना सदस्य र विद्यालयको प्रधानाध्यापक सदस्य सचिव रहने छन् ।

Share.

Leave A Reply