मधु स्मृति ग्रन्थको समीक्षा

0

मुक्तिनाथ घिमिरे
मधु स्मृति फाउन्डेसन नेपालले २०७७ मा “मधु स्मृति ग्रन्थ” नामक पुस्तक प्रकाशित गरेको छ । यस ग्रन्थको मुखपृष्ठको शीर्ष भागमा “सामाजिक, राजनीतिक एवम् धार्मिक व्यक्तित्व स्व. मधुविलास रिमालको स्मृतिमा प्रकाशित” भनेर लेखिएको छ । सोदेखि तल्लो लहरमा मधु स्मृति ग्रन्थ २०७७ लेखिएको छ । त्यसको तल मौलाकालिका माई मन्दिरको चित्र छ । त्यसदेखि तलचाहिँ वरिपरि सौर्यमण्डलको घेरो, माझमा मधुविलास रिमालको भर्भराउँदो अनुहार भएको अर्धकदको रङ्गीन फोटो छ । सबैभन्दा तल प्रकाशक “मधु स्मृति फाउन्डेसन नेपाल” लेखिएको छ । यो पृष्ठ आकर्षक र मजबुत छ । त्यसको भित्रपट्टि देब्रे पृष्ठमा स्व. मधुविलासको वंश परम्परा र वंशावली लेखिएको छ भने ठाडो लहरमा क्रमशः १ देखि १९ पुस्ताका व्यक्तिहरुको नामावली राखिएको छ । १९औँ पुस्तामा मधुविलास लेखिएको छ । २०औँ पुस्तामा उहाँका तीन भाइ छोराहरुको नाउँ क्रमशः विकास, गोविन्द र धर्मराज लेखिएको छ । दाहिनेतर्फको पृष्ठमा मधु स्मृति ग्रन्थ २०७७, शोकपुस्तिका २०६७ समेत, २५ कार्तिक २०७७ लेखिएको छ । त्यसको तल मुखपृष्ठकै लेखाइ र सेतोकालो रङमा छापिएको एउटा फोटो छ । प्रकाशक पनि उस्तै छ । पृष्ठ २ मा माथिबाट क्रमशः मधु स्मृति ग्रन्थ २०७७, प्रमुख संरक्षकः श्रीमती खरिमाया रिमाल, संरक्षकः विकास रिमाल, गोविन्द रिमाल, धर्मराज रिमाल र प्रधान सम्पादकगोविन्द रिमाल लेखिएको छ । पुस्तकको हुलियाअनुसार उहाँ मधुविलासको मध्यमपुत्र भन्ने बुझिन्छ । सल्लाहकारहरुमा ईश्वरीनाथ रिमाल, मदनभक्त अधिकारी, शङ्कर आचार्य, डिल्लीराम रिमाल र दुर्गाप्रसाद रिमाल रहेको देखिन्छ । सहयोगीहरुमा हरिप्रसाद भट्ट, चिरञ्जीवी रिमाल, सुभाष चापागाईँ, रामचन्द्र रिमाल र बाबुराम रिमालको नाउँ देखिन्छ । प्रकाशकमा मधु स्मृति फाउन्डेसन, नेपाल लेखिएको छ । प्रकाशन मितिमा २०७७ कार्तिक २५, (१०औँ वार्षिक पुण्य तिथि) संस्करणमा प्रथम र सर्वाधिकार प्रकाशकमा भन्ने छ । प्रकाशन प्रति ५००, आवरण सुवर्ण प्रधान, मुद्रण लमजुङ छापाखाना, नारायणगढ, चितवन, ९८५५०५३७४२ लेखिएको छ । पृष्ठ ३ मा समर्पण भनेर उहाँको सादा फोटो राखिएको छ । तल स्व. मधुविलास रिमाल वि.सं २०६७ कार्तिक १५ लेखिएको छ । पृष्ठ ४ मा गएर वर्गाकार कोठाको मुखमा सम्र्पक शब्द राखिएको छ । त्यसभित्र खरिमाया रिमाल, विकास रिमाल, पार्वती रिमाल, गोविन्द रिमाल, हीरा रिमाल, धर्मराज रिमाल, कल्पना रिमाल, सरला भट्ट, महाप्रसाद भट्ट, कोपिला आचार्य र शङ्कर आचार्य लेखिएको छ । उल्लिखित व्यक्तिहरु छोराबुहारी तथा छोरीज्वाइँ भएको कुरा लेखाइबाट थाहा लाग्दछ । पृष्ठ ५ मा आयाताकार कोठाको मुखमा खण्ड ः क राखिएको छ । त्यसभित्र श्रद्धाञ्जलि र शुभकामना राखिएको छ ।
यस स्मृति ग्रन्थलाई तीन भागमा विभाजन गरिएको छ । खण्डः ‘क’मा शुभकामना राखिएको छ । खण्ड ः ‘ख’मा लेखरचना तथा अन्तर्वार्ता राखिएको छ । खण्ड ः ‘ग’मा अन्त्येष्टी, शोकसभा र वार्षिकी गतिविधि राखिएको छ । खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, ने.का.का महामन्त्री शशाङ्क कोइराला, ने.का. संसदीय दल गण्डकी प्रदेशका नेता कृष्णचन्द्र नेपालीसमेतका हार्दिक शुभकामनाहरू छन् । त्यसैगरी नेका जिल्ला कार्यसमिति नवलपरासी (ब.सु.पू.) सभापति विष्णुप्रसाद लामिछाने र गैँडाकोट नवलपरासी (ब.सु.पू.) का नगर प्रमुख छत्रराज पौडेलका शुभकामना राखिएका छन् । त्यस्तै रिमाल समाजका अध्यक्ष डिल्लीराम रिमाल, ने.काँ. गैँडाकोट नगर कार्यसमिति क्षेत्र नं १ का नगर सभापति तारापति खरेलको समेत श्रद्धाञ्जली तथा शुभकामना छ । जसले जे शीर्षक राखे पनि हृदय ओछ्याएर शुभकामना दिनुभएको छ । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको “मधुविलासको मधु स्मृति” शीर्षकको कविता छ । त्यसपछि प्रकाशकीय र सम्पादकीय राखिएको छ । त्यसमा मधुविलासको पुख्र्यौली थलो लमजुङको जिता, बसाइँसराइका कारण परिवार तनहुँ गएको, पछि गैँडाकोटमा बसोबास गर्दैआएको भनी भौगोलिक परिवेशलाई चिनाइएको छ । साथै उहाँ सामाजिक, धार्मिक, राजनीतिक र शिक्षाप्रेमी हुनुहुन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ । गैँडाकोट सेरोफेरोका खम्बा, शिक्षाप्रेमी, समाजसेवी एवम् राजनीतिज्ञ, त्यस समाजका उच्च व्यक्तित्व सूर्यभक्त अधिकारीको सङ्गतले रिमालले धेरै प्रेरणा र सहयोग पाएको कुरा स्पष्ट नै छ । लमजुङ, तनहुँ र नवलपरासी सबै ठाउँ घुमेर यथार्थ जानकारी लिएको कुरा यहाँको लेखाइबाट स्पष्ट हुन्छ । पुख्र्यौली स्थल जिता हो र त्यहीँबाट शिक्षा लिनुभएको हुँदा जीवनको सुरुवातका धेरै कुरा जानकारीमा आएका हुन् भन्ने थाहा लाग्दछ ।


खण्ड खलाई लेख रचना तथा अन्तर्वार्ता शीर्षक दिइएको छ । यसभित्र जम्मा ४२ शीर्षकका लेखरचना छन् । त्यसमध्ये एउटा जीवनी राखिएको छ । त्यसमा लमजुङ, तनहुँ र नवलपरासी जिल्लामा बसेका, घुमेका जीवनका उकाली ओरालीका कुरा लेखिएका छन् । चारजनासँगको अन्तर्वार्ता छ । रवि रिमालको “रिमाल थर र कुलदेवता”, एकदेव रिमालको “खस,आर्यहरुको नेपालमा उपस्थिति र रिमाल वंशको आरम्भ” शीर्षकका दुई अनुसन्धानात्मक लेख छन् । पार्वती रिमालको “ससुरा बामा समर्पित” शीर्षकको एउटा कविता छ । बाँकी ३४ वटा लेखरचना विभिन्न शीर्षकमा, विभिन्न नाता लगाएर चित्कार पोखिएका छन् ।
खण्ड गमा गएर अन्त्येष्टि, शोकसभा र वार्षिकी गतिविधि लेखिएको छ । २०६७–०७–१५ का दिन “देवघाटसम्मको शवयात्रामा सहभागी आफन्तहरु” शीर्षकअन्तर्गत ९५ जनाको नाम र ठेगाना दिइएको छ । शोक, समवेदना प्रकट गर्नुहुने आफन्तजनहरु २२२ जनाको नाउँ, ठेगाना दस्तखतको अभिलेख राखिएको छ । शैक्षिक संस्था,रेडक्रस आदिका प्रतिनिधिलगायत धेरैको उपस्थिति देखिन्छ । वार्षिक पुण्यतिथिमा उपस्थित हुनेहरुको नामावली र दस्तखतमा १११ जनाको उपस्थिति देखाइएको छ । ८९ को क्रम संख्या दोहोरिएको हुनाले उपस्थिति ११२ हुन्छ । ने.काँ. जिल्ला का.स.का ५ जनासमेत कुल उपस्थिति ११७ देखिन्छ । पृ. १२८ मा उहाँकी आमा मनमायाको फोटो राखिएको छ । पृ. १३१ मा जिताको पुख्र्यौली स्थलको घुमाउने घर (गोलघर) लगायतका धेरै फोटा राखिएका छन् । पृ. १२८ देखि १३१ पछिको कभरपेजको भित्रपट्टि समेत सबै हिसाब गर्दा पृ. १० त चित्रसूची नै देखिन्छ ।
यस स्मृति ग्रन्थमा लमजुङ, तनहुँ, चितवन र नवलपरासीको भौगोलिक परिवेशलाई चिनाइएको छ । भारतको आसामसम्मको उहाँको यात्रा देखाइको छ । मधुविलास रिमाललाई एक कर्तव्यनिष्ठ सामाजिक अभियन्ताका रुपमा चिनाइएको छ । स्थानीय संघसंस्थाका चन्दादाता, निर्माणकर्ता एवम् पदासीन व्यक्तिका रुपमा चिनाइएको छ । प्रजातन्त्रको हिमायती र सच्चा कार्यकर्ताको रुपमा उभ्याइएको छ । पदलोलुप नभएको कुरा पनि लेखाइबाट स्पष्ट हुन्छ ।
जिताको व्यक्ति कछाड हुँदै गैँडाकोट जस्तो चेतनशील सम्पन्न ठाउँमा पुग्नु ठूलो कुरा हो । आर्थिक दृष्टिले पनि परिवार सम्पन्न भएको बुझिन्छ । त्यस ठाउँमा गएर सामाजिक काम गरेर त्यो उचाइमा पुग्नु जितालीको लागि आत्मगौरवको कुरा हो । स्मृति ग्रन्थ प्रकाशन गर्ने सिलसिलामा एक टोली जितामा आएर अध्ययन गरेछ । सप्तधारा मा.वि., सातधारेको पँधेराको फोटो राख्ने काम पनि भएछ । मातृभूमिको माटो सम्झने कुरा अत्यन्त राम्रो हो । त्यस मानेमा त्यस टोलीलाई धन्यवाद छ । टोलीले के कुरा भुलेछ भने सो विद्यालयबाट कक्षा ८ पासगरेका व्यक्तिका समकालीन व्यक्तिहरु को को थिए होलान् । सोधखोज गरेर तिनलाई भेटेमा त्यो बेलाका केही घटना, थप कुरा पाइन्छन् कि भन्ने सम्झना आएनछ । जिताली मूलका ढुण्डीराज तिवारी दाइका जस्तै खरीपाटी, मुसुरे कटुसको मसी, निगालाको कलम, दौराको खल्तीमा मकै जस्ता यथार्थपरक सत्यतथ्य बाललीला अरुले पनि त्यसरी नै छताछुल्ल पार्थे कि भन्ने सोच आएनछ कि जस्तो लाग्यो । त्यस्ता घटना समेटेर उहाँका समकानीन साथीहरुले सम्झनाका दुई थुँगा फूल लिपिका माध्यमबाट अर्पण गर्छन् कि भन्ने कुरामा विचार पुग्दै नपुगेको त नभनौँ तर छुट भएछ । चन्द्रकान्त रिमाल, बाबुराम रिमाल (भद्रकृष्णको दाजु), दण्डपाणि रिमाल, मधुविलास रिमालका साथ यो पङ्क्तिकारलगायत केही अरु साथीहरु पनि सँगै सातधारेमा पढेकै हुन् । मुसुरे कटुसको मसी, हाडेउनियाको, निगालाको कलम, साथमा एउटा पुस्तक, हात्तीछाप भएको ३२ पाने कापी साथमा लिएर हामी सँगै पढ्थ्यौँ । मसी सकिएमा दुईतीन जनाले एउटै मसीदानीमा कलम चोबेर लेख्ने पनि गथ्र्यौँ । लेख्ने कापी सकिएमा कापीका पाना च्यातेर एकआपसमा ऐँचोपैँचो चलाउँथ्यौँ । त्यस समयका विद्यालयमा अहिलेको जस्तो बेन्चको सुविधा थिएन । हामी आआफ्ना घरबाट एकएक वटा थर्कटी (गुन्द्री) लिएर विद्यालय जान्थ्यौँ । केही समयपछि अभिभावकसँग भनेर मामुली खालका बेन्च लिएर पनि विद्यालय गयौँ । शुक्रवारे कार्यक्रममा कविता वाचन गथ्र्यौँ । उहाँ कविता पनि लेख्नुहुन्थ्यो र गीत पनि गाउनुहुन्थ्यो । उहाँको एउटा गाथा मलाई याद आउँछ । “छिपछिपे छोडेर आएँ, भने जस्ता साथी पाएँ, जितामा आएँ, अब किताब समाएँ” भनेर किताब समातेर पढ्न थाल्नुहुन्थ्यो । यस्ता धेरै लामा लामा गाथा उहाँले गाउनुहुन्थ्यो । एक दिन मैले उहाँलाई एउटा गीत गाउन आग्रह गरेँ । उहाँले गाउनुभएको गीत यस्तो थियोः
“सरौट म आफै तर्छु, गाईघाट तर्नलाई डराउँछु”
जे होस् उहाँ मिलनसार तथा मृदुभाषी हुनुहुन्थ्यो । उहाँका मावली जिता देउरालीका झाँक्री परिवारका पौडेलहरु हुन् । उहाँ जितामा पढ्दैको समयमा तनहुँ, बाहुनपोखरा पौडेलकी छोरीसँग विवाह भएको थियो । परिवारजनले उहाँको अमूर्त सम्झनालाई स्मारिकाका माध्यमबाट मूर्तरुप दिएको छ । यो अत्यन्त राम्रो काम हो । सबै पाठकले पढ्न पाउँछन् । यो एउटा कीर्ति हो । उहाँको सम्झनामा प्रवेशद्वार तथा सालिक निर्माण गरिदिनाले अर्काे कीर्ति रह्यो । त्यो पनि मूर्त वस्तु र महत्त्वपूर्ण काम हो । उहाँको सम्झनामा एउटा लिपिबद्ध पुष्पगुच्छा मैले चढाउन पाइनँ। मलाई खै खै लागेको कुरा यही हो । यही समीक्षाको माध्यमबाट त्यस तृष्णाको प्यास मेटाउँछु ।
आवरण पृष्ठ दुईतर्फ छोडेर जम्मा १३६ पृष्ठमा यस ग्रन्थलाई विभाजन गरिएको छ । भाषासम्पादन राम्रो छ । कागज पनि राम्रै प्रयोग गरिएको छ । उचित ढङ्गले चित्रसूची राखिएको छ । अति धेरै मेहनतका साथ फोटो सङ्कलन गरेर राखिएको छ । विवरण तथा लेखरचना सङ्कलनमा पनि ठूलो मेहनत देखिन्छ । तीन खण्डमा विभाजित गर्नुको सट्टा यस पुस्तकलाई चार खण्डमा विभाजन गरी एउटा खण्डलाई चित्रसूची खण्ड बनाउन पाएको भए अझ राम्रो हुने थियो । शीर्षकका आधारमा हेर्दा त्यति राम्रा चित्र र त्यति धेरै ठाउँ ओगटेको चित्र लहर शीर्षक विना ओझेलमा परेको देखिन्छ । त्यस्तै जसरी राजनेताहरुका शुभकामना ल्याइयो त्यसरी नै गोविन्दराज विनोदीजस्तै अरु दुई तीनजना साहित्यकारहरुका लेखरचना पनि संलग्न गराउन पाएको भए यो ग्रन्थ राजनीतिक, अनुसन्धानात्मक र साहित्यिक रुप लिँदा बहुआयामिक ग्रन्थ बन्न सक्थ्यो ।
जन्मेपछि अवश्य मर्नुपर्छ । यो शाश्वत सत्य कुरा हो । व्यवहार सुल्टो भएको छ । परिवारले धैर्यधारण गर्नुपर्दछ । उहाँ अल्पायुमै जानुभयो । अझै कति काम गर्न बाँकी थिए । मधुविलास दाजुप्रति मेरो पनि हार्दिक श्रद्धाञ्जलि छ । फेरि पनि उहाँले यसै धर्र्तीमा जन्म लिनुहुन्छ भने त्यसै रिमाल वंशमा उहाँको जन्म होओस् । समाजमा प्रचलित अन्याय, अत्याचार, भ्रष्टाचार, जाति,वर्ण, लिङ्ग भेदजस्ता सामाजिक कुरीतिको पर्दाफास गर्ने शक्ति उहाँसँग एउटा हातमा आओस् । साथै उहाँ राजनीतिक व्यक्तित्व भएको हुँदा यो देशमा सधैँ किचलो हुने घिनलाग्दो र नितान्त निजीपनमा आधारित स्वार्थको राजनीतिलाई छान्न सक्ने जालीरुपी शक्ति पनि अर्को हातमा होओस् ।
परिवार जनमा प्रस्तावः
(छिमेकी जिताली र मधुविलास दाइको बालदोस्तीका नाताले)
१. केही रकम उहाँका नाउँमा अक्षयकोषमा राखेर त्यसबाट आउने ब्याजले “मधु स्मृति पुरस्कार” सञ्चालन गर्ने । विभिन्न लेखक, सामाजिक अभियन्ता, राजनीतिकर्मीजस्ता व्यक्तिलाई वार्षिक रुपमा पुरस्कार वितरण गर्ने कार्यक्रम भएमा उहाँको नाउँ अमर भइ नै रहन्छ ।
२. नजिकका माध्यमिक विद्यालयहरुमा, क्याम्पसहरुमा र सामाजिक संघसंस्थाहरु जस्तै विजयविकास स्रोतकेन्द्रलगायतका ठाउँमा पुस्तक राख्ने व्यवस्था मिलाउने जसबाट सबै खालका अध्येताले अध्ययन गर्न पाऊन् ।
यस ग्रन्थका प्राप्तिः
१. हाम्रा पुर्खा यस्ता हुनुहुँदोरहेछ भन्ने भावी पुस्तालाई एउटा दस्तावेज रहनु ।
२. परिवार जनमा धैर्यधारण गर्नसक्ने आधार खडा हुनु ।
३. रवि रिमालको “रिमाल थर र कुल देवता” शीर्षकको लेख भावी अध्येताका लागि रिमाल र रिमालका कुलदेवताको विषयमा अध्ययन अनुसन्धान गर्न कोसेढुङ्गा साबित हुनु ।
४. एकदेव रिमालको “खस,आर्यहरुको नेपालमा उपस्थिति र रिमाल वंशको आरम्भ” शीर्षकको लेख भावी अध्येताहरुका लागि खस, आर्यका साथै रिमाल वंशको अध्ययन अनुसन्धानका निम्ति कोसेढुङ्गा साबित हुनु ।
५.“नवलपरासीका स्मृति ग्रन्थ एक अध्ययन” शीर्षकमा कुनै अध्येताले अध्ययन तथा अनुसन्धान गर्न चाहेमा यो ग्रन्थ पनि एउटा सामग्री बन्न सक्नु ।
समग्रमा स्म्रृतिग्रन्थ र व्यवस्थापन पक्ष सफल देखिन्छ ।
(लमजुङ जितामा जन्मनुभएका लेखक घिमिरे हाल भरतपुर, चितवन निवासी हुनुहुन्छ ।)

Share.

Leave A Reply