औलो उन्मूलनमा जुटौँ

0


गर्मीयाम लाग्दै छ । जाडो र चिसो मौसममा भन्दा यो समयमा लामखुट्टेको टोकाइबाट हुने रोग बढी देखिन्छन् । बिस्तारै लामखुट्टेको प्रकोप बढिरहेको छ । नवलपुर औलोको उच्च जोखिममा रहेको जिल्लामध्ये पर्छ । यसअघि जिल्लामा भेटिएका संक्रमित र वर्षेनी औलोका बिरामी भेटिनुले पनि नवलपुर उच्च जोखिममा रहेको छ भन्ने पुष्टि हुन्छ । यसवर्षमा साउनयता मध्यविन्दुका २ जनामा औलो देखिएको छ । जुन भारतबाट आएकाहरु रहेका छन् । हाल उनीहरुलाई निको भइसकेको छ । जिल्लामा हाल सक्रिय संक्रमित छैनन् यद्यपि यसवर्ष पनि जिल्लामा औलो देखिइसकेको छ । गत आर्थिक वर्ष नवलपुरमा गैँडाकोटका १ जना, विनयीत्रिवेणीका १ जना, हुप्सेकोटका ५ जना, कावासोतीका ३ जना र पाल्पाका १ जना गरी ११ जनामा औलो देखिएको थियो ।
स्वास्थ्य कर्यालयका अनुसार नेपालमा ४३.२७ प्रतिशत नागरिकहरु औलोको जोखिम क्षेत्रमा बसोबास रहेको छ । नेपालमा भेटिएका औलोमध्ये स्थानीयभन्दा पनि आयातीत बढी देखिन्छ । भारतबाट आउनेहरुमा औलो देखिएको र यो स्थानीयस्तरमा एकबाट अर्कोमा सर्नेभन्दा बाहिरबाट आएकाहरुमा बढी रहेको तथ्याङ्कले देखाएको छ । खुल्ला सिमाना र अत्यधिक लामखुट्टे पाइने भएका कारण उच्च जोखिम रहेको छ । स्थानीयस्तरमा एकबाट अर्कामा सरेमा यसले महामारीको रुप लिन सक्छ । ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, थकित हुने, जाडो हुने, वाकवाकी आउने र वान्ता हुने लगायतका लक्षण देखिएमा औलो भएको हुनसक्छ । समयमा नै यसको उपचार गरे निको हुन्छ । औलोको समयमा नै उपचार नगरे ज्यानसमेत लिनसक्छ ।
नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त बनाउने लक्ष्य लिइएको छ । त्यसका लागि सन् २०२२, २०२३ र २०२४ मा स्थानीय केस शून्य भएको अवस्थामा मात्रै औलोमुक्त घोषणा गर्न सकिन्छ । यसअघि सन् २०१५ सम्ममा औलो निवारण गर्ने भनिए पनि त्यो रोक्न सकिएको छैन । औलो उन्मूलनका लागि एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो । त्यस्का लागि घर वरिपरि सरसफाइ र लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यसका लागि नागरिक आफै सचेत बनी औलो उन्मूलनमा जुट्नुपर्दछ । साथै राज्यले पनि संक्रमित स्थानको अध्ययन गरी औलो रोग लागेका बिरामीको खोजपड्ताल, झुलको उपलब्धता तथा प्रयोगबारे चेतना अभिवृद्धि गरी सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ ।

Share.

Leave A Reply