गैँडाकोटमा कछार अर्गानिक खाना महोत्सव हुने

0


प्रेम क्षेत्री,

फागुन ६, गैँडाकोट ।
गैँडाकोटमा कछार अर्गानिक खाना महोत्सव हुने भएको छ । यहि फागुन १४ गते शुक्रबार गैँडाकोट ४ मा रहेको द फेमिली क्याफे एण्ड रेष्टुरेण्टमा सो महोत्सव हुन लागेको हो । देवघाट गैँडाकोट सम्पर्क समाजको आयोजनामा गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको सहयोगमा सो महोत्सव गर्न लागिएको समाजका संयोजक एवम् महोत्सव तयारी समितिका संयोजक खड्क पाङ्मी आलेमगरले जानकारी दिनुभयो । बिहिबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक आले मगरले तनहुँमा उत्पादित अर्गानिक खानाको प्रवद्र्धन गर्ने हेतुले कछार अर्गानिक खाना महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । विभिन्न १० परिकारका अर्गानिक खानाको स्वाद लिन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा सामा काउनीको भात, गिठा, मासको बारा, वन तरुल, खयरको चिया, लोकल कुखुरा, कालो सुंगुरको मासु, बोडी, मकै, भटमासका परिकार पाईने छ ।


देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तनहुँदेखी गैँडाकोट आई बसोबास गर्नेहरुबीच एक आपसमा सम्बन्ध विस्तार गर्न यो महोत्सवले सघाउ पुग्ने बताउनुभयो । महोत्सवमा तनहुँको कछार क्षेत्रमा उत्पादन भएका खाद्य सामाग्रीको परिकार नयाँ स्वाद लिन सकिने बताउनुभयो । थारु कल्याणकारी सभा गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद महतोले सो महोत्सवमा थारु परिकार समेत पाईने जानकारी दिनुभयो । गायक एवं महोत्सवका सांस्कृतिक संयोजक हिमकुमार थापाले महोत्सवमा गायक रमेशराज भट्टराई लगायत स्थनीय कलाकारको प्रस्तुतीसँगै थारु, मगर संस्कृती झल्कने नृत्य प्रदर्शन गरिने बताउनुभयो । छरछरे झरना पर्यटन विकास समितिका अध्यक्ष थमबहादुर मगरले महोत्सव सफल बनाउन सबैमा अनुरोध गर्नुभयो । लाफा आमा समूहका अध्यक्ष गंगा राईले कार्यक्रममा महिला दिदिबहिनीहरुको उत्साहजनक सहभागिता रहने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाती महासंघ देवघाट समन्वय समितिका अध्यक्ष रुमकुमार थापा, द फेमिली क्याफे एण्ड रेष्टुरेण्टका सञ्चालक गोविन्दलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । महोत्सवमा २ सय र ६०० को टिकटको व्यवस्था गरिएको छ । टिकट अनुसार उनिहरुले परिकारका स्वाद लिन सक्नेछन् । सो अवसरमा अल्टिमेट वाटर एडभेन्चरले नारायणीमा बोटिङ्मा शनिबार बाहेक १ महिना ५० प्रतिशत छुट दिने बताएको छ । कराँदिप सामुदायिक होम स्टे देवघाट २ तनहुँ र द फेमिली क्याफे एण्ड रेष्टुरेण्ट सह आयोजक र अन्य करिब १ दर्जन संस्था सहयोगीका रुपमा रहेका छन् ।

Share.

Leave A Reply