मुकुन्दपुर खानेपानीको अध्यक्षमा देवकोटा विजयी, सबै उम्मेदवारको मत सहित

0

गैँडाकोट, ६ फागुन । मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हिजो भएको निर्वाचनबाट लोकतान्त्रिक समावेशी प्यानलका अध्यक्षका उम्मेदवार शेषकान्त देवकोटा विजयी हुनुभएको छ । यस समूहको प्यानलका सचिव बाहेक सबै उम्मेदवार विजयी भएका छन् । सचिवमा बामप्रगतिशील समूहका उम्मेदवार विजयी हुनुभएको निर्वाचन समितिका संयोजक लिलाधर शर्माले जानकारी दिनुभयो ।
लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेषकान्त देवकोटाले १२०७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी बाम प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार माधवप्रसाद कोइरालाले ११०५ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा लोकतान्त्रिक समूहका चन्द्रदत्त जैशीले ११४५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी बाम प्रगतिशील समूहका खड्कबहादुर क्षेत्रीले १०८२ मत ल्याउनुभएको छ ।
सचिवमा बामप्रगतिशिल समूहका विनोदकुमार श्रेष्ठले ११५९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी लोकतान्त्रिक समूहका सोमबहादुर भण्डारी क्षेत्रीले १०७७ मत ल्याउनुभएको छ ।
कोषाध्यक्षमा लोकतान्त्रिक समूहका रोहिणी सदाशंकर सुनारले १११० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी बाम प्रगतिशील समूहका चेतना अर्याल आचार्यले ११०८ मत ल्याउनुभएको छ ।
यसैगरि महिला सदस्यहरुमा लोकतान्त्रिक समूहका तर्फबाट निर्वाचित इन्दिरा महत्तोले ११३७ र पंचुमाया चितौरेले १११२ मत ल्याउनुभएको छ । उहाँहरुका प्रतिद्वन्दी बामप्रगतिशील समूहका पवित्रा सुवेदीले १०७१ र शान्ति भण्डारीले १०९२ मत ल्याउनुभएको छ ।
सदस्यहरुमा लोकतान्त्रिक समूहका उम्मेद्वारहरु दुर्गादत्त कंडेलले ११७७, प्रेमलाल खरेलले ११७८, बुद्धिप्रसाद न्यूरेले ११९० मत ल्याएर विजयी हुनुभएको छ भने । उहाँहरुका प्रतिद्वन्दी बाम प्रगतिशील समूहका उम्मेदवारहरु ऋषिराम कंडेलले १०२९ मत, प्रकाश भूषालले १०३२, महेशकुमार श्रेष्ठले ९७० मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो ।
हिजो बुधबार भएको मतदानमा ७५.२१ प्रतिशत मत खसेको थियो । अपरान्ह ४ बजेसम्म भएको मतदानमा २४ सय २२ मत खसेको निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो । साविक मुकुन्दपुर गाविस क्षेत्रका ३२ सय २० उपभोक्ता सदस्य मतदाता रहेपनि २४२२ मतदाताले मत दिएका थिए । मतगणनामा ३२ मत बदर पाइएको थियो ।
निर्वाचन प्रक्रिया २०७६ फागुन ३० गते सम्पन्न हुनुपर्नेमा कोरोना भाईरस संक्रमणको त्रास र लकडाउनका कारण झण्डै एकवर्षपछि मतदान भएको हो ।
संस्थाको छैटौँ अधिवेशनले सहमतिमा कार्यसमिति चयन गर्न नसकेपछि मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा दलहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएपछि मतदानमार्फत नयाँ समिति चयन गरिएको हो । नयाँ नेतृत्वका लागि नेपाली कांग्र्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक गठबन्धन)ले संयुक्त उम्मेदवार खडा गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा पार्टी (बाम प्रगतिशिल समूह) ले पनि संयुक्त उम्मेदवारी दिएका थिए ।

 

Share.

Leave A Reply