अपडेट : मुकुन्दपुर खानेपानीमा मतदान सम्पन्न, २४ सय २२ मत खस्यो

0


प्रेम क्षेत्री,
फागुन ५, गैँडाकोट । नयाँ नेतृत्व चयनका लागि मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा आज भएको मतदानमा ७५.२१ प्रतिशत मत खसेको छ ।

अपरान्ह ४ बजेसम्म भएको मतदानमा २४ सय २२ मत खसेको गैँडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत, सूचना अधिकारी एवं निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो । साविक मुकुन्दपुर गाविस क्षेत्रका ३२ सय २० उपभोक्ता सदस्य मतदाता रहेपनि २४२२ मतदाताले मत दिएका छन् । बिहान ७ बजेपछि शुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो । संस्थाको प्राङ्गणमा ६ वटा बुथबाट ४ वटा बाकसमा उपभोक्ताले मत खसालेका हुन् ।

सम्पूर्णको सहयोगमा शान्तीपूर्ण रुपमा नै मतदान भएको उहाँले जानकारी दिनुभयो । दलिय सहमतिपछि अबको केहीबेरमा मतगणना शुरु हुने निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो ।
संस्थाको छैटौँ अधिवेशनले सहमतिमा कार्यसमिति चयन गर्न नसकेपछि मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा दलहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएपछि आज मतदानमार्फत नयाँ समिति चयन गर्न लागिएको हो ।
नयाँ नेतृत्वका लागि नेपाली कांग्र्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक गठबन्धन)ले संयुक्त उम्मेदवार खडा गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा पार्टी (बाम प्रगतिशिल समूह) ले पनि संयुक्त उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक प्यानलतर्फ अध्यक्षमा शेषकान्त देवकोटा, उपाध्यक्षमा चन्द्रदत्त जैसी, सचिवमा सोमबहादुर भण्डारी क्षेत्री, कोषाध्यक्षमा रोहिणी सदाशंकर सुनार, महिला सदस्यमा इन्दिरा महतो र पञ्चु माया चितौरे, सदस्यमा दुर्गादत्त कँडेल, प्रेमलाल खरेल र बुद्धि प्रसाद न्यूरेको उम्मेदवारी रहेको छ ।
त्यस्तै बाम प्रगतिशिल प्यानलतर्फ अध्यक्षमा माधवप्रसाद कोइराला, उपाध्यक्षमा खड्कबहादुर क्षेत्री, सचिवमा विनोदकुमार श्रेष्ठ, कोषाध्यक्षमा चेतना अर्याल आचार्य, महिला सदस्यहरुमा पवित्रा सुवेदी, शान्ति भण्डारी, सदस्यहरुमा ऋषिराम कँडेल, प्रकाश भुसाल र महेशकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।

Share.

Leave A Reply