विजय सामुदायिक र दिल्लीका विद्यार्थीबीच सिकाइ आदानप्रदान

0


माया कँडेल
गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनका विद्यार्थी र दिल्ली पब्लिक स्कुलका विद्यार्थीबीच सिकाइ आदानप्रदान भएको छ ।
अन्तरराष्ट्रिय समन्वयअन्तर्गत रहेर कक्षा ९ का विद्यार्थीहरुले जुममार्फत भर्चुअल सिकाइ आदानप्रदान गरेका हुन् । सामाजिक विषय अन्तर्गत रहेर भौगोलिक र सांस्कृतिक रहनसहन, विज्ञान विषयअन्तर्गत हरितगृह प्रभावका विषयमा सिकाइ आदानप्रदान गरेको विद्यालयका सहायक प्रिन्सिल रेखा श्रेष्ठले जानकारी दिइन् । उनले २१औँ शताब्दीको सीप सिक्न यस कार्यक्रमले टेवा पु¥याएको बताइन् । आफ्नो स्थानका मात्र नभएर अन्य स्थानका व्यक्ति, अन्य कक्षाको विद्यार्थीबीच घुलमिल हुन पाउँदा सिकाइ अझै प्रभावकारी भएको उनको तर्क छ ।
विद्यालयका विज्ञान शिक्षक श्रीधर पाठकले विश्वमा अहिले चासोको विषयका रुपमा रहेको हरितगृह प्रभावका बारेमा अन्तरराष्ट्रिय रुपमा कसरी ज्ञान लिने भन्ने कुरा सिकेको बताए । विद्यार्थीहरुले इन्टरनेटको प्रयोगबाट नै जानकारी संकलन गरेर खोज गरेर सिकेको बताएका थिए । सामाजिक शिक्षक मिलन लामिछानेले यो कार्यक्रमले विद्यार्थीको पृथक् र सिंगो सिकाइमा मद्दत पुगेको बताए । विद्यार्थीहरुले सिकाइ दिगो भएको बताएका छन् । आफै प्रत्यक्ष सहभागी भएर सिक्न पाउँदा अझै प्रभावकारी हुने हुनाले खुसी लागेको बताएका छन् ।
यस्तै विजय सामुदायिक शिक्षा सदनका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले अन्तरराष्ट्रिय समन्वयअन्तर्गत दिल्ली पब्लिक स्कुलका विद्यार्थीबीच सिकाइ आदानप्रदान गरेका छन् ।
कक्षा ७ मा अध्ययनरत विद्यार्थीले नेपालमा पाइने जडीबुटीका बारेमा जानकारी आदानप्रदान गरेका हुन् । आयुर्वेदिक जडीबुटी र दीर्घकालीन स्वास्थ्यका प्रोजेक्टअन्तर्गत रहेर विद्यार्थीले धेरै जडीबुटीका बारेमा जानकारी हासिल गर्न सहयोगी बनेको शिक्षिका प्रोजेक्ट कोअर्डिनेटर सिर्जना लामिछानेले बताइन् । बालबालिकाले सामाजिक सांस्कृतिक र भौगोलिक अवस्थाको बारेमा विद्यार्थीले एकअर्कालाई जानकारी गराएका थिए ।
विजय सामुदायिक शिक्षा सदनले विद्यार्थीको सर्वाङ्गीण पक्षको विकासका लागि व्यावहारिक शिक्षालाई जोड दिँदै अध्ययन–अध्यापन गराउँदै आएको छ ।

 

Share.

Leave A Reply