घटना विशेषमा घट्ने–बढ्ने रेडियो श्रोता

0


भूमि चापागाई,

स्थानीयरूपमा लोकप्रिय माध्यमका रूपमा रेडियो
नेपालमा आमसञ्चारको माध्यम एफ.एम. रेडियोका श्रोताहरूको संख्यालाई विश्लेषण गर्दा रेडियो सुन्ने श्रोताको तथ्यांकमा स्थिरता पाइँदैन । युनिसेफ र सेयरकास्ट नेपालले यही मे २०२० मा गरेको सर्वेक्षणमा करिब ८२ प्रतिशत उत्तरदाताहरूले कोरोना महामारीबारे सूचना तथा जानकारीहरू रेडियोबाट प्राप्त गरेको बताएका छन् । जबकि इन्टरन्युज नेपालले सन् २०१४ सेप्टेम्बरमा गरेको सर्वेक्षणमा ४५ प्रतिशतले मात्र रेडियो सुन्ने बताएका थिए । अर्थात् रेडियोका श्रोताको प्रतिशत घटना विशेषमा बढ्ने र घट्ने भइरहन्छन् ।
इन्टरन्युजको सर्वेक्षण प्रतिवेदनपश्चात् रेडियोका श्रोता घटेको विषयमा रेडियोका अभियन्ताहरू र सरोकारवालाहरूबीच राष्ट्रिय रेडियो सम्मेलनसमेत गरी रेडियोको आगामी बाटो तय गर्नेसम्मका कार्यहरू भएका थिए । पछि भूकम्प गयो, भूकम्पका बेला पुनः रेडियो सूचना तथा समाचार प्राप्त गर्ने पहिलो माध्यमका रूपमा आयो । यसो लेख्दै गर्दा रेडियोका लागि विपद् नै आउनुपर्दो रहेछ भन्ने चाहिँ अवश्य होइन ।
तर नागरिक समस्यामा परेको बेलामा विपद्का वेलामा र विशेष परिस्थितिमा भने रेडियो सधै पहिलो माध्यमका रूपमा रहँदै आएको तथ्यांकले देखाउँछ । सामाजिक सञ्जाल र अनलाइनहरूको प्रयोगकर्ताको संख्यात्मक वृद्धि ह्वात्तै बढे तापनि रेडियोप्रतिको विश्वास, उपयोग र प्रभाव भने खासै घटेको छैन । रेडियो सुन्ने स्वरूपमा परिवर्तन भएको छ तर अडियो सुन्ने श्रोताको संख्यामा भने गिरावट आएको छैन । रेडियो सुन्ने स्वरूपलाई प्रविधिले परिवर्तन गरिदिएको छ ।
बदलिँदो रेडियो प्रविधि
रेडियो सुन्नका लागि रेडियो सेटबाट मोबाइल हुँदै इन्टरनेटका माध्यमबाट हात–हातसम्म पुगिसकेको छ । प्रविधिले रेडियो सुन्नका लागि रेडियो सेट चाहिने जमानालाई बदलिदिएको छ । त्यसैले अहिले रेडियो सुन्नेहरू सेटमा भन्दा धेरै मोबाइलमा भेटिन्छन् (नेपाल मिडिया सर्वेक्षण २०२०) । करिब ६० प्रतिशत श्रोताहरूले मोवाइल फोनमा रेडियो सुन्छन् । नेपालमा पछिल्लो तथ्यांकअनुसार करिब ८३ प्रतिशतको हातमा मोबाइल फोन छ भने करिब ४४ प्रतिशतभन्दा धेरैको पहुँचमा इन्टरनेट पुगिसकेको छ । आपूmलाई मन पर्ने वा सुन्न मन लागेको कार्यक्रमका लागि रेडियोले प्रसारण गर्ने समय कुर्नुपर्दैन ।
प्रविधिले विभिन्न एप्लिकेसनहरूमार्फत आफ्नो फुर्सदको समयमा सुन्न सकिने बनाइदिएको छ । आपूmलाई मन पर्ने कार्यक्रमहरू मोबाइलमा वा कम्प्युटरमा डाउनलोड गरेर आफ्नो फुर्सदको समयमा सुन्न सकिन्छ । प्रायः प्रसारकहरूले अनलाइनमै पनि रेडियो सुन्न सकिने बनाइसकेका छन् भने लोकप्रिय रेडियो कार्यक्रमहरू नेपाली पडकास्ट एप्लिकेसन, हाम्रो पात्रो र केही रेडियो स्टेसन आफैले बनाएका एप्लिकेसनबाट समेत सुन्न सकिने भएको छ ।
एफ.एम. रेडियोका कार्यक्रमहरू फेसबुकमा, युट्युबमा र रेडियोकै बेवसाइटमा अनलाइनमार्फत पनि सुन्न सकिने भइसकेको छ । जसरी रेडियो सुन्नका लागि रेडियो सेट नै चाहिँदैन, त्यसैगरी रेडियो कार्यक्रमको प्रसारणका लागि पनि रेडियो स्टेसन नै नचाहिने भएको छ । भर्खरै नेपालमा लोकप्रिय बन्दै गइरहेको पडकास्टले कार्यक्रम उत्पादन तथा प्रसारणका लागि रेडियो स्टेसन नभए पनि उत्पादक वा प्रसारक बन्न सकिने सुविधा ल्याइदिएको छ ।
रेडियो कार्यक्रम उत्पादन गर्ने सिप, क्षमता भएका जो कोहिले पनि श्रोतालाई मनपर्ने वा श्रोताको रोजाइका कार्यक्रमहरू रेडियो नभए पनि पडकास्टमार्फत श्रोतामाझ पु¥याउन सक्छन् । नेपाली पडकाष्ट एप्लिकेसन सञ्चालन गरिरहेको सेयरकास्ट इनिसियटिभ नेपालका सिइओ मधु आचार्यले नेपालमा पडकास्ट आमरूपमा त्यति धेरै व्यापक नभइसकेको भए तापनि प्रविधिले उत्पादनसँगसँगै प्रसारणलाई पनि सहज बनाइदिएको बताउनुहुन्छ । अडियो मिडियम रेडियोबाट डिजिटल माध्यममा प्रवेश गरेको छ । अडियो माध्यम फरक–फरक स्वरूपमा श्रोताहरूमाझ अझ लोकप्रिय बन्दै गइरहेको छ ।
तथ्यांकमा रेडियो
सेयरकाष्ट ईनिसियटिभ नेपालले वार्षिकरूपमा गर्दै आइरहेको मिडिया सर्वेक्षण २०२० मा रेडियोका श्रोताको संख्या करिब ५९ प्रतिशत रहेको थियो । अर्थात् सामान्य अवस्थामा रेडियोका श्रोता करिब ५५ देखि ६० प्रतिशतको हाराहारीमा रहेको देखिन्छन् । सातै प्रदेशबाट पिपिएस संभाव्यता अध्ययन विधिअनुसार नमुना छनोटमा परेका करिब ४८३२ जनासँग गरिएको सर्वेक्षणअनुसार नेपालमा आमसञ्चारको माध्यम रेडियो अझै पनि लोकप्रिय रहेको देखिन्छ । सहरी बसोवासका तुलनामा ग्रामीण क्षेत्रमा रेडियो बढि लोकप्रिय देखिए तापनि सहरमा पनि रेडियोका श्रोताहरू उत्तिकै रहेको तथ्यांकले देखाएको छ ।
स्थानीय सूचना, सन्देश तथा समाचार प्राप्त गर्ने माध्यमका रूपमा रेडियो सबैभन्दा लोकप्रिय माध्यमका रूपमा अग्रस्थानमा देखिन्छ । करिब ४४ प्रतिशत मानिसहरूले स्थानीय समाचार तथा सन्देशहरू रेडियोबाट थाहा पाउँछौ भनेका छन् जबकि स्थानीय समाचार तथा सूचना प्राप्त गर्ने प्रमुख माध्यम टेलिभिजन भन्नेहरूको संख्या जम्मा २३ प्रतिशत र पत्रपत्रिका भन्नेको संख्या जम्मा ७ प्रतिशतमात्र रहेको छ ।
रेडियोका श्रोताको संख्यालाई प्रदेशका आधारमा हेर्दा रेडियो माध्यम सबैभन्दा धेरै कर्णाली प्रदेशमा लोकप्रिय देखिन्छ । विद्युत् आपूर्तिको अभाव तथा टेलिभिजन तथा पत्रपत्रिकाको पहुँच कमजोर भएका कारण कर्णालीमा रेडियो लोकप्रिय भएको हुनसक्छ । कर्णाली प्रदेशका करिब ७५ प्रतिशत मानिसले रेडियो सुन्छन् भने रेडियोका श्रोता सबैभन्दा थोरै २ नम्बर प्रदेशमा रहेको तथ्यांकले देखाउँछ । प्रदेश २ मा करिब ५० प्रतिशत मानिसले मात्र रेडियो सुन्ने गरेको पाइन्छ । यसैगरी पेसागत हिसावले हेर्दा सरकारी सेवामा रहेकाहरूले सबैभन्दा धेरै रेडियो सुन्ने गरेको देखिन्छ ।
करिब ७५ प्रतिशत सरकारी सेवामा कार्यरत मानिसहरूले रेडियो सुन्ने गरेको तथ्यांकले देखाएको छ । शैक्षिक अवस्थाका अनुसार हेर्दा जति–जति शैक्षिकस्तर बढ्दै गएको छ सो अनुसार रेडियोका श्रोताको संख्या बढेको तथ्यांकले देखाएको छ । शैक्षिक योग्यताका हिसावले रेडियोका श्रोता विश्लेषण गर्दा शैक्षिक तह बढेसँगै रेडियो सुन्ने क्रम पनि बढेको देखिन्छ । सबैभन्दा धेरै करिब ७० प्रतिशत श्रोताहरू स्नातक वा सो भन्दा बढी अध्ययन गरेको पाइयो । अर्थात् पढेलेखेका मानिसहरूको रोजाइमा समेत सूचना तथा जानकारीका लागि रेडियो माध्यम नै लोकप्रिय रहेको तथ्यांकले देखाएको छ ।
रोचक त के छ भने नयाँ पुस्ताको रोजाइमा समेत रेडियो माध्यम नै परेको सर्वेक्षणले देखाएको छ । मानिसको उमेर र रेडियोका श्रोताबीचको सम्बन्ध हेर्दा फरक गतिमा अघि बढेको देखिन्छ । जति–जति उमेर बढ्दै जान्छ त्यति नै श्रोता संख्यामा ह्रास आएको देखिन्छ । सबैभन्दा धेरै १६ देखि २४ वर्ष उमेर समूहमा रेडियो लोकप्रिय (६३ प्रतिशत) देखिएको छ भने ६० वर्ष वा सो भन्दा माथि उमेरका मानिसमा रेडियो कम लोकप्रिय (५२ प्रतिशत) मात्र देखिएको छ ।
यसैगरी लैंगिक हिसाबले हेर्दा महिलाको तुलनामा पुरुषहरूले धेरै रेडियो सुन्ने तथ्यांकले देखाएको छ । करिब ६६ प्रतिशत पुरुषहरू रेडियो सुन्छन् भने करिब ५२ प्रतिशत महिलाहरूले मात्र रेडियो सुन्ने गरेको सर्वेक्षणमा बताएका छन् । रेडियो श्रोता समग्रमा बिहानी प्रहरमा बढी देखिन्छन् । करिब ५१ प्रतिशत भन्दा धेरै मानिसहरू बिहानी समयमा रेडियो सुन्ने गरेको बताउँछन् ।
कोरोनाका कहरबीच रेडियो
कोरोना महामारी सुरु भएलगत्तै नेपाल सरकारले कोरोनाको संक्रमण दर फैलिन नदिन बन्दाबन्दीको घोषणा ग¥यो । सरकारले घोषणा गरेको बन्दाबन्दीको प्रत्यक्ष प्रभाव सञ्चारमाध्यमहरूमा पनि प¥यो । पत्रपत्रिकाहरूको प्रकाशन र वितरण रोकिन पुगे भने टेलिभिजनका लागि समेत बाह्य रिर्पोटिंगका लागि कठिनाई प¥यो । कोरोना कहरबीच रेडियोको प्रसारण भने बन्द भएन ।
बरु सीमित श्रोत र साधनलाई उच्चतम उपयोग गर्दै रेडियोहरूले फरक स्वरूप र शैलीमा कार्यक्रमहरू सञ्चालन गरे । बन्दाबन्दीका समयमा सरकारले हिँडडुलमा लगाएको प्रतिबन्द र कोरोनाकै जोखिमका कारण कतिपय रेडियोहरूले स्टेसनमै आवासको समेत प्रबन्ध गरी प्रसारणलाई निरन्तरता दिए भने कतिपय सञ्चारकर्मीहरूले घरबाटै पनि यथासम्भव रेडियोका लागि सामग्रीहरू निमार्णमा योगदान गरे ।
कोरोनाको महामारीका समयमा रेडियोमा श्रोता सहभागिता ह्वात्तै बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । बन्दाबन्दीकै समयमा युनिसेफ र सेयरकास्टले कोरोनाले महिला तथा बालबालिकामा परेको प्रभावको अध्ययनका लागि करिब ७ हजा ५०० घरधुरीमा टेलिफोन सर्वेक्षण गरेका थिए । उक्त सर्वेक्षणको तथ्यांक प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ ।
युनिसेफ र सेयरकास्ट नेपालको सर्वेक्षण प्रतिवेदनअनुसार सन् २०२० मे महिनामा करिब ८२ प्रतिशत उत्तरदाताहरूले कोरोना महामारी बारेमा रेडियोबाट जानकारी प्राप्त गरेको बताएका छन् । यसैगरी जुलाईमा करिब ७८ प्रतिशतले कोरोना महामारीका बारेमा रेडियोबाट जानकारी प्राप्त गरेको बताएका थिए भने अक्टोबरमा करिब ७२ प्रतिशत उत्तरदाताहरूले रेडियोबाट सूचना तथा जानकारी प्राप्त गरेको बताएका थिए ।
सर्वेक्षणले कोरोना महामारीका समयमा कोरोनाबारे सूचना, जानकारी, समाचार प्राप्त गर्ने लोकप्रिय माध्यम स्थानीय रेडियोहरू रहेको पुष्टि गर्दछ । कोरोनाका बारेमा फैलाइएका विभिन्न भ्रमहरूको निवारण गर्न तथा संक्रमणको न्यूनीकरणका लागि रोकथाम र उपचारका बारेमा नागरिकलाई सुसुचित गर्ने र विभिन्न तहका सरकारहरूले गरेका निणर्य, राहत तथा उद्यार एवं संक्रमणको न्यूनीकरणका लागि अपनाइएका रोकथामका उपायहरूबारे प्रचारप्रसार गर्ने कार्यमा रेडियोहरूको महत्वपूर्ण भूमिका रह्यो ।
नेपालमा सामुदायिक तथा निजी क्षेत्रबाट एफ.एम. रेडियो सञ्चालनको अनुमति २०५४ साल पछि मात्र सुरु भएको हो । हाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको वेवसाइट अभिलेखमा ७४० वटा रेडियोहरूले सञ्चालन अनुमति प्राप्त गरेको देखिन्छ । जसमध्ये विभिन्न कारणले ७ वटा रेडियोहरूको लाइसेन्स रद्द भएको उल्लेख छ ।
नेपालमा निजी क्षेत्रबाट सञ्चालित करिब २३६ वटा रेडियोहरू ब्रोडकास्टिङ एसोसियसन अफ नेपालमा आवद्ध भएका छन् भने गैर सरकारी, सहकारी तथा विभिन्न संघसंस्थाहरूबाट सञ्चालित करिब ३५० वटा एफ.एम. रेडियोहरू सामुदायिक रेडियो प्रसारक संघमा आबद्ध छन् । यसैगरी काठमाडौं उपत्यका र बाहिबाट प्रसारण हुने करिब ६३ वटा रेडियोहरू रेडियो ब्रोडकास्टर्स फोरममा आबद्ध छन् ।
अन्त्यमा, अनलाइन माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको संख्यामा द्रुुत वृद्धि भए तापनि सञ्चार माध्यमप्रतिको विश्वास, उपयोग र प्रभावका दृष्टिले रेडियो माध्यम आम नेपालीहरूमाफ लोकप्रिय रोजाइको माध्यम भएको तथ्यांकहरूले पुष्टि गरेका छन् । प्रविधिका हिसावले मोबाइल फोनबाटै सहजै श्रोताहरूसँग जोडिन र जोड्न सक्ने रेडियोको प्रविधिक सरलता र सहजतालाई नेपालका रेडियोहरूले भरपुर उपयोग गर्दै सञ्चारकर्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । रेडियोहरूले कहिले घरबाहिर निस्केर भूमिका निर्वाह गरेका छन् भने कहिले घरभित्रैबाट पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । २०७२ सालको महाभूकम्पका समयमा अन्य सञ्चार माध्यम बाहिर निस्कन सकेको अवस्था थिएन ।
भूकम्पले छिया–छिया पारेका बस्तीका सूचना तथा समाचारहरू एवं सरकारका सन्देशहरू चौरमा पाल टाँगेरै भए पनि स्थानीय रेडियोहरूले प्रसारण गरे । अहिले कोरोना महामारीमा रेडियोलाई नै आवास बनाएर वा घरबाटै श्रोताहरूलाई टेलिफोनमार्फत जोडेर प्रसारणलाई निरन्तरता दिए तर जस्तोसुकै विपद्मा पनि रेडियो बन्द गरेर सञ्चारकर्मलाई पूर्णविराम भने दिएनन् ।
श्रोताको रुचि र आवश्यकतानुसारका विषयवस्तु प्रसारण गर्दा रेडियोका श्रोता ह्वात्तै बढेका छन् । अन्य सञ्चारमाध्यम सुस्ताएका बेला वा आफ्नो भूमिका खुम्च्याएको बेला श्रोताले खोजेको सूचना रेडियोले प्रसारण गरेकैले रेडियोमा श्रोताको आकर्षण बढेको हो भन्न सकिन्छ । अर्थात् रेडियोको अबको चुनौती वा बाटो भनेको श्रोताको रुचि र आवश्यकतानुसारका विषयवस्तुको पहिचान नै हो । रेडियोहरू प्रसारकमात्रै होइनन् उत्पादक पनि हुन् ।
नेपालमा जुनसुकै सञ्चारमाध्यममा होस आफ्ना श्रोता, दर्शक तथा पाठकका रुचि र आवश्यकता थाहा पाउन श्रोताहरूसँग पुगेर अध्ययन, अनुसन्धान गर्ने र सो बमोजिम आफ्ना विषयवस्तुलाई परिमार्जन गर्ने परिपाटी त्यति धेरै पाइँदैन । तसर्थ रेडियो सामग्रीको उत्पादनपूर्व श्रोताका बारेमा पर्याप्त अध्ययन गरेर श्रोताका आवश्यकताहरूलाई विषयवस्तुको प्राथमिकतामा पार्न सकेको खण्डमा रेडियो आमसञ्चारको लोकप्रिय माध्यमका रूपमा रहिरहनेछ भन्दा अत्युक्ति नहोला ।
(चापागाई विजय एफएम १०१.६ र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष, सेयरकास्ट इनिसियटिभ नेपालका मिडिया अनुसन्धानकर्ता र सामुदायिक रेडियो प्रसारक संघका लेखा समिति संयोजक हुन् ।)

Share.

Leave A Reply